अन्याय विरुद्ध आवाज उठाउँदा निलम्बनमा परेका डा. दाहाल भन्छन्, ‘मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु’
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले आवासीय चिकित्सकहरूमाथि अन्याय गरेको भन्दै आवाज उठाइरहेका एक चिकित्सकलाई निलम्बन गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा सहभागी नभएको, विभागीय प्रमुखसँगको बैठकले गरेको निर्णयलाई उल्लंघन गरेको र प्राचार्यको कार्यालयले प्रकाशित गरेको सूचनालाई पनि बिना ठोस आधार र कारण अवज्ञा गरेको भन्दै केएमसी डा. विशद दाहाललाई एक महिनाको लागी निलम्बन गरेको छ ।
डा.दाहाल काठमाडौ विश्वविद्यालयको मेडिसिन पोष्ट ग्रेजूएट कार्यक्रममा भर्ना भई हाल केएमसीमा रेसिडेन्ट दोस्रो बर्षमा अध्ययन गरिरहेका छन् ।
उनले हिजो (बिहिबार) गते काठमाडौं गैह्री गाउँ स्थित सुकुम्बासी बस्तीमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा खटाइएकोमा त्यसमा सहभागी नभएपछि उनलाई केएमसी ले एक महिनासम्म यस कलेजका पिजि कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको विज्ञप्ति सार्वजानिक गरेको छ ।
केएमसी ले बिहीबार अन्याय विरुद्ध आवाज उठाएका आवासीय चिकित्सक विशद दाहाललाई एक महिनाका लागि निलम्बन गरेको हो ।
नेपाली कांग्रेसका सांसद तथा विवादित मेडिकल कलेज सञ्चालक सुनिल शर्माको लगानी छ। केएमसी ले पाठ्यक्रममा नै नरहेको हेल्थ क्याम्पमा आवासीय चिकित्सकहरुलाई खटाउँदै आएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीहरुले आवाज उठाउँदै आइरहेका थिए। विद्यार्थीहरुले लिखित रुपमा सामुहिक हस्ताक्षर गर्दै कलेज प्रशासनमा पत्र समेत बुझाएका थिए।
डा दाहालले आफ्नो क्षमता र बुताले भ्याएसम्म अन्याय विरुद्ध लडिरहने बताएका छन्। कलेज प्रशासनले उनलाई निलम्बन गरेपछि सामाजिक सञ्जाल मार्फत उनले आफ्ना भनाई सार्वजनिक गरेका छन्।
उनको भनाई यस्तो छ,
दुई वर्ष अघि यस्तै शक्तिहरुसँग भिड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ। तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु। निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनि हुन्छ माननीय ज्यु।
भएको के थियो: विगत दुई वर्षदेखी हेल्थ क्याम्पको नाउँमा केएमसी र नोबेल मेडिकल कलेजले अत्यन्त अमानवीय ढङ्गले रेजिडेन्ट चिकित्सकलाई गुण्डागर्दी शैलीमा खटाउँदै आइरहेको छ।
बाहिर देखाउँदा जनसेवा भनेता पनी क्याम्पको भित्री मनशाय राजनैतिक प्रचारप्रसार र ? कर छली सम्म रहेको अधिकांशको बुझाइ
यसरी क्याम्पको नाममा कहिले कहिले त महिनाको १८/२० दिन सम्म अस्पताल बाहिर राखी हाम्रो शिक्षण सिकाइमा गम्भीर असर पर्ने गरि खटाइन्थ्यो । पाठ्यक्रममै समावेश नभएको यस्तो क्याम्पमा जबरजस्ती रुपमा खटाउने काम विगत दुई वर्ष देखि जारी थियो। पछिल्लो चोटी क्याम्पमा लगि सामान्य खान बस्न समेत असहज हुने गरि जबरजस्ती दैनिक १५००/२००० बिरामी जाँच्न लगाइन्थ्यो। यस्तो चिसोमा राती २/३ बजेसम्म कच्ची बाटोको यात्रा गराउने र बिहानै ८ बजे उठाएर फेरि अर्को क्याम्पमा खटाउने परिपाटी हाम्रा लागि सामान्य जस्तै भइसकेको थियो ।
यो कुरा पटकपटक चिकित्सा शिक्षा आयोग, काउन्सिल र युनिभर्सिटीमा जानकारी गराउँदा समेत कहिल्यै सुनुवाइ भएन।
अन्तिम पटकको क्याम्पसमा त एकजना रेजिडेन्टलाई यात्रा कै दौरान गम्भीर रक्तस्राव तथा छारे आयो , तरपनि क्याम्प रोकिएन। यहि कुरा हामीले उठाएर क्याम्प जाँदैनौ भनी आन्दोलन गर्यौँ।
अन्त्यमा आन्दोलनको नाइके को हो त भनेर छानी छानी कार्वाही गरियो।
मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन , तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भने मेरो आत्माले सधैँ मलाइ सराप्थ्यो।
तसर्थ म बोलेँ र बोलिरहन्छु।