post-slider post-slider

‘...... तर पनि डाक्टर कुटिनु हुँदैन’

Image

अहिले चिकित्सकहरू भौतिक आक्रमणको सिकार भइरहेका छन्। त्यो एकदमै गलत हो। 

यसको अर्थ चिकित्सकहरू सही हुन् भनेर व्याख्या गर्न खोजिएको होइन। समाधान र उपायहरु छन्। यदि कमजोरी वा लापरवाही भएको भए त्यसको मुल्यांकन हुनुपर्छ। त्यसको आधारमा दण्डित हुनुपर्छ। दण्ड दिने निकाय छ। दण्ड सजाय दिने आधार कानुन, नियम र निर्देशिका छन्। त्यसलाई बाइपास गरेर भौतिक रुपमा आक्रमण गर्नु गलत हो। 

अहिले भइरहेका घटनाले तत्कालिन र दीर्घकालीन रुपमा समस्याको समाधान गर्न सक्दैन। त्यसकारण यसलाई गहिरो मुल्यांकन गरेर प्रणालीमा ल्याउनुपर्ने, सुधारहरूका विषयमा गम्भिर हुनुपर्ने समय आइसकेको छ। र, सेवाग्रहीले पनि समस्याको समाधान नहुनुको पछाडिको कारण बुझ्न एकदमै जरुरी छ।

यदि त्यो लापरबाही भए पनि सही ढंगबाट दण्डीकरण हुनुपर्छ। यसको प्रभाव दीर्घकालीन रुपमा नकारात्मक हुन्छ। 

हाम्रो स्वास्थ्य प्रणाली, व्यवस्थापन र सेवा दिने व्यक्तिको व्यवहारमा पनि कमजोरी छन्। त्यसका कारण बिरामी र बिरामीका आफन्तलाई पीडा हुन्छ। अस्पताल जानु भनेको बाध्यकारी अवस्था हो। त्यहाँ अप्ठ्यारा हुन्छन्। 

तर कमजोरीहरूलाई अर्कोतर्फ राखेर बुझ्नुपर्ने कुरा अस्पताल, संरचना, प्रविधि, स्वास्थ्यकर्मी सबैको एउटा सिमा हुन्छन। संसारमा कहिँ पनि सबै समस्याका सत प्रतिशत हल निकाल्न सकिँदैन। 

त्यसले गर्दा कुनै बिरामीको समस्या हल हुँदैन भने त्यसका कारण हुन्छन्। त्यो सिंगै, संरचना प्रणाली वा विज्ञान प्रविधिको सीमाका कारण समस्या हल नभएको पनि हुनसक्छ वा लापरबाहीका कारण हल नभएको पनि हुनसक्छ।

त्यसको मुल्यांकन हुनु एकदमै जरुरी हुन्छ। 

तर, कुनै पनि समस्या समाधान नहुने बित्तिकै वा जटिल हुनेबित्तिकै स्वास्थ्यकर्मी वा अन्य जनशक्ति, प्रविधि र अन्य संरचनाहरु माथी भौतिक रुपमा आक्रमण गर्नु भनेको एकदमै गलत हो।

हाम्रो स्वास्थ्य प्रणालीमा ठूलो कमजोरी छ। हामी बिरामी भएपछि कहाँ जाने थाहा हुँदैन। नागरिकलाई सामान्य समस्या हुँदा कहाँ जानसमेत जानकारी हुँदैन। उनीहरुले छानेर उपचार गर्ने अवसर नै पाउँदैनन्।
 
स्वास्थ्य समस्या भएको व्यक्तिले आफुले पहिलो सम्पर्क गर्ने स्थान थाहा पाउनुपर्छ, सुसूचित हुनुपर्छ। त्यो प्रणाली हामीकहाँ छैन। 

त्यसैगरी आकस्मिक कक्ष, बहिरंग र अन्तरङ्गमा दिइने सेवामा पनि एउटा नियम हुनुपर्छ। र, त्यो ढंगबाट परिपालन गरिनुपर्छ। यस्तो व्यवस्था पनि हाम्रो प्रणालीमा छैन। 

आवश्यकता अनुसार मानव स्रोतको खाँचो छ। भौतिक संरचना पनि आवश्यकता अनुसार बनेका छैनन्।  

आवश्यकता अनुसार प्रविधि र प्राविधिक पुगेका छैनन्। स्वास्थ्यकर्मी र बिरामीको अनुपात नमिल्नु, उनीहरुले चाहेर पनि समय दिन नसक्नु स्वास्थ्य सेवा प्रणाली भित्रको कमजोरी हो। 

त्यस्तै व्यवस्थापनमा पनि कमजोरी छन् त्यसलाई हल गर्न नसके पनि न्युनीकरण गर्न सकिन्छ। त्यो पनि हुन सकिरहेको छैन। 

कहिँ कतै हाम्रो व्यवहार मानसिकतामा पनि केहि न केहि कमजोरी होलान् । तर यो सबै चिज नभएका कारण जुन किसिमको प्रतिक्रिया भयो त्यो एकदमै गलत अभ्यास हो। 

हाम्रो स्वास्थ्य सेवाप्रति नागरिकको वितृष्णा र विश्वासको कमी बुझेकै कुरा हो। त्यो आजमात्र अनुभूत गरेको होइन र यो घटनाले मात्र अनुभूत गराएको होइन।

यसअघि पनि अप्ठयारो महसुस गरिएको हो। तर सवाल के हो भने जसरी अहिले भौतिक आक्रमण भइरहेको छ त्यसको पनि आलोचनात्मक मुल्यांकन हुनुपर्छ। 

यो पनि समाधानको उपाय होइन। 

अहिले भइरहेको भौतिक आक्रमण निकै बिझाइरहेको मुद्धा हो। यो घटनाका कारण बिरामी र बिरामीको आफन्तको असन्तुष्टि मात्र हो त भन्ने प्रश्न उठिरहेको छ।

यसले त्यति मात्र अभिव्यक्त गरिरहेको छैन। त्यहाँ अरु इन्ट्रेस्ट पनि हुनसक्ने प्रश्न उठ्छ। 

यति भन्दा सरकारको कमजोरी छैन भन्ने होइन्। कमजोरी छन्, त्यसलाई स्विकार्नै पर्छ। तर ति कमजोरी सुधार्न अहिले भइरहेको प्रयास पनि ठीक होइन। 

झन्झटिलो कानुनी प्रक्रिया 

विगतमा सहि ढंगबाट उपचार नभएको, गल्ती गर्नेहरुले पनि छुट पाइरहेको त्यस्ता अनुभवका कारण पनि यस्तो प्रतिक्रिया आएको हुनसक्छ।

नियम र प्रक्रियाअनुसार जाँदा जो कोहि दण्डित हुँदैनन्। सबैले उन्मुक्ति पाउँछ भन्ने सोच, अनुभव, विचारका कारण पनि यो भएको हुनसक्छ।

कारण धेरै छन्। तर कारण जति धेरै भए पनि यसको समाधान भौतिक आक्रमण होइन्। 

पीडितहरु कुरा सम्बोधीत हुनुपर्छ अर्थात यदि कोहि बिरामी भए त्यसको उपचार हुनुपर्छ। त्यो उपचार हुनुपर्ने दायित्व राज्यले बोध गर्नैपर्छ। अरु वस्तुको उपभोग गरेजस्तो होइन स्वास्थ्य सेवाको उपभोग।

यसमा नागरिकको स्वास्थ्यको आवश्यकतालाई सम्बोधन गर्नका लागि राज्य जिम्मेवार हुनुपर्छ। 

कसरी गर्न सकिन्छ भन्दा त्यसको तमाम उपाय छन्। विज्ञहरु छन्। मूल विषय यदि कुनै नागरिकलाई स्वास्थ्य सेवाको आवश्यकता परे त्यसको सम्बोधन हुनुपर्छ।

यसको अर्थ हाम्रो अस्पताल सबै सुविधायुक्त हुनुपर्छ भनेको होइन। न्यूनतम रुपमा एक नागरिकले आफ्नो जीवन रक्षाका लागि आवश्यक पर्ने सेवाको हक हुन्छ त्यसको सुनिश्चितता गर्ने राज्यले हो। 

व्यवस्थापनमा पनि थुप्रै कमजोरी छन्। संरचना, मानव स्रोत साधन, प्रविधि व्यवस्थापन सबै विषय आउँछ।

त्यसमा पनि व्यवहारत गर्नुपर्ने धेरै ठाउँहरु छन्। र, अहिले हामीसँग भएका स्रोत साधनलाई पनि अलिकति प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न सकिने हो भने अहिलेको भन्दा बढी सेवा प्रवाह गर्न सक्छौं। 

नागरिकले अहिलेको भन्दा कम पीडा अनुभव गर्न सक्छन्। 

स्वास्थ्य सेवा संरचना र प्रविधिसँगमात्र सम्बन्धित छैन। स्वास्थ्य सेवा मानव सम्बन्धसँग पनि सम्बन्धित छ। स्वास्थ्य सेवा किन्ने भनेको कुनै रेष्टुराँमा गएर खाजा खाए जस्तो होइन्।

गोजीमा पैसा बोकेर सुपर मार्केटमा आवश्यक वस्तु किनेर आए जस्तो पनि होइन्। स्वास्थ्य सेवा उपभोग गर्ने आफ्ना नियम र सिद्धान्त हुन्छन्। र, जुन मानिससँग सिधा सम्पर्क हुन्छ त्यहाँ पनि संवेदनशिल हुनुपर्छ। 

अस्पतालमा सेवा लिन आएको एउटा बिरामी वा नातेदार उपचार असफल भएर पनि उनीहरु सेवाप्रति सन्तुष्ट हुनसक्छन्।  काँही निको भएर आएपनि असन्तुष्ट भएर फर्कन सक्छन्। 

कुनै स्वास्थ्य संस्थामा सेवा लिन गएको सेवाग्राही (बिरामी) आफूले पाएको सेवाको प्रतिफल सफल वा असफल दुवै अवस्थामा सन्तुष्ट हुनुपर्छ।

त्यो असाध्यै जरुरी छ। त्यसैले मानव सम्बन्धमा धेरै संवेदनशिल हुनुपर्छ। पीडा बोकेर अस्पताल पुग्छन्। त्यहाँ मानवीय व्यवहार नभए कस्तो होला? 

तर, यी सबै सेवा नभएका कारण फेरि पनि भौतिक आक्रमण गर्नु समस्याको समाधान होइन्।
 
भौतिक रुपमा कुटपिट गर्ने अभ्यासको बिरोध गर्छु किनभने कुटपिट गर्नु भनेको स्वास्थ्यकर्मी विरुद्धकोमात्र नभइ  मानव अधिकारविरुद्ध हुन जान्छ। कुनै पनि नागरिक भौतिक रुपमा दण्डित हुनुहुँदैन।

कारागारमा हुने भौतिक यातनाको पनि हामी बिरोध गर्छौं । अपराधीलाई पनि भौतिक आक्रमण हुनुहुँदैन भनेर हामी बोल्छौं।

एउटा नागरिक गल्ती गरेका कारण भौतिक आक्रमण गर्नु हुँदैन। मानव अधिकारको हिसाबले पनि त्यो अपराध हो। 

(जनस्वास्थ्यविद् प्रा. डा वन्त सँगको कुराकानीमा आधारित)

 

 

Tags: