post-slider post-slider

१५ शय्याको नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

Image

पर्वत। कुश्मा नगरपालिका–१२, ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन बनेको छ।

एक एमबीबीएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत पाँच वर्षदेखि स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट)ले निमित्तका रूपमा चलाउँदै आएका छन्। दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। तत्कालीन डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि दरबन्दीका कुनै डाक्टर आउन सकेका छैनन्।

सुविधासम्पन्न भौतिक पूर्वाधार, एम्बुलेन्ससहित आधुनिक यन्त्र उपकरण भए पनि दरबन्दी अनुसारका चिकित्सक र प्राविधिक नआएपछि सेवाग्राही मारमा परेका छन्। अस्पतालका निमित्त प्रमुख भीम कुमारी लामिछानेले भनिन्, “दरबन्दीका डाक्टर नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो।”

नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा तथा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ। देश सङ्घीय संरचनामा गएपछि दरबन्दीमा डाक्टर आउन छाडेका हुन्। स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उहाँको भनाइ छ। दक्ष जनशक्तिकै अभावमा अस्पतालमा रहेका एक्सरे र भिडियो एक्सरे मेसिनसमेत अलपत्र बनेका छन्।

केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुईजना डाक्टर आएको भए पनि उनीहरूको समेत सेवा सकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र निमित्तको भरमा चलेको हो। अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी एक अहेब रहेका छन्।

कुस्मा–४ का साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधी खोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलक प्रसाद रिमालले बताए। उनले प्रदेश सरकारसँग नगर अस्पतालको अनुमति दिन र आवश्यक स्वास्थ्यकर्मी उपलब्ध गराइदिन माग गरे पनि सुनुवाइ नभएको बताए। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग पुगेर मागपत्र बुझाएको र उहाँले केही समयमै डाक्टर पठाउने आश्वासन दिएको छ महिना बितिसक्दा पनि माग पूरा नभएको अध्यक्ष रिमालले बताए।

अस्पतालमा डाक्टर मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन्। एक्सरे मेसिन सञ्चालन नहुँदा बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताए। “सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे मेसिन बिग्रिएको दुई वर्ष भयो”, उनले भने “सम्बन्धित निकायमा पटकपटक भन्दासमेत सुनुवाइ हुँदैन।”

अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरे समेत सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या परेको छ। तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवती ले नियमित सेवा पाउन सकेका छैनन्।

स्टाफ नर्सले तालिम लिएर आएको भए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा नभएको निमित्त प्रमुख लामिछानेले बताउनुभयो। नगरपालिकाले सो अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन।

जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकार अन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको दाबी गरेको भए पनि अहिलेसम्म कुनै पहल भएको पाइएको छैन। नगरप्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दीअनुसार डाक्टर ल्याउन आवश्यक पहल गरिरहेको बताए।

 रासस

Tags: