post-slider post-slider

अस्पताल भवन अलपत्र

Image

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण छ वर्षसम्म भवनको आधा मात्रै काम भएको छ । 

मेहेलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटाले भवन निर्माण अलपत्र परेपछि सेवा प्रवाहमा असर परेको बताए । उनका अनुसार पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । ५० शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन अस्पताल बाध्य भएको छ । अहिले अस्पतालले २४ शय्याबाट सेवा दिइरहेको छ । ५० शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । 

सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबिच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७४ पुस २७ गते ठेक्का सम्झौता भएको हो । २८ करोड लागत अनुमान गरिए पनि २१ करोड ७९ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो ।

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि म्याद थप गरिएको छ । पहिलो सम्झौता अनुसार २०७७ असार २५ गते काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तोकिएको समयमा काम नसकिएपछि २०७७ असोजमा पहिलो पटक ६ महिना म्याद थप गरिएको थियो । २०७७ असोज २५ देखि पुस २५ सम्म म्याद थप गरिएको थियो । त्यसयता विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले पटक पटक म्याद थप गरिरहेको छ ।

२०८० जेठ समान्तसम्म अन्तिम म्याद थियो । म्याद सकिएसँगै सात महिनादेखि काम ठप्प छ । साजसज्जा, रङरोगन र एउटा भवनको ढलानको कामसमेत बाँकी छ । भवन निर्माण थालिएको छ वर्ष भए पनि हालसम्म भवनको ६५ प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । 

अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार छ वर्षअघि सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेत र निर्माण कम्पनीबिच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माण भने अलपत्र अवस्थामै छ । धेरै पटक म्याद थपिए पनि ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन ।

निर्माणाधीन अस्पताल भवनमा पाँच वटा ब्लक छन् । समयमै निर्माण कार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको अस्पतालले जनाएको छ । समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पतालका प्रमुख डा. सापकोटाले बताए । 

उनले पटक पटक ताकिता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण अलपत्र परेको जानकारी दिए । ५० शैय्या क्षमता भए पनि १५ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको ड.। सापकोटाले बताए । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ २०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रामकृष्ण आचार्यले लामो समयदेखि निर्माण हुन नसकेको अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माण सम्पन्न नभए ठेक्का सम्झौता तोड्न प्रक्रिया अघि बढ्ने बताए। 

तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्तिसमेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने आचार्यले जानकारी दिए । उनका अनुसार पुनः म्याद थपका लागि कम्पनीले माग गरेको छ । २०८० जेठमा म्याद सकिएको छ । अहिले म्याद थपका लागि कम्पनीले केन्द्रमा निवेदन दिएको छ । अन्तिम पटक म्याद थपेर यसै वर्षमा काम गर्न कार्यालयले ताकिता गरेको छ ।

Tags: