post-slider post-slider

बेलायत नर्स पठाउने सम्झौता कार्यन्वयनको चरणमा, ७१ जना अन्तर्वार्तामा छनोट भए

Image

काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्न भएको सम्झौता अनुसार बेलायत पठाउन ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । 

नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच भएको सम्झौताको १५ (२०७९ भदौ ६) महिनामा पहिलो चरणमा बेलायत पठाउनको लागी वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।

वैदेशिक रोजगार विभागले गएको साउन ५ देखि तीन महिनाको समयावधि तोकेर एक सय जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरेको थियो । 

तीन महिने अवधि राखेर आह्वान गरिएको आवेदनमा सात सय बढीको आवेदन दिएका थिए ।  दुई देशका प्रतिनिधिले तयार गरेको प्रोटोकल अनुसार त्यसमध्येबाट ७५ जना मात्रै छनोट भएका हुन् । जसमा चार जना अनुपस्थित रहेकाले अन्तर्वार्तामा ७१ जना मात्रै सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम गरिएको हो । नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने सहमति भएको छ । 

नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) दुई देशका सरकारले पारित भएसँगै बेलायतमा नेपाली नर्सका लागि आवेदन खुलाइएको थियो ।

प्रोटोकल अनुसार मागभन्दा कम नर्स मात्रै छनोटमा परेका छन् । अनलाइन आवेदन दिएर तोकेको मापदण्ड पूरा गरेकाको बेलायत स्वास्थ्य विभागले प्रारम्भिक सूची सार्वजनिक गरेको छ । छनोट भएका आवेदकलाई मङ्सिर १८ देखि २१ गते (डिसेम्बर ४ देखि ७) सम्म अन्तर्वार्ताका लागि लैनचौरस्थित बेलायती दूतावासमा बोलाइएको छ । 

नेपाली नर्सको भर्ना प्रक्रियालाई स्वच्छ र प्रतिस्पर्धी बनाउनका लागि प्रोटोकल अनुसार छनोट गरिएको र प्रोटोकल पूरा गर्ने आवेदक थोरै भएको विभागका प्रवक्ता कविराज उप्रेतीले जानकारी दिए । पहिलो पटक धेरै विषयमा अन्योल भएकाले पनि थोरै छनोट भएको र आउँदा वर्षहरूमा यस्तो अवस्था नआउने उनले बताए । 

प्रोटोकल अनुसार बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ । त्यस्तै आइइएलटिएसमा न्यूनतम सात अङ्क र दुई वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड प्रोटोकलमा तोकिएकाले छ । प्रोटोकलले तोकेको योग्यता पूरा गरेकामध्ये सर्ट लिस्टिङ गरिन्छ । र, अन्तर्वार्ता उत्तीर्ण गरेपछि बेलायत जान पाउने छन् । 

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायतका तर्फबाट युके डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयरले नेपाली नर्सलाई बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा भर्ना सुरु गरेको हो । वैदेशिक रोजगारका लागि सरकारी–सरकारी (जिटुजी) संयन्त्रमार्फत शून्य लागतमा नेपाली वैदेशिक रोजगारीमा पठाउन थालिएको पहिलो पटक हो । यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ ।  

 

 

Tags: