post-slider post-slider

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

Image

महोत्तरी । चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन्। एक्कासि चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताए।

अहिले दैनिकजसो सरदर ३०/४० जना श्वासप्रश्वासका बिरामी उपचारका लागि बर्दिबास अस्पताल आउने गरेको उनले जानकारी दिए।

‘यो बितेको सातादेखि नै अस्पतालमा बिरामी बढेका छन्, अहिलेका बिरामीमा श्वासप्रश्वास र हाडजोर्नी दुख्ने समस्याका बढी भेटिएका छन्’, उनले भने, ‘खासमा बढ्दो चिसोमा आवश्यक सावधानी र सम्भार नअपनाइँदा बिरामी बढ्ने गरेका हुन्।’

यस्ता बिरामीमा ग्रामीण बस्तीका वृद्धवृद्धा र महिला बढी रहेका जनाइएको छ।

मौसमअनुसार खानपान अन्य आहार व्यवहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाडजोर्नी दुख्ने र आँखाका बिरामी बढेका अस्पतालका मेडिकल अधिकृत डा। चन्द्रमणि खत्री बताए।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ।

जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लाष्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुवाँले श्वासप्रश्वास र आँखाको समस्या बढाएको स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख सुनिता गुप्ताले जानकारी दिए।

जिल्लाको मध्य र दक्षिणी भेगमा यस्तो समस्या दलित र गरिबका झुपरबस्ती ९पराले झुप्राका बस्ती०मा बढी देखिएको उनको भनाइ छ।

चिसो बढेसँगै धुलो र धुवाँका कारण बढेको स्वास्थ्य समस्या आहार व्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन्।

‘हेर्नुहोस्, घरबाट निस्कनासाथ जताततै धुलो उडिरहेको देखिन्छ, तर आम नागरिक मास्क लगाउने गर्दैनन्’,स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने, ‘यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन्।’

आहार, निद्रा, आन्तरिक र बाह्य सरसफाइ, श्रम तथा मौसमअनुसार लवाइ सन्तुलित गरे हम्मेसी कुनै स्वास्थ्य समस्या नआउने उनको भनाइ छ।

यसैबीच महोत्तरीका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार सम्भारमा ध्यान दिन आग्रह गरेका छन्। घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, बिहान(बेलुका अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन्।

यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुवाँले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने स्वास्थ्य कार्यालय प्रमुख गुप्ताले बताए।

चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा बिहान(बेलुका जाडो छल्ने उपायका लागि काम गर्न स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन्।

‘क्षति हुन थालेपछि मात्र राहतका पोका बोक्ने बानी छ हाम्रो, अब स्थानीय तहको नेतृत्व चनाखो हुनपर्छ’, प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्णले भने, ‘अहिलेको तदारुकताले पछि अप्ठ्यारो बेला व्यवस्थापन गर्न सजिलो हुन्छ।’

मङ्सिरमै लगलगी कमाउने चिसो बढेपछि पुस र माघ झनै चिसो बढ्ने अड्कलले गरिब बस्तीमा चिन्ता बढेको छ।

यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपालि हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ। 

रासस

Tags: