'ब्यूटीपार्लरले हाम्रा दु:ख लुकाउन सघाए'
"मलाई एक्लै घर छाडेर हिँड्ने अनुमति थिएन तर मैले मेरा श्रीमानलाई मनाएर वर्षमा दुई वा तीन पटकसम्म ब्यूटीपार्लर जाने गर्दथेँ।"
ब्यूटीसिअनकहाँ हुने कुराकानीका कारणले गर्दा २३ वर्षीया जर्मिनालाई त्यहाँ गइरहन मन लाग्थ्यो।
त्यस्ता कुराकानीले उनलाई दमन र गहिरो रूपमा पितृसत्तात्मक स्वरूपको समाजमा स्वतन्त्रताको आभास गरायो।
उनको १६ वर्षको उमेरमा विवाह भएको थियो।
उनले स्कुले पढाइ पूरा गर्न भ्याए तापनि उनको श्रीमानको परिवारले विश्वविद्यालय भर्ना हुने अनुमति दिएन।
पार्लरमा जान पाउने कुराले उनलाई जीवनको आभास गराउँथ्यो तर तालिवानले ती सबै बन्द गर्ने आदेश दियो।
एउटा दु:खद् विदाई
एक महिना जति अघि पार्लरमा अन्तिम पटक पुग्दा जर्मिनाले आफ्नो कपाल कालो र खैरो हुनेगरी रङ्गाइरहेकी थिइन् र त्यसबेलै प्रतिबन्धको भयानक समाचार आयो।
"त्यसका मालिक ठूलो आश्चर्यमा परिन् र रुन थालिन्। आफ्नो परिवारमा कमाउने मानिस उनै थिइन्," दुई सन्तानकी आमाले भनिन्।
अफगानिस्तानमा अनुमानित झण्डै ६०,००० मानिसहरू यस क्षेत्रमा काम गर्छन्।
"मेरो आँखीभौँको काम सकिएपछि पनि मैले ऐनामा हेर्न सकिनँ। सबै जनाको आँखामा आँसु थियो। त्यहाँ मौनता छायो।"
जर्मिना आफ्नो छिमेकी एक महिलासँग पार्लर पुग्थिन् र त्यहाँकी एकजना महिला कामदारसँग गहिरो मित्रता कायम गरेकी थिइन्।
"विगतमा महिलाहरू आफ्ना श्रीमानलाई कसरी प्रभाव पार्ने भनेर छलफल गर्थे। कोही आफ्ना असुरक्षाबारे खुलेर कुरा गर्थे।"
तर सन् २०२१ को अगस्टमा तालिवानले सत्ताको नियन्त्रण लिएपछि आर्थिक सङ्कट गहिरिन थाल्यो।
"अहिले महिलाहरूले बेरोजगारी, विभेद र गरिबीको कुरा मात्र गर्छन्।"
जर्मिना दक्षिणी अफगानिस्तानको कान्दहारमा बस्छिन्। त्यस ठाउँलाई तालिवानको पुरातन वादी गढ मान्ने गरिन्छ र त्यहीँ उनीहरूका सर्वोच्च नेता बस्छन्।
उनले त्यहाँका पुरुषहरूले आफ्ना छोरीहरूलाई शृङ्गार गर्न वा ब्यूटीसिअनकहाँ जान प्रतिबन्ध लगाउने कुरा सामान्य रहेको बताउँछिन्।
"अधिकांश महिलाहरू त्यहाँ बुर्का र हिजाब लगाएर हिँड्छन्। हामीले यसलाई आफ्नो संस्कृतिको एउटा हिस्साका रूपमा स्विकारेका छौँ।"
उनका श्रीमानले दुई वर्षअघि राम्रो कमाइ हुने जागिर छाडेका थिए र उनी अहिले अर्को सहरमा काम खोजिरहेका छन्। जर्मिनाले बालबालिकालाई पढाएर आफै पैसा कमाउँछिन्।
जुन महिनाको त्यस दिन घर फर्कँदा उनी उक्त पार्लरतर्फ फर्कि फर्की हेरिरहिन्। आफूले के गुमाउँदैछु भन्नेमा उनी पूर्ण रूपमा जानकार थिइन्। त्यो उनले पाइरहेको स्वतन्त्रताको एउटा सानो अंश थियो।
"मैले पार्लरमा आफ्ना लागि पैसा तिर्थेँ र त्यसले मलाई आत्मबल र शक्ति दिन्थ्यो। मसँग पैसा त छ तर मैले त्यो मेरा लागि ब्यूटीपार्लर पुगेर खर्च गर्न सक्दिनँ। त्यसले मलाई गरिब महसुस गराउँछ।"
लालित्य र सुन्दरता
मदिना काबुलमा बस्ने २२ वर्षीया महिला हुन्। अहिले उनी घरमै बसेर अनलाइनमार्फत शृङ्गारसम्बन्धी पछिल्ला शैलीलाई पछ्याइरहेकी छन्।
"मैले चिनेका हरेक महिला आफ्नो शैली सुधार्न चाहन्छन्। मलाई पछिल्लो फेसन गर्न र मेकअप लगाउन मन पर्छ।"
ब्यूटीपार्लरमा गई रहने कार्यले आफ्नो वैवाहिक जीवन ताजा बनाएको उनी सुनाउँछिन्।
आफ्ना श्रीमानले उनको कपाल ‘विभिन्न रङ्ग र शैलीमा हेर्न निकै मन पराउने’ उनी बताउँछिन्।
"वहाँले मलाई सधैँ ब्यूटीपार्लरसम्म पुर्याउनुहुन्छ र ढोकामा धैर्य पूर्वक पर्खनुहुन्छ," उनले गर्वसाथ सुनाइन्।
"जब म बाहिर निस्कन्थेँ वहाँले मेरो रूपको प्रशंसा गर्नुहुन्थ्यो जसले मलाई राम्रो महसुस गराउँथ्यो।"
उनको वकिल बन्ने रहर थियो तर तालिवानले महिलालाई विश्वविद्यालय जान रोक्यो। महिलालाई कैयौँ भूमिकामा प्रतिबन्ध लगाएपछि उनले काम पाउन समेत सकिनन्।
घर छाड्दा मदिनाले आफ्नो शिर स्कार्फले ढाक्छिन्। उनका श्रीमान र परिवारका महिला सदस्यले मात्र उनको रङ्गाइएको कपाल देख्छन्।
उनी महिलाहरूलाई धेरै स्वतन्त्रता भएको तालिबान पूर्वको समय सम्झन्छिन्।
सानो छँदा आमासँग पार्लर गएको उनलाई सम्झना छ जतिखेर महिलाहरू खुलेर आफ्ना जीवनका सुखद:ख साट्थे।
"ती पार्लरका महिला कर्मचारीहरूले अब स्कर्ट्स वा जिन्स लगाउँदैनन्, उनीहरू हिजाबमा हुन्छन्।"
र सबैतिर डर छ।
"को तालिबान समर्थक हो भन्ने कसैलाई थाहा छैन र कोही राजनीतिबारे केही भन्न चाहँदैन।"
विगतमा दुलहाहरूलाई उनीहरूकी दुलही पार्लरमा तयार भएको हेर्न दिइन्थ्यो। मदिनालाई केही पुरुषहरूले पार्लरभित्रै आएर फोटो खिचेको हेर्न दिइने गरेको याद छ। त्यो सबै अहिले प्रतिबन्धित छ।
तर रोमाञ्चित हुनका लागि मदिनासँग कम्तीमा उनको ‘विशेष दिन’को रमाइला सम्झनाहरू छन्।
उनी भन्छिन्: "गत वर्ष मेरो विवाहअघि म ब्यूटीपार्लर पुगेँ र पूर्ण रूपमा दुलहीको शृङ्गार गरेकी थिएँ।"
"ऐनामा आफूलाई हेर्दा म निकै राम्री देखिएकी थिएँ। त्यसले मलाई अर्कै देखायो। म मेरो खुसी व्याख्या गर्न सक्दिनँ।"
अदृश्य थेरापी
उत्तर-पश्चिमी सहर मजार-ए-शरिफकी २७ वर्षीया सोम्याका लागि ब्यूटीपार्लर एक आवश्यकता हो।
तीन वर्षअघि उनको कोठाभित्रको हिटर पड्किएर अनुहार जलेपछि उनले आँखीभौँ र परेलाहरू गुमाइन्।
"अरूले मेरो अनुहार हेरेको म देख्न सक्दिनथेँ। म नराम्री देखिए," उनले भावुक हुँदै भनिन्।
"मेरो आँखीभौँ गएकाले सबैले मलाई नै हेरिरहेका छन् र मप्रति हाँसिरहेका छन् भन्ने लाग्थ्यो। म केही महिना बाहिर गइनँ। त्यसबेला म रुने मात्र गरिरहेँ।"
चिकित्सकीय उपचारले उनको घाउ ठिक पारे तापनि ब्यूटीपार्लरले उनमा आत्मबल ब्युँतायो।"म ब्यूटीपार्लरमा गएँ र माइक्रोब्लेडिङ (कस्मेटिक ट्याटुको एउटा अर्ध-स्थायी तरिका) गराएँ। त्यसले मलाई निकै राम्रो देखायो," उनले भनिन्।
"जब मैले मेरो आँखीभौँ हेरेँ तब म रुन थालेँ। ती हर्षका आँसु थिए। ब्यूटीपार्लरले मलाई मेरो जीवन फिर्ता दियो।"
तालिबान शक्तिमा आएसँगै उनको नगरका कैयौँ पार्लरहरू बन्द गरिए।
त्यसको विज्ञापन गरिएका रङ्गिन पोस्टरहरू समेत हराए। किनकि तालिवानले महिलाको अनुहारलाई बुर्काले ढाक्नुपर्छ भन्छ र बुर्कामा उनीहरूको आँखा मात्र देख्न सकिन्छ।
सोमायाले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् र उनी मानसिक स्वास्थ्य परामर्शदाताको रूपमा काम गर्छिन्।
तालिवानले त्यस्ता प्रतिबन्धहरु लगाउन थालेपछि कैयौँ महिलाहरू उनको सेवा लिन आइरहेका छन्।
'थेरापी'का लागि ब्यूटीपार्लर प्रयोग गर्ने उनी एक्ली होइनन्।
युद्धबाट क्षतविक्षत भएको देशमा कैयौँ महिलाहरूका अनुहारमा दाग र चोटपटकहरू छन् र उनीहरूले त्यसलाई पुरानै स्वरुपमा ल्याउने गरी उपचार गर्न सक्दैनन्।
"हाम्रा लागि पार्लरको महत्त्व मेकअपका लागि भन्दा बढी छ। यसले हामीलाई दुःख लुकाउन सघाएको छ। यसले हामीलाई ऊर्जा र आशा दिन्छ।"
(सबै नामहरू परिवर्तन गरिएका छन्)
बीबीसी