post-slider post-slider

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

Image

काठमाडौं। आठौँ दक्षिण एसियाली न्युरो सर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरो सर्जरी अर्थात् स्नायु शल्य चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।

नेपाल न्युरो सर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते)सम्म आठौँ दक्षिण एसियाली न्युरो सर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौंमा हुन लागेको हो। यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो।

त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ। विगत करिब ६ वर्षदेखि र कोरोना भाइरस महामारीको समयमा यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरो सर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरो सर्जन रहेका छन् र देशका विभिन्न भागमा सेवारत छन्। तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन्। बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन्। हाल देशको सातै प्रदेशमा न्युरो सर्जनको उपस्थिति रहेको हुनाले न्युरो सर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ।

सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरो सर्जरी सेवा सुरु गरेपश्चात देशमा यो सेवाको सुरुआत भई विस्तार हुँदै गएको हो। हाल नेपालमा रहेका न्युरो सर्जन सङ्ख्याको हिसाबले पर्याप्त नभए तापनि सातै प्रदेशमा न्युरो सर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो।

नेपालको पूर्वी र तराई क्षेत्रमा न्युरो सर्जनको सङ्ख्या प्रशस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्युरो सर्जरी सेवा अझै न्यून रहेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब एक लाख जनसङ्ख्याका लागि एक न्युरो सर्जनको आवश्यकता पर्दछ। नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसङ्ख्याका लागि एक न्युरो सर्जन रहेको छ जुन त्यति नराम्रो होइन।

दक्षिण एसियाका अन्य देशमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ। भारतमा करिब दश लाख जनसङ्ख्याका लागि एक न्युरो सर्जन रहेको छ भने बङ्गलादेशमा पनि झन्डै उस्तै अवस्था रहेको छ। पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ। त्यहाँ करिब ५० लाख जनसङ्ख्याका लागि एकमात्र न्युरो सर्जन रहेको छ। श्रीलङ्कामा करिब आठ लाखका लागि एक न्युरो सर्जन रहेको छ भने माल्दिभ्समा करिब एक लाखको लागि एक न्युरो सर्जन रहेको छ। भुटानमा न्युरो सर्जन र न्युरो सर्जरी सेवाको अझै पनि धेरै कमी देखिन्छ।

नेपाल न्युरो सर्जन समाजले नेपालमा न्युरो सर्जरी सेवा र न्युरो सर्जरी शिक्षाको विकासका लागि धेरै योगदान पुर्‍याउँदै आएको छ। हाल देशमा बर्सेनि विभिन्न शिक्षण अस्पतालबाट करिब दश जना न्युरो सर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्युरो सर्जन समाज अन्तर्गत न्युरो सर्जरीसम्बन्धी विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ। 

रासस

Tags: