post-slider post-slider

देशभर १२ सय र उपत्यकामा दैनिक ३५० युनिट रगत माग

Image

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपालमा रगतको सङ्कलन एवम् व्यवस्थापनका लागि सबैमा रगत दान गर्नुपर्ने जागरण चलाउन आवश्यक रहेको बताएको छ ।

नेपालमा रहेका रक्तसञ्चार सेवा केन्द्र र युवा पुस्तामा रगत दान गर्नुपर्ने सन्देश फैल्याउने अभियान सञ्चलन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । नेपालमा आवश्यक रगत व्यवस्थापनका लागि रगत दान गर्ने कुरालाई हरेक व्यक्ति र समाजमा अभियानका रुपमा लैजान सके यसले आवश्यक समयमा रगतको कमी नहुने नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापाले बताए ।

उनले रक्तदाताहरुलाई रगत दान गर्नुपर्छ भन्ने चेतना फैल्याउन आवश्यक रहेको बताए । बजारमा अहिले रगतको अभाव भएको भ्रम फैल्याइएको उनको भनाइ छ । उनले कुनै एउटा समूहको रगत कमी भएको बेलामा रगत नै अभाव भयो भन्ने भ्रम फैल्याउने काम भएको बताए ।

‘‘रगत एउटा स्वस्थ मानिसबाट नै प्राप्त हुन्छ । यसको कुनै विकल्प छैन । स्वस्थ रगत दिने व्यक्तिहरुबाट नै स्वस्थ रगतको व्यवस्थापन हुने भएकाले यसको सबैभन्दा महत्त्वपूर्ण कुरा रक्तदाताहरुलाई मोटिभेसन गर्ने, रगत दिनुपर्छ भन्नु नै हो । समुदायमा यो कुरा लैजान अति आवश्यक छ । रक्त दान गर्ने संघसंस्था र व्यक्तिलाई मोटिभेट गर्न आवश्यक छ । अहिले यो अलि कमी भएको हो की भन्ने महशुस भएको छ । रक्तदातालाई बढी मोटिभेसन गर्नसके रगत सङ्कलन  गर्न सकिन्छ,’ उनले भने, ‘रगतको अभाव भन्नाले सबै रगतको अभाव होइन । रगतका विभिन्न ग्रुपमध्ये कुनै एउटा ग्रुपको रगत कमी हुँदा रगतनै अभाव भयो भन्ने भ्रम जान्छ । रगतको कमी नहोस् भनेर हामी लागिरहेका छौँ । माग अनुसारको रगत व्यवस्थापन गर्न सकिन्छ भनेर नै हामी लागिपरेका छौँ ।’

रक्तसञ्चार व्यवस्थापन समिति संयोजकसमेत रहेका महामन्त्री थापाले चाडपर्वहरूमा रगत सङ्कलनमा कमी आउने भए पनि अन्य समयमा खासै कमी नभएको बताए । नेपालमा बसोवास गरिरहेको मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने रगत अभाव नहुने जिकिर गरे । उनले रगत पाइँदैन भन्ने कुराको अन्त्य गर्न सोसाइटीले विशेष कार्यक्रम अघि बढाउन लागेको पनि जानकारी दिए ।

‘चाडपर्वहरूमा रगत कमी हुन्छ, त्यो बेला दान गर्ने मानिस कम हुन्छन् । तर त्यसको व्यवस्थापन हामीले गरिरहेका छौँ । नेपाल रेडक्रस सोसाइटीले मात्रै यसको चिन्ता गरेर, ब्लडको व्यवस्थापनको जिम्मेवारी पूरा गर्ने भूमिका त हामीले नै खेल्नुपर्छ तर डोनेशनका लागि तयार गर्ने जिम्मेवारी सबैको रहन्छ नै,’ महामन्त्री थापाले भने, ‘नेपालमा बसोवास गरिरहेको मानिसमध्ये २ प्रतिशत मानिसले रगत दान गर्ने हो भने कहिल्यै ब्ल्डको कमी हुँदैन । हामी अब चाँडै नै बढी भन्दा बढी सङ्कलन गरेर रगतको व्यवस्थापन गर्नेछौँ, पाइँदैन भन्ने कुराको अन्त्य गर्न लागिरहेका छौँ । काठमाडौं उपत्यकाका लागि हामीले केही ब्लड इमर्जेन्सीका लागि केही ब्लडको व्यवस्थापन गरिरहेका छौँ ।’

त्यस्तै नेपाल रेडक्रस सोसाइटी, समन्वय सेवा विभागका निर्देशक दिव्य राज पौडेलले देशभर पछिल्लो दुई वर्षमा दैनिक १२ सय युनिट रगतको माग हुने गरेको बताए । उनले वार्षिक रुपमा रगतको माग गर्नेको सङ्ख्या साढे ४ लाख रहेको बताए । काठमाडौं उपत्यकामा दैनिक ३५० युनिटको माग हुँदै आएको र वार्षिक रुपमा काठमाडौंमा एक लाख ३० हजार टनको आवश्यकता रहेको उनले बताए 

निर्देशक पौडेलले चाहिने रगत ८५ प्रतिशत क्याम्पहरुबाट आपूर्ति गर्ने गरेको र १५ प्रतिशत रक्तसञ्चार केन्द्रहरुमा नै आएर दान गर्नुपर्ने अवस्था रहेको बताए । देशमा चाहिने मात्रा अनुसारको रक्तदाताको सङ्ख्यामा कमी रहेको बताए । युवा र महिलाहरुलाई यसबारे सचेत बनाउनसके रक्तदाताहरु बढ्ने उनको भनाइ छ । नेपालमा लगभग २ प्रतिशत डोनरको आवश्यकता पर्ने भएपनि अहिलेसम्म ०.९ प्रतिशत मात्रै पुगेको बताए । उनले सरकारले रगत व्यवस्थापनका लागि बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए । निर्देशक पौडेलले रगत व्यवस्थापनमा रक्तसञ्चार सेवा केन्द्रहरुको आपसी समन्वय आवश्यक रहेको पनि बताए ।

Tags: