post-slider post-slider

कुपोषण पहिचान कार्यक्रम

Image

हुम्ला। सिमकोट गाउँपालिकाले कुपोषण पहिचान कार्यक्रम लागु गरेको छ । 

स्वास्थ्यकर्मीहरु समुदाय अनुगमनमा जाँदा कुपोषित बालबालिका देखिएपछि तत्काल कुपोषण पहिचान कार्यक्रम लागु गर्ने निर्णय गरेको हो । सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सन्तोष बोहराले कुपोषण पहिचान गर्ने कार्यक्रम लागु भएको बताउँदै यो कार्यक्रम लागु भएपछि बस्ती स्तरमा स्वास्थ्यकर्मी पुगेर कुपोषण परिक्षण गर्दा दुई जना बालबालिकालाई कडा शिघ्र कुपोषण देखिएको बताए । 

यसअघि उक्त स्वास्थ्य चौकीमा यस्तो कडा खाले कुपोषण भएका बालबालिका देखिएका थिएनन् । गाउँपालिका स्वास्थ्य शाखाकी सहसंयोजक बसन्ती रावतले डाँडाफया स्वास्थ्य चौकी लगायत वडा नम्बर ५ र ६ गरि चार जना बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको बताए । यो वर्गको कुपोषण देखिएका बालबालिकाका घरधुरीलाई रातो रङ्गको झण्डा गाड्ने कार्य गरिएको छ । उनले  कुपोषण पहिचान कार्यक्रम लागु भएपछि  शीघ्र कुपोषण भएका बालबालिका चौध जना देखिएको बताए । जसमा वडा अनुसार वडा नम्बर ३ मा तीन जना, ६ मा चार जना, ७ मा चार जना र वडा नम्बर ८ मा तीन जना यो खाले कुपोषण देखिएको बताए ।

यो वर्गका कुपोषित भएका बालबालिकाको घरलाई पहेँलो रङ्गका झण्डा प्रदान गरिएको छ । गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले यो कार्यक्रम लागु भएपछि कुपोषण न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रम लागु भइसकेपछि पहिचान गर्ने मात्र नभएर त्यसबाट बालबालिकालाई मुक्त गर्न तीन केजीको सर्वोत्तम पिठो सहयोग गरिएको र स्थानीय अन्न बालीबाट पोषणयुक्त परिकार बनाएर प्रयोग गर्न सिकाइएको बताए । 

यसैबीच सिमकोट गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थाले हालसम्म एक सय १० जना महिला गर्भवती भएको र उनीहरु सबैको घरमा निलो झण्डा गाड्ने कार्य गरेको स्वास्थ्य शाखाले जनाएको छ । 

Tags: