post-slider post-slider

सहमतिपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन

Image

हेटौँडा । प्राध्यापकको आन्दोलनका कारण दुई हप्ताभन्दा लामो समयदेखि अवरुद्ध बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको पठनपाठन नियमित सञ्चालनमा आएको छ ।

हेटौंडाका प्राध्यापकले तलबभत्ता तथा सेवासुविधा समयमा उपलब्ध गराउनुपर्ने लगायतका सातबुँदे मागसहित गत कात्तिक २२ गतेबाट पठनपाठन बन्द गरी आन्दोलनमा उत्रिएका थिए । प्रदेश सरकारबाट निकासा नभएका कारण भत्ता तथा सेवासुविधा बापतको रकम नपाएका प्राध्यापकको भुक्तानी पुस महिनामा निकासा दिने प्रदेश सरकारको प्रतिवद्धतापछि पठनपाठन नियमित गर्ने सहमति भएको हो ।

प्रतिष्ठान अन्तर्गत रहेको प्राध्यापकको संस्था प्राध्यापक कल्याणकारी समिति (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान) ले नियमानुसार प्राप्त गर्नुपर्ने तलबभत्ता तथा सेवासुविधा समयमा उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रिएका थिए । 

प्राध्यापकले आधारभूत तलब पाउँदै आए पनि चालु आर्थिक वर्षको गत भदौदेखिको परीक्षा, भ्रमण, शिक्षणलगायत अतिरिक्त सुविधा बापतको रकम पाएका छैनन् । प्रतिष्ठानका सूचना अधिकारी एवं प्रमुख प्रशासकीय अधिकृत अमरसिंह अधिकारीले प्रतिष्ठान र समितिबीच प्राध्यापकको मागका सम्बन्ध दुई बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम सोमबारबाट फिर्ता लिएर पठनपाठन नियमित भएको जानकारी दिए ।

सहमति पूर्व प्रतिष्ठानका कुलपतिसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग प्रतिष्ठान र प्राध्यापकको समितिका पदाधिकारीबिच प्राध्यापकको सेवा सुविधाको रकम भुक्तानीलगायतका विषयमा छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री जम्कट्टेलले छिटोभन्दा छिटो छात्रवृत्ति अनुदान बापतको रकम प्रतिष्ठानलाई उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सुरेन्द्र शेरचन र समितिका अध्यक्ष विश्वास सापकोटाले हस्ताक्षर गरेको सहमतिपत्रमा मुख्यमन्त्रीले छिटोभन्दा छिटो प्रतिष्ठानलाई छात्रवृत्ति अनुदान बापतको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले घोषित हडतालका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ । साथै सहमतिपत्रमा आगामी पुस ११ गतेभित्रमा माग पूरा नभएमा पुनः विरोधका कार्यक्रम सुरु गर्ने भनिएको छ ।

प्रतिष्ठानमा कार्यरत प्राज्ञिक जनशक्तिको स्थायित्व तथा वृद्धि विकासलगायतका नीतिगत सुधारका लागि राय सुझाव दिन प्रतिष्ठानका पदाधिकारी र प्राध्यापक रहेको पाँच सदस्यीय समिति गठन गर्ने सहमति भएको छ । प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाई र डिन प्रा. दुर्गा खड्का मिश्र तथा प्राध्यापक कल्याणकारी समितिका तर्फबाट डा. रोशनकुमार चौधरी, अजय यादव र विपिन्द्र पाण्डे रहेको समितिले १० दिनभित्रमा राय सुझाव प्रतिष्ठानका उपकुलपति समक्ष पेस गर्ने सहमति भएको छ । प्रदेश सरकारबाट पाउनुपर्ने छात्रवृत्तिबापतको रकम उपलब्ध नभएकोले प्राध्यापकलाई अतिरिक्त सेवासुविधा बापतको रकम गत भदौदेखि भुक्तानी नभएको अधिकारीले जानकारी दिए । प्रतिष्ठानमा हाल ३२ जना प्राध्यापक कार्यरत छन् । प्रतिष्ठानमा हाल स्नातक तहको नर्सिङलगायत चार विषयको अध्यापन हुँदै आएको छ । 

Tags: