post-slider post-slider

भवन साँघुरो हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

Image

त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको उक्त अस्पताललाई विसं २०७५ फागुनमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो।

जिल्ला अस्पतालमा विस्तार गरिएको पाँच वर्ष पुग्दा समेत व्यवस्थित भवन निर्माणले पूर्णता पाउन सकेको छैन। विसं २०६४ मा निर्माण गरिएको ट्रष्टको भवनबाट जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गरिँदै आइएको छ। तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने गरेकामा अहिले सेवाग्राहीको चाप बढ्दा उक्त भवनबाट सहजरूपमा सेवा प्रदान गर्न कठिनाइ भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए।

जिल्लामा बीमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीका चाप बढेको उनको भनाइ थियो। बिरामीको चापसँगै विभिन्न नयाँ उपचार सेवासमेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सूचना अधिकारी सुवेदीले बताए। विसं २०६४ को अवस्थालाई हेरी निर्माण गरिएको भवन अहिले १६ वर्षपछि पनि सोही संरचनामा सेवा दिनु आफैँमा मुस्किल भएको उनको भनाइ थियो। “पहिले सेवाग्राहीको चाप कम थियो, हाल सेवाग्राहीको सङ्ख्या बढ्दो छ, अस्पतालमा नयाँ–नयाँ रोगको उपचारका लागि सेवा थपिँदै गएका छन् तर भवनको र संरचना उस्तै छ, यसबाट  सहजरूपमा सेवा प्रदान गर्न निकै गाह्रो परिरहेको छ”, सूचना अधिकारी सुवेदीले भने।

जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन्। साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भीड धेरै देखिने गरेको छ।

जिल्ला अस्पताल भएलगत्तै चार तलको नयाँ भवन निर्माणको काम चार वर्षअघि नै थालिएको भए पनि भवनले पूर्णता पाउन सकेको छैन। भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको सयुक्त लगानीमा अगाडि बढाइएको थियो। चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले  दुई करोड अस्पताल भवनका लागि विनियोजन गरेको छ  । ¥याम्प र ट्रष्ट निर्माणका लागि उक्त रकमबाट काम गर्ने योजना रहेको छ। अन्य काम भने हेचरले नै गर्ने बताइएको छ। उक्त संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणमा विलम्ब हुँदै आएको छ।

दरबन्दी अनुसार छैनन् जनशक्ति

नवलपुरमा रहेको उक्त अस्पतालमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा समस्या हुँदै आएको छ। पन्ध्र शय्याको उक्त अस्पताल पचास शय्याको अस्पतालका रूपमा सञ्चालनका लागि तयारी गरिएको छ। एकतीस जनाको दरबन्दी भए पनि हाल १३ जनशक्तिमात्र रहेका छन्। अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति नहुँदा सेवा प्रवाहमा समेत समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी सुवेदीले बताए। दरबन्दीअनुसार जनशक्ति आउने हो भने सेवालाई थप प्रभावकारीरूपमा प्रदान गर्न सकिने उनको भनाइ थियोे। दरबन्दी कम हुँदा बिरामीलाई सेवा प्रदानमा समेत समस्या हुने गरेको छ।
 
रासस

Tags: