post-slider post-slider

तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण

Image

दमौली । तनहुँमा सात सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो। डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गु बाट मृत्यु भएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्कर बाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे। अधिकारीले डेंगु संक्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिए। उनले भने, ‘दमौली अस्पतालमा डेङ्गु परीक्षणका लागि किट पर्याप्त मात्रामा छ।

गत वर्ष जिल्लामा डेङ्गु बाट सङ्क्रमित हुनेको सङ्ख्या एक सयभन्दा बढी थियो। लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको अधिकारीले बताए। डेङ्गु बाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ। आजभोलि डेङ्गु ज्वरो नेपालका विभिन्न भागमा देखा परिरहेको छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुका लक्षण हुन्।

चिकित्सकका अनुसार डेङ्गु बाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झूलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्।

बढी शुल्क लिएको गुनासोपछि अनुगमन

डेङ्गु परीक्षणका लागि जिल्लाका स्वास्थ्य संस्थाले बढी शुल्क लिएपछि दमौली बजारमा सञ्चालित विभिन्न अस्पताल तथा क्लिनिकको मङ्गलबार अनुगमन गरिएको छ। दमौली बजारमा सञ्चालित अस्पताल तथा क्लिनिकले डेङ्गु परीक्षणका लागि चर्को शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले डेङ्गु परीक्षण गर्दा बढी शुल्क लिएको गुनासो आएको जानकारी दिए। सोही विषयमा प्रजिअ छविलाल रिजालको अध्यक्षतामा बसेको बैठकले बढीमा  छ सयभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ। डेङ्गु परीक्षण गर्ने किटको औषत मूल्य तथा छिमेकी जिल्लाको अभ्यास समेतलाई दृष्टिगत गरी प्रतिपरीक्षण बढीमा  छ सयभन्दा बढी शुल्क नलिने निर्णय भएको सहायक प्रजिअ गैह्रेले बताए।

बैठकले डेङ्गु परीक्षणका लागि निर्धारण गरिएको शुल्कभन्दा बढी शुल्क नलिने सम्बन्धमा ल्याब सञ्चालक जिम्मेवार हुने निर्णय गरेको छ। यसका साथै जिल्लामा डेङ्गु परीक्षण गर्ने किटको कृत्रिम अभाव हुन नदिन र तोकिएभन्दा बढी शुल्क असुल उपर गर्न नदिनका लागि दमौली अस्पताल तथा स्वास्थ्य कार्यालयले नियमित रुपमा अनुगमन गरी प्रतिवेश पेस गर्ने निर्णय गरिएको छ। जिल्लामा डेङ्गु रोग बढ्दो क्रममा रहेको हुँदा रोकथाम तथा नियन्त्रण गर्न सरोकारवाला सबै निकायहरुले आपसी समन्वय एवं सहकार्य गर्ने निर्णय भएको छ  । 

रासस

Tags: