post-slider post-slider

मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै

Image

मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।

ओपिडीमा परीक्षण गर्न आएकामध्ये हाल ८५ जना बिरामीलाई आन्तरिक कक्षमा भर्ना गरी उपचार भइरहेको  अस्पतालमा मेसु डा. रामचन्द्र सापकोटाले  जानकारी दिए । उनका अनुसार जिल्लाको दुर्गम क्षेत्रबाट पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्लाको थाहा नगरपालिकाका साथै आठ गाउँपालिकाको विभिन्न वडा र टोलमा भाइरल ज्वरोबाट नागरिक प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

स्थानीय पालिकामा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलगायत निजी अस्पतालमा समेत केहीदिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । उनले जिल्लाका सबै स्वास्थ्य कार्यालय तथा स्वास्थ्यमा आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्पर्कमा राखी छिटोछरितो उपचार सेवा पुर्‍याउन निर्देशन दिइएको उल्लेख गरे ।

 रासस

Tags: