'सामाजिक कुरूपताको प्रतिविम्ब': मनोरोगी महिलामाथि सडकमै बलात्कार र अन्य हिंसा
सत्र वर्षको उमेरमा प्रेम विवाह गरेकी देवी परियारले केही वर्षको अन्तरालमा तीन सन्तान जन्माइन्। चौथो बच्चा गर्भमा हुँदा श्रीमान् टाढिए। अनेक मानसिक दबावपछि उनी घरबाट निकालिइन्।
आफ्नो भागी विवाहले बुवाको मन भाँचिएको थाहा पाए पनि उनी सौतेनी आमा भित्रिएको माइती पुगिन्, केही महिना बिताएपछि सानी आमाको शरण परिन्।
गर्भावस्थाको पेटभन्दा गह्रौँ मन बोकेर बाँचिरहेकी देवीले ठानेकी थिइन्- "मेरो नभए पनि आफ्नो रगतको मायाले श्रीमान् लिन आउँछन्।"
तर त्यसो भएन। कहिलेकाहीँ घर पुग्थिन् तर हार्दिकता परको कुरा 'रत्तिभर दयासमेत नराखी' त्यहाँबाट लखेटिएको उनले सुनाइन्।
प्रेम गरेको मान्छे र छोराछोरीसँगको बिछोडले उनलाई विचलित पार्दै लग्यो। त्यसमाथि गर्भावस्थामा भएका शारीरिक तथा मानसिक परिवर्तन, उनी झन् विक्षिप्त बनिन्।
“बच्चा जन्मिँदा सम्म म अर्कै भइसकेकी थिएँ। केही होस नै नभएको मान्छेजस्तो,” बीबीसीसँग आफ्नो भोगाइ बताउँदै गर्दा उनी हताश सुनिइन्।
अवस्था बिग्रँदै गयो तर उनले आवश्यक उपचार पाइनन्। भावनात्मक साथ र सहयोग परको कुरा। कुन मितिदेखि “बेपरवाह सडकै सडक हिँड्न थालेँ” भन्ने समेत याद छैन देवीलाई।
“भर्खर जन्मिएको बच्चा छोडेर मान्छेहरूको घरमा, होटलमा काम गर्न थालेँ। उनीहरूले मलाई खाना दिन्थे। कहिलेकाहीँ पैसा पनि...,” उनले वाक्य पूरा गर्न सकिनन्। केही बेरको मौनतापछि २०७५ सालको एक पीडादायी दिनबारे सुनाइन्।
त्यति बेला लमजुङको कुनै बसपार्क नजिकै होटलमा काम गर्थिन् उनी। होटलमा गाडीका चालक/सहचालक र यात्रुहरू खाना खान आउँथे, जान्थे। तीमध्ये प्राय देखिरहेकै एक जना व्यक्ति एक दिन रक्सीले मातेर आएको र आफूलाई जबरजस्ती कोठामा लगेर बलात्कार गरेको बताइन्।
“म रोएँ, कराए तर उसले छोडेन। पछि कसैलाई नभन्नू म बिहे गर्छु भनेर गयो। तर फर्किएन,” देवीले बेलिबिस्तार लगाइन्।
पेट बढ्दै गएपछि मानिसहरूले आफूलाई लाञ्छना लगाएका, दुत्कारेका यादहरू धमिलो बनेर बसेका छन् उनको स्मृतिमा। मिति चाहिँ सम्झन सक्दिनन्। उनलाई आफ्नो उमेर ३० कटेको थाहा छ तर ठ्याक्कै “कति वर्ष पुगेँ” भन्ने याद छैन।
उनले सोही वर्ष माघ महिनाको कठ्याङ्ग्रिँदो जाडोमा सडकमै पाँचौँ सन्तान जन्माइन्। मनोसामाजिक समस्यासँग जुझिरहेकी बेवारिसे महिलाको काखमा नवजात शिशु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे। प्रहरीले माघको २३ गते सडकमा आश्रितहरूको उद्धार तथा संरक्षण गर्ने संस्थामध्ये एक मानव सेवा आश्रमको लमजुङ शाखालाई आमा र बच्चाको जिम्मेवारी सुम्पियो।
“हामीले उद्धार गरेर ल्याउँदा बच्चा अन्दाजी १० दिनको भएको थियो। देवी दिदी चाहिँ अधिक नैराश्यमा हुनुहुन्थ्यो। हामीले तत्काल मनोचिकित्सक लाई देखाएर औषधोपचार सुरु गरिहाल्यौँ,” आश्रमकी संयोजक अनिता अधिकारीले जानकारी दिइन्।
त्यसयता नियमित औषधि सेवन गर्दै आएको र उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको अधिकारीले बताइन्। यसबीचमा उनको पारिवारिक पुनर्मिलनको प्रयास भयो।
तर आमासँग अर्कैको सन्तान पनि छ भन्ने थाहा भएपछि पुनर्मिलन प्रयास सम्भव हुन नसकेको अधिकारीको ठम्याइ छ।
“यो मानसिक समस्या भोगिरहेका धेरै आमा तथा दिदीबहिनीहरुको साझा नियति हो। उनीहरूमाथि हुने अपराधको भागिदार स्वयं उनीहरूलाई नै बनाइन्छ।”
उनको भनाइलाई सिराहा सुखिपुरकी सरिता मण्डलको भोगाइले पनि पुष्टि गर्छ।
दोषी पहिचान गर्नै कठिन
दोस्रो घटना: सुस्त मनस्थितिकी २९ वर्षीय सरिताको जन्मजातै शरीरको एउटा भाग चल्दैन। उनी आँखा कम देख्छिन् र उनको बोली अस्पष्ट छ। ससाना काममा वृद्ध आमाबुबालाई सघाएर समय बिताउने गरेकी उनले एक दिन छिमेकीको छोरातर्फ देखाउँदै आफूमाथि दुर्व्यवहार भएको सङ्केत गरिन्।
गाउँघरमै जीवनको ६५ वर्षभन्दा लामो समय बिताएकी उनकी आमा गीताले ठानिन्- "छोरीको कारण बेइज्जत हुने भयो।"
“मैले एक पटक केटाको आमालाई पनि यो कुरा सुनाएँ। उनले उल्टै मलाई हप्काइन्। त्यसपछि मैले आफ्नै छोरीलाई कुटेँ। अबदेखि त्यस्तो कुरा नसुनाउन भनेँ,” उनले मैथिली भाषामा घटनाबारे बताइन्।
तर, केही महिनापछि सरिताको पेट बढ्दै गयो। छोरी त चुप थिइन् तर गाउँलेहरूले हल्ला गर्न थाले। त्यसपछि गीता स्वयंले आरोपिततर्फ औँला सोझ्याइन्।
“सुरुमा आरोप अस्वीकार गरिरहे। पछि गर्भपतन गर्न दबाब दिन थाले। तर पेटमा बच्चा पाँच महिनाको भइसकेको थियो। छोरीको ज्यान जोखिममा राख्न कुन आमाको मन मान्छ? मैले पनि मानिँन,” उनले रुँदै भनिन्।
केही साता लामो सङ्घर्षपछि गत पुस १ गते उनको परिवारले आरोपित विरुद्ध बलात्कारको उजुरी दियो। त्यसयता आरोपित फरार रहेको बताउँछन् सिराहाका एसपी टेकनन्द लिम्बु।
“हामीले पीडितलाई संस्थाको संरक्षणमा राख्न पहल गरेका थियौँ तर उनले परिवारसँगै बस्न चाहिन्। यसबीचमा हामीले अभियुक्तको खोजी गरिरहेका छौँ,” लिम्बुले जानकारी दिए।
यद्यपि, मण्डलकी आमाले भने छोरीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र “बच्चाको ख्याल राख्न नसक्ने स्थितिमा पुगेको” बताइन्।
स्वयं एक वृद्ध, आर्थिक-सामाजिक रूपमा पिछडिएकी यी महिला अहिले मानसिक तथा शारीरिकरुपमा अस्वस्थ छोरीको “बलात्कारीलाई पक्राउ”को आग्रह बोकेर प्रहरी/प्रशासन धाइरहेकी छन्। गाउँलेको 'वचन र बेइज्जतीबीच छोरीलाई न्याय दिलाउनेमा दृढ सुनिन्छिन् उनी।
पीडकको पञ्जामा हरेक उमेर समूहका महिला
तेस्रो घटना: गत वैशाख १४ गते जनकपुर क्याम्पस चोकबाट एक वृद्धालाई उद्धार गरेर मानव सेवा आश्रममा पुर्याइयो। सरसफाइ गरिदिने क्रममा अभियन्ताहरूले उनको शरीर आलै घाउ देखे।
“स्तन वरपर चोट। रगत र दाँतका डोबहरू। उनको अवस्था निकै हृदय विदारक थियो। त्यति पाको उमेरको आमाको त्यो अवस्था हाम्रा लागि अकल्पनीय थियो,” आश्रमकी जनकपुर शाखाकी संयोजक काव्या पोखरेलले सुनाइन्।
“उहाँ रातभर रुनुहुन्थ्यो। चिच्याउनु हुन्थ्यो। हामीले धेरै पटक उहाँलाई त्यो अवस्थामा कसले पुर्यायो भनेर बुझ्न खोज्यौँ तर कहिले कुकुरले भन्नुहुन्थ्यो, कहिले भूतले। एक दुई पटक टिका र माला लगाएको जोगीले हो भन्नुभयो। उहाँ यथार्थ बताउन सक्ने स्थितिमा फर्कनु भएको छैन,” उनले भनिन्।
आफूले दैनिक देख्ने यस्ता महिलाहरूको अवस्थालाई “सामाजिक कुरूपताको प्रतिविम्ब”को संज्ञा दिन्छिन् उनी।
भन्छिन्,”बालिकादेखि वृद्धासम्म सबै असुरक्षित छन्। सडक हरेक महिलाका लागि सुरक्षित हुनु प्राथमिक आवश्यकता हो। त्यति नै महत्त्वपूर्ण छ हरेक मनोरोगीको उपचारको सुनिश्चितता।”
यस्ता निकै कम घटनामा पीडितले अपराधी पहिचान गर्न सक्ने र अपराधी पक्राउ पर्ने जिकिर गर्छन् केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायत।
“मनोसामाजिक समस्यासँग जुधिरहेका महिलाहरूले आफूमाथि यौन दुर्व्यवहार भएको बुझ्न वा बुझाउनै समय लाग्छ। कतिपयले बुझे पनि दोषी पहिचान गर्न सक्दैनन्। त्यसैले एकाध दुराचारका घटना मात्र मुद्दाका रूपमा अघि बढ्छन्,” प्रहरीले बीबीसीलाई बतायो।
उजुरी नै कम पर्ने भएकाले सडकमा आश्रित महिलाहरू विरुद्ध हुने दुर्व्यवहार वा बलात्कारका घटनाबारे यकिन तथ्याङ्क नभएको प्रहरी प्रवक्ताको भनाइ छ।
“यद्यपि प्राय सडकमा आश्रित वा मानसिकरुपमा विक्षिप्त महिलाहरूलाई यौन दुर्व्यवहार भएको जानकारी प्राप्त हुन्छन्। त्यस्तो अवस्थामा हामीले विभिन्न सङ्घ/संस्था तथा आश्रय स्थलसँगको सहकार्यमा उनीहरूको उद्धार गर्छौँ। सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मेवारी लिन्छौं,” उनले भने।
आक्रोश र आघात
सडकमा आश्रित मानसिक रोगी महिलाहरूको उद्धार तथा उपचार गर्दै आएको एक संस्था नेपाल स्नेही काखकी संस्थापक श्रीनेहा पोखरेलका अनुसार उनीहरूको आश्रय स्थलमा हाल ५२ जना त्यस्ता महिलाहरू छन्। यसअघि करिब ६० जनाको आवश्यक परामर्श तथा औषधोपचारपछि पारिवारिक पुनर्मिलन गराएको उनको दाबी छ।
“मानसिक रूपमा विचलित सबैले सडकमा बस्दाको अनुभव सुनाउन सक्दैनन्। तर तीमध्ये अधिकांशको स्वास्थ्य परीक्षणले उनीहरूमाथि कुनै न कुनै किसिमको शारीरिक उत्पीडन भएको देखाउँछ,” उनले भनिन्।
“हामीले सडकबाट उद्धार गरेर ल्याउने अधिकांश गर्भवती महिलाहरू १०/१५ वर्षदेखि सडकमै आश्रित हुन्छन् वा गर्भधारण गरेपछि सडकमा छाडिएका हुन्छन्।”
उनका अनुसार संस्थामा रहेका बालबालिकामध्ये १९ जनालाई सडकमा आश्रित मनोरोगी महिलाहरूले जन्म दिएका हुन्।
“उनीहरूले बच्चाको बाबु चिन्दैनन्। कतिपयलाई आफ्नै बच्चा स्विकार्न गाह्रो हुन्छ। सामान्य दया मायासमेत राख्दैनन्,” पोख्रेलले सुनाइन्।
उनले आफ्नो भनाइ पुष्टि गर्न गत फागुन महिनामा बालाजु बाइ पासबाट उद्धार गरिएकी एक जना महिलाले आफ्नै सन्तानलाई “काट्नका लागि ब्लेड खरिद् गरेको” प्रसङ्ग उल्लेख गरिन्।
कतिपय परिस्थितिमा उद्धार गरेर अस्पताल पुर्याइएका महिलाहरूको पेटमै बच्चा मरिसकेको हुने, केहीमा पाठेघरको मुखको क्यान्सर, एचआइभी सङ्क्रमणलगायत अन्य रोगहरू देखिने उनले बताइन्। कतिपयको उद्धार लगत्तै वा उपचारको क्रममा मृत्यु हुने गरेको पाइन्छ।
उनले सडकमा आश्रित मनोरोगी पुरुषहरूले समेत यौन दुर्व्यवहार भोगेको बताउने गरेको जनाइन्।
त्यस्ता मानिसहरूप्रति राज्य नै संवेदनशील बन्नु पर्ने अवस्था रहेको बताउँछन् मनोरोग विशेषज्ञ डाक्टर भरत गोइत। मनोरोगकै कारण सडकमा पुगेकाहरूलाई यौनजन्य दुर्व्यवहारका घटनाले झनै आकुल बनाएको उनको ठहर छ।
न्याश्नल मेडिकल कलेजमा मनोरोग विभागका प्रमुख डा. गोइतले माइती नेपाल, मानव सेवा आश्रमलगायत संस्थाद्वारा उद्धार गरिएका मानिसहरूको उपचार गर्छन्। आफूले उद्धार गरेका प्राय महिलाहरू यौन शोषणको सिकार भएको उनले बताए।
“अपाङ्गता भएका, मनोसामाजिक समस्या भएका, नशाको लतमा परेका र सुस्त मनस्थिति भएकाहरू प्राय यौनजन्य दुर्व्यवहारमा परेको पाइन्छ जसले उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यलाई जटिल बनाउँछ,” डाक्टरले भने।
बलात्कार वा अन्य यौन हिंसा भोग्नेहरूमा अधिक आक्रामक वा अधिक शान्त व्यवहार देखिने उनले बताए। पीडितमध्ये धेरै जनालाई अवसाद (डिप्रेसन) र कडा खालको मानसिक असन्तुलनले गाँज्दै लग्ने उनको भनाइ छ।
“उनीहरू अस्थिर हुन्छन्। चिच्याउँछन्, अरूलाई प्रहार गर्छन् र आघात बोकेर बाँच्छन्। केटा मान्छे नजिक पर्दा तर्सने समस्या धेरैमा देखेको छु। उनीहरू जसलाई पनि शङ्का गर्छन् र कसैलाई पनि विश्वास गर्न सक्दैनन्,” उनले पीडितहरूमा देखिने लक्षणहरूबारे भने।
“समस्या गम्भीर बन्दा कतिपयले आत्महत्या गरेका छन् भने कतिपयले अरूलाई हानि पुर्याएका छन्।”
जिम्मेवारी कसको?
नियमित औषधि, उपचार र परामर्शपछि समस्या कम हुने उनको भनाइ छ। तर, सडकमा आश्रित मनोरोगीप्रति जिम्मेवार तथा जवाफदेही निकाय नहुँदा पीडितहरु स्वास्थ्य सेवा र सुरक्षाको आधारभूत अधिकारबाट वञ्चित रहेको उनले गुनासो गरे।
उनले भने,”मानसिक स्वास्थ्यबारे राज्य संवेदनशील भएकै छैन। त्यसमाथि घर विहीन मनोरोगीहरूबारे कसले ध्यान दिने? विशेष गरी हाम्रोजस्तो समाजमा जहाँ मनोरोगीहरूलाई या त ढुङ्गाले हानिन्छ या त बाँधेर राखिन्छ।”
उनले आफूले हालसालै सडकमा निर्वस्त्र हिँडिरहेका एक मानिसलाई जनकपुरको स्थानीय आश्रय स्थलमा पुर्याइदिएको प्रसङ्ग उल्लेख गरे र प्रश्न गरे,"सीमित स्रोत तथा साधनको भरमा खुलेका त्यस्ता संस्थाहरूले कहिलेसम्म कति मानिसलाई धान्ने?"
प्रहरीले जुन संस्थाहरूसँग समन्वय गर्छ तिनीहरूमाथि निगरानी र त्यहाँ मनोरोगीहरूसँग गरिने व्यवहारको पनि निरीक्षण नहुने यथार्थ रहेको उनले बताए।
सडकमा छाडिएका मनोरोगीहरूप्रति राज्य जिम्मेवार हुनुपर्ने डा. गोइतको तर्क छ। उनले भने,"गल्ली गल्लीमा भौँतारिने मनोरोगीहरूलाई सरकारले उद्धार गरेर राख्ने, उनीहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यकताअनुसार थप उपचारका लागि लग्ने निश्चित निकाय हुनुपर्छ।"
सहारा विहीन मनोरोगीलाई हेर्ने सामाजिक तथा मानवीय दृष्टिकोणमा सुधार नै यस्ता घटना न्यूनीकरणको प्रमुख आधार भएको जानकारहरूको मत छ।
बीबीसी