post-slider post-slider

अमेरिकाको स्वास्थ्य मन्त्रालयद्वारा गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस

Image

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डीईए)लाई गाँजासम्बन्धी सङ्घीय नियमहरू खुकुलो पार्न सिफारिस गरेको छ।

अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न कुनै रूपमा गाँजाको प्रयोगलाई वैधानिक बनाउने कानुन पारित गरे पनि सङ्घीय स्तरमा यो अवैध छ।

अहिले गाँजा पनि हिरोइन र एलएसडीकै वर्गमा पर्ने लागूपदार्थको रूपमा सूचीकृत छ।

यदि डीईएले उसको वर्गीकरण परिवर्तन गर्‍यो भने त्यो लागूपदार्थबारे दशकौँमा भएको अमेरिकी नीतिको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हुनेछ।

गाँजालाई हाल ‘कन्ट्रोल्ड सब्स्ट्यान्स एक्ट’ अन्तर्गत अनुसूची-१ को लागूऔषधका रूपमा वर्गीकरण गरिएको छ।

त्यसको अर्थ ‘गाँजाको कुनै चिकित्सकीय प्रयोग छैन र दुरुपयोगको उच्च सम्भावना छ’ भन्ने हो।

सूची परिवर्तन गर्दा के हुन्छ?

त्यसलाई अनुसूची-३ मा परिवर्तन गर्दा यसलाई दुरुपयोगको सम्भावना कम भएका औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने हुन्छ।

केटामाइन, एनाबोलिक स्टेरोइडहरू र प्रति मात्रा ९० मिलिग्राम कोडाइन भएका औषधिहरू उक्त वर्गमा पर्छन्।

गत वर्ष राष्ट्रपति जो बाइडेनले आफ्ना महान्यायाधिवक्ता र स्वास्थ्यमन्त्रीलाई गाँजालाई कम गम्भीरखाले लागूऔषधका रूपमा सूचीकरण गर्नु उपयुक्त हुन्छ कि हुँदैन भनेर समीक्षा गर्न भनेका थिए।

स्वास्थ्य तथा मानव सेवा मन्त्रालय (एचएचएस)ले मङ्गलवार डीईएमा आफ्नो प्रस्ताव पेस गरेको हो।

"यो प्रक्रियाको एउटा भागको रूपमा डीईएलाई विचार गर्न सहज होस् भनेर एचएचएसले एउटा वैज्ञानिक र चिकित्सकीय मूल्याङ्कन गरेको छ," उक्त निकायले एउटा वक्तव्यमा भनेको छ।

"कन्ट्रोल्ड सब्स्ट्यान्स एक्टअनुसार कुनै पनि लागूऔषध वा औषधिको सूची बनाउने वा पुन: सूचीकृत गर्ने अन्तिम अधिकार डीईएसँग छ। डीईएले अब यसको समीक्षा सुरु गर्नेछ।"

एचएचएसले आफ्नो विज्ञप्तिमा गाँजासम्बन्धी सङ्घीय नियम खुकुलो पार्ने सिफारिससम्बन्धी "प्रशासनिक प्रक्रिया” पूरा गर्न ११ महिनाभन्दा कम समय लागेको जनाएको छ।

त्यसले डीईएलाई सहयोग पुग्ने र त्यसको नेतृत्वलाई एउटा व्यापक वैज्ञानिक मूल्याङ्कन पूरा गर्न सहज र छिटो हुने उसको भनाइ छ।

पूर्ण रूपमा सूचीबाट हटाउने माग

"कन्ट्रोल्ड सब्स्ट्यान्स एक्ट"को सूचीबाट गाँजालाई पूर्ण रूपमा हटाउन भने सिफारिस गरिएको छैन।

केही अभियानकर्मीहरूले प्रशासनलाई गाँजालाई सो सूचीबाट हटाउन दबाब दिएका छन्।

त्यसो गरियो भने गाँजालाई उक्त कानुनको सूचीबाट हटाउनु पर्नेछ र त्यसलाई मदिरा र सुर्ती वा चुरोट जस्तै नियमन गर्नु पर्नेछ।

तर गाँजालाई पुन: अनुसूचित गर्दा त्यसले अनुसन्धानका लागि थप बाटो खोल्न सक्छ र गाँजा उद्योगमा पनि स्वतन्त्र रूपमा ब्याङ्किङ सुविधाको अनुमति दिन सक्छ।

हाल अमेरिकामा अधिकांश गाँजा व्यवसाय नगदमा सञ्चालन हुन्छन् किनकी कर कानुनहरूले ब्याङ्कहरूलाई निश्चित खाले पदार्थ बिक्रीबाट उत्पन्न पैसाको कारोबार गर्न प्रतिबन्ध लगाएको छ।

जनमत सर्वेक्षणहरूले अधिकांश अमेरिकीहरूले गाँजालाई कुनै न कुनै रूपमा कानुनी बनाउनु पर्ने कुरालाई समर्थन गर्छन् भन्ने देखाएका छन्।

सबै पश्चिमी तटीय राज्यहरू र वासिङ्टन डीसी सहित २३ वटा राज्यहरूमा वयस्कहरूका निम्ति मनोरञ्जन प्रयोग लागि कानुनी बनाइएको छ।

त्यस्तै ३८ वटा राज्यहरूमा चिकित्सा प्रयोगको लागि अनुमति दिइएको छ।

बीबीसी

Tags: