post-slider post-slider

एचपीभी खोप लगाएपछि के कस्ता असर देखिन सक्छन् ?

Image

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी (ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् । 

बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन । 

यो अवसरमा धुम्बाराही की १४ बर्षिय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी खोप लगाइएको थियो ।

नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरु मध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक छ ।  ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिन्छ । 

अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता छ । सरकारलाई प्राप्त भएको २० हजार भाइल खोपलाई समानुपातिक रुपमा देशका सातवटै प्रदेशका ठूला अस्पतालबाट  डेमोस्ट्रेसनका रुपमा शुभारम्भ गरिएको हो। 

दुई महिना अघि ल्याइएको २० हजार भाइल खोपको प्रसूति गृहसँगै देशका पाँच अस्पतालहरु डडेल्धुरा अस्पताल, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि सुभारम्भ हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।  

यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानुपर्ने छ ।

एचपिभि खोपबारे बारम्बार सोधिने केहि प्रश्नहरु यस्ता छन्। 

एचपिभि भनेको के हो र यसले कस्तो असर गर्दछ ?

ह्युमन प्यापिलोमा भाइरस .एचपीभी) एक प्रकारको विषाणु हो । संसारका विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक ह्युमन प्यापिलोमा भाइरस हो । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत भन्दा बढि क्यान्सर एच.पि.भी ले गराउँदछ । एच.पि.भीको २०० भन्दा बढी किसिमका प्रजातिहरू (सेरोटाइप) हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यस मध्ये पनि १६ र १८ प्रजाती प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एच।पि।भी को प्रजाती १६ र १८ बाट भएको देखिन्छ ।

यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनांगको क्यान्सर समेत गराउन सक्दछ ।

२. एचपीभी संक्रमण कसरी सर्दछ ?

एचपीभी  मुख्यत संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ तर यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थ सँगको सम्पर्क मार्फत पनि सर्न सक्दछ । यसको संक्रमण पुरुषमा पनि हुन्छ र पुरुषबाट महिलामा सर्ने गर्दछ ।

३. एचपीभी संक्रमणका चिन्ह तथा लक्षण के कस्ता हुन्छन ?

यसले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सर समेत गराउन सक्दछ । पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण र चिन्हहरू देखिदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ। पछि गएर तल्लो पेट दुख्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने कमजोर हुँदै जाने र रक्तअल्पता जस्ता लक्षणहरू देखिन्छन् ।

४. एचपीभी संक्रमणको कसरी परिक्षण गर्न सकिन्छ ?

 स्वास्थ्य संस्थामा गई पाठेघरको मुखको पानीको परिक्षण गरेर एचपीभी  संक्रमण भए नभएको थाहा पाउन सकिन्छ ।

५. एचपीभी संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ ? 

 यो रोगबाट बच्ने प्रमुख उपाय भनेको किशोरी अवस्थामा एच।पि।भी। खोप लगाउने नै हो। यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनहरूले देखाएको छ ।

संक्रमित पुरुषबाट महिलामा असुरक्षित यौन सम्पर्क हुदा सर्ने भएकोले सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउने । 

समयमै संक्रमण पहिचान गर्न पाठेघरको मुखको नियमित जाँच गराउनु पर्दछ ।

६. एचपीभी खोपले कुन रोगबाट बचाउँछ र किन लगाउने ? 

एचपीभीले गर्दा हुन सक्ने महिलाहरूको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा मुसाबाट खोप सुरक्षीत छ

बचाउँछ । एचपीभी संक्रमण भए पश्चात हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा संक्रमण हुने सम्भावना अत्यन्त न्युन रहन्छ ।

७. एचपीभी खोप लगाएपछि के कस्ता असर हुन सक्छ ?

विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त तथा नेपालको औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त एचपीभी खोप एक सुरक्षित तथा प्रभावकारी खोप हो। साधारणतया यो खोपको प्रयोग पश्चात अवान्छित घटनाहरू देखिने सम्भावना अत्यन्त न्युन रहेको छ । यसबाट हुन सक्ने सामान्य असरहरूः

खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु

टाउको दुख्नु र वाकवाकी लाग्नु

थकान महसुस हुनु र रिंगटा लाग्नु 

ज्वरो आउनु

एलर्जी सियाक्सन हुनु 

यी सामान्य असरहरू सामान्य हुन केही समय आफै हराएर जान्छ । खोप लगाए पश्चात देखा पर्न सक्ने यस्ता सामान्य असरहरुको अनुगमन तथा व्यवस्थापनका लागि खोप लगाएको कम्तिमा ३० मिनेट खोप केन्द्रमै विश्राम गर्नु र गराउनुपर्ने हुन्छ ।

यदि यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

८. हाललाई यो खोप कुन उमेर समूहकालाई दिइन्छ ?

हाललाई एचपीभी  खोप लगाउन १४ वर्ष पुगी १५ वर्ष ननाघेका किशोरीहरूलाई लक्षित गरिएको छ ।

९. यो खोप अन्य उमेरका किशोरीले कहिले पाउँछन ?

नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगम, एचपीभी खोप लाई विस्तार गर्दै १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइनेछ । खोपले जीवन रक्षा गर्छ ।

१०. यो खोप कहाँ लगाउन पाइन्छ?

खोपको उपलब्धताले गर्दा हालको अवस्थामा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय बमोजिम निम्न तोकिएको अस्पतालमा मात्र लगाउन पाइन्छ । राष्ट्रिय खोप कार्यक्रमबाट उपलब्ध यो खोप निःशुल्क लगाउन पाइन्छ ।

 कोशी अस्पताल, बिराटनगर, मोरङ

नारायणी अस्पताल, बिरगंज, पर्सा

परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली, काठमाडौं ४। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की

भेरी अस्पताल, नेपालगंज, बाँके

प्रादेशिक अस्पताल सुर्खेत, विरेन्द्रनगर, सुर्खेत

डडेल्धुरा अस्पताल, डडेल्धुरा

११. यो खोप कति मात्रा लगाउनु पर्छ ?

हाल उपलब्ध भएको एचपीभी  खोप (सेलोलिन) ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनु पर्छ। दोश्रो मात्राको खोप पनि पहिलो मात्रा लगाइएको स्वास्थ्य संस्थाबाटै लगाउनुपर्छ ।

एचपीभी खोप दुईमात्रा पुरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशत सम्म सुरक्षा प्रदान गर्दछ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा) 

Tags: