post-slider post-slider

भेरी अस्पतालमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु

Image

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी लगाउन आजदेखि सुरु गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई खोप कार्ड प्रदान गरेर खोप कार्यक्रमको सुरुआत गरेका हुन्। सो खोप यही भदौ ३० गतेसम्म लगाइने छ। पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार दुई सय १५ किशोरीलाई लगाइने खोप भेरी अस्पतालमा दुई हजार चार सय ३० भाइल खोप आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवन जङ्ग रायमाझीले जानकारी दिए।

दशदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी एचपिभी खोप दिइने बताइएको छ। सो खोप छ महिनाको अन्तरालमा दुई मात्रा लगाउनु पर्दछ। यो खोपको दुई मात्रा पूरा गरेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको चिकित्सकले बताएका छन्। नेपालमा खोपको उपलब्धता र साझेदार निकायको सहयोगमा सो खोपलाई विस्तार गर्दै १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई समेत खोप लगाउने गरी निकट भविष्यमा राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने परिवार कल्याण महाशाखाले जनाएको छ। खोप लगाउन जाँदा उमेर खुल्ने आधिकारिक प्रमाण लिएर जानुपर्नेछ।

नेपालमा सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्दछ। पछिल्लो तथ्याङ्कअनुसार नेपालमा प्रति लाखमा नयाँ बिरामी पत्ता लाग्ने दर १६ दशमलव चार प्रतिशत छ। 

रासस

Tags: