post-slider post-slider

ट्रान्स फ्याट स्वास्थ्यका लागी हानीकारक

Image

काठमाडौं । ट्रान्स फ्याट (अति खराब चिल्लो-अखचि) भएको वनस्पति घिउमा वा धेरै बेर र धेरै पल्ट तताएको तेलमा पकाएका खानेकुरा सकेसम्म नखाऔं ।

ट्रान्स फ्याट एक प्रकारको अति खराब चिल्लो पदार्थ हो । पार्सियल्ली हाइड्रोजेनेटेड ओइल (पिएचओ) मा ट्रान्स फ्याट धेरै हुन्छ ।  यसलाई नेपालीमा अति खराब चिल्लो भन्दा उत्तम हुन्छ । यसलाई खराब वा हानिकारक चिल्लो मात्र भनेर पुग्दैन, अति खराब चिल्लो नै भन्नु पर्दछ ।  यसको नेपाली शब्द छैन । तसर्थ छोटकरी नेपालीमा अखचि भन्न सकिन्छ ।

स्वास्थ्यका दृष्टिकोणले ट्रान्स फ्याट (अखचि)  चिल्लो पदार्थहरु मध्येको सबैभन्दा हानिकारक चिल्लो हो। खानामा अखचिको मात्रा धेरै भएमा हृदयघात र मस्तिष्कघात लगायत मधुमेह, उच्च रक्तचाप, मोटोपन, एक प्रकारको स्तन क्यान्सर जस्तो अन्य धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन् ।

ट्रान्स फ्याट (अखचि)  प्राकृतिक र कृत्रिम गरि दुई श्रोतबाट प्राप्त हुन्छ। रांगा, भैंसी, खसी, बोका आदिको जनावरको रातो ट्रान्स फ्याट (अखचि) का प्राकृतिक स्रोतहरु हुन् । रातो मासुमा पाइने चिल्लोमा ट्रान्स फ्याट (अखचि) को मात्रा ३ देखि ९ प्रतिशत हुन्छ । थोरै मात्रामा खाँदा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्स फ्याट (अखचि) ले स्वास्थ्यमा धेरै नकारात्मक असर पार्दैन ।

कृत्रिम स्रोतबाट प्राप्त हुने, अर्थात फ्याक्ट्रिमा उत्पादन गरिने औद्योगिक ट्रान्स फ्याट (अखचि) जसलाई पार्सियल्ली हाइड्रोजेनेटेड ओइल भनिन्छ, स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । यस्तो चिल्लो पदार्थ वनस्पति तेललाई तताएर, त्यसमा आंशिक मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो प्रकृयाबाट तरल अवस्थामा रहेको वनस्पति तेल कोठाको तापक्रममा बाक्लो वा ठोस पदार्थमा परिवर्तन हुन्छ । ट्रान्स फ्याट (अखचि)  सामान्य तापक्रममा जम्छ । फ्याक्ट्रिमा सस्तो तेललाई तताएर, हाइड्रोजन मिसाएर उत्पादन गरिने ट्रान्स फ्याट (अखचि)  बाट चिल्लो पदार्थको मात्रा बढ्नुका साथै यसमा खानेकुरा पकाउँदा खानाको रुप र स्वाद राम्रो बन्छ र धेरै दिनसम्म टिक्छ। वनस्पति तेल भन्दा यो धेरै सस्तो पर्न आउँछ । व्यवसायमा फाइदा हुने भएकाले खाद्य उद्योगमा यसको प्रयोग धेरै हुन्छ । नेपालको उद्योगमा उत्पादन हुने वनस्पति घिउ, केकमा प्रयोग हुने सर्टनिङ, मार्गारिन आदि औद्योगिक ट्रान्स फ्याट (अखचि) का केही उदाहरण हुन् ।

चिल्लो पदार्थका प्रकार

चिल्लो पदार्थ मुख्यतया ३ प्रकारका हुन्छन् । ती हुन् स्याच्यूरेटेड, अनस्याच्यूरेटेड र ट्रान्स फ्याट । यिनीहरुको मोलिक्यूलको बनावट फरक फरक हुन्छ । स्याच्यूरेटेड फ्याटमा कार्बनचेनको सबै भागमा हाइड्रोजन अणुले भरिएको हुन्छ। अनस्वाच्यूरेटेडमा हाइड्रोजन अणु केही ठाउँमा खालि हुन्छ तर एकातर्फबाट मात्र खालि हुन्छ । ट्रान्स फ्याट (अखचि) मा हाईड्रोजन अणु दुई तर्फबाट खालि हुन्छ यस प्रकार हाईड्रोजन अणुको कम वेसी र स्थानले चिल्लोलाई फरक रुप दिन्छ । स्याच्यूरेटेड फ्याट र ट्रान्स फ्याट (अखचि)  सामान्य तापक्रममा जम्छन् तर अनस्याच्यूरेटेड फ्याट भने तरल नै रहन्छ ।

ट्रान्स फ्याट (अखचि)  कति खान सकिन्छ ?

 ट्रान्स फ्याटबारे गरिएका विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानका अनुसार मान्छेलाई दैनिक आवश्यक चिल्लो पदार्थको एक प्रतिशत भन्दा बढी मात्रा ट्रान्स फ्याट भएमा यो स्वास्थ्यकालागि हानिकारक हुन्छ । वैज्ञानिक सल्लाह यो रहेको छ कि मान्छेलाई दैनिक आवश्यक पर्ने कूल उर्जा  (क्यालोरी) को एक तिहाई उर्जा चिल्लो पदार्थवाट प्राप्त हुनुपर्छ। दैनिक क्यालोरीको दश प्रतिशत स्याच्यूरेटेड फ्याटबाट र एक प्रतिशत भन्दा कम ट्रान्स फ्याटवाट प्राप्त हुनु पर्दछ । खानामा ट्रान्स फ्याट शुन्य भए सबैभन्दा उत्तम हुन्छ। एक प्रतिशत ट्रान्स फ्याट भनेको कति हो रु यो सजिलै नाप्न सकिन्छ । मानौं एउटा मानिसलाई दैनिक २ हजार क्यालोरी उर्जा दिने खाना खानु पर्छ। २ हजार को एक प्रतिशत भनेको २० हो २० क्यालोरी उर्जा करीब दुई ग्राम चिल्लो पदार्थबाट प्राप्त हुन्छ।  दुई ग्राम भनेको आधा चिया चम्चा भन्दा अलिकता कम हो। एक चिया चम्चामा ५ ग्राम हुन्छ यस प्रकार दैनिक २ हजार क्यालोरी बराबर खाना खाने व्यक्तिले आफ्नो खानामा आधा चिया चम्चा भन्दा कम ट्रान्स फ्याट (अखचि)  प्रयोग गर्न सकिन्छ।

ट्रान्स फ्याट (अखचि) ले स्वास्थ्यमा कस्तो असर पार्छ ?

 ट्रान्स फ्याट (अखचि)  अत्यन्तै खराब चिल्लो पदार्थ हो। यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र असल कोलेस्ट्रोलको मात्रालाई घटाउँछ, रक्तनलीहरुको भित्री भागमा नकारात्मक असर पारी त्यहाँ रक्तनलीहरु सांघुरिने क्रमलाई बढाउँछ । रगतको थेग्रा जम्ने सम्भावनालाई बढाउँछ, जस्ले गर्दा  हृदयघात र मस्तिष्कघात हुने संभावनालाई बढाउछ। यसप्रकार ट्रान्स फ्याट (अखचि)  मुटु र रक्तनलीहरुकालागि अत्यन्तै हानीकारक छ । ट्रान्स फ्याट (अखचि)  ले मधुमेह, उच्च रक्तचाप, मोटोपन, महिलाहरुमा एक प्रकारको स्तनको क्यान्सरको जोखिम बढ्छ ।

कस्तो खानामा ट्रान्स फ्याट बढि हुन्छ ?

 वनस्पति तेललाई जति धेरै पल्ट ततायो त्यति नै त्यसमा ट्रान्स फ्याट (अखचि) को मात्रा बढ्दै जान्छ । जति धेरै ततायो तेल त्यति बढी हानीकारक बन्दै जान्छ । यस्तो तेलमा पकाएको पकौड़ा, समोसा, चाउचाउ, आलु, चिकेन आदी खानेकुराहरु स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै हानीकारक हुन्छन्। फ्याक्ट्रीमा तयार गरि प्याकेटमा बन्द गरिएका खाद्य पदार्थहरु जस्तै विस्कुट, कूकिज, तयारी चाउचाउ, भूजिया, दालमोठ, कूरकुरे, चिज वल्स, आलु चिप्स आदिमा अत्याधिक मात्रामा ट्रान्स फ्याट (अखचि)  हुनसक्छ तसर्थ लेवल हेरेर मात्र खाने ।

यस्तै प्रकारले वनस्पति घिउमा बनाएका बेकरी आइटमहरु केक, डोनट, पाउरोटी, आइसक्रिम, पिज्जा तथा तेलमा डिप फ्राई गरेर तयार पारिने फास्ट फूड जस्तै पकौडा, समोसा, पुरी, चिकेन फ्राई, आलु फ्राई, बर्गर, ससेज आदिमा प्रशस्त मात्रामा ट्रान्स फ्याट (अखचि)  हुन्छ । वनस्पति ध्युमा तारेर बनाईने मिठाईहरु जेरी, लालमोहन, गुंदपाक, पुस्टकारी, लाखामरी आदिमा पनि धेरै मात्रामा ट्रान्स फ्याट (अखचि) हुन्छ 

ट्रान्स फ्याट (अखचि)  को प्रयोग कसरी घटाउने ?

डिप फ्राई गरेको खाना नखाने ।

बजारमा प्याकेटमा बन्द गरि तयारी खानेकुरामा ट्रान्स फ्याट (अखचि) को मात्रा हेरेर मात्र खाने ।

वनस्पति घिउको सट्टा गाई, भैंसीको घिउको प्रयोग गर्ने ।

वनस्पति तेलमा खाना पकाउँदा डढेको तेलमा दोहोऱ्याएर खाना नपकाउने ।

तेलहरु मध्ये तोरीको तेल र नरिवलको तेल बढी प्रयोग गर्ने । ओलिभ तेललाइ नतताउने वा नझान्ने । 

रातो मासुको सट्टा सेतो मासु खाने । दुधलाई चिल्लो निकालेर पिउने ।

मिठाई, आइसक्रिम, पिज्जा, केक, आदि कम खाने ।

तयारी चाउचाउमा राखेको वनस्पति घ्यु नखाने ।
 
प्याकेटको खाना र त्यसको बाहिर छापिएको लेबल बजारमा बेच्ने खानाको प्याकेट बाहिर लेबल टाँसिएको हुनुपर्दछ जसमा त्यस भित्रको खानेकुरा कहिले बनाएको, कहिले सम्म खान मिल्ने र त्यसमा कुन कुन पौष्टिक तत्व छन् आदि लेखिएको हुनुपर्दछ । त्यसमा चिल्लो, नून, गुलियो, ट्रान्स फ्याट (अखचि) कति छ ? भन्ने जानकारी पनि हुनुपर्दछ। लेबल नभएको प्याकेटको खानेकुरा खानुहुँदैन । ट्रान्स फ्याट (अखचि) भएको खानेकुरा किन्नु हुँदैन ।

 ट्रान्स फ्याट सम्बन्धि नीति र कानून

नेपालमा खाद्य पदार्थमा हुनुपर्ने ट्रान्स फ्याट (अखचि) को मात्राको मापदण्ड सम्बन्धि नीति र कानून बनिसकेको छ। सरकारले सन् २०२३ भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने महत्वकाक्षी लक्ष्य लिएको छ । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको ‘नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१ – २५’ मा ट्रान्सफ्याटको मात्रा दुई प्रतिशत कायम गर्ने व्यवस्था समेटिएको छ ।

Tags: