post-slider post-slider

हृदयाघातको जोखिम बढाउने तत्त्व

Image

काठमाडौं । मुटुले रगत बोकिरहेको भए पनि उसले सोझै आफूले बोकेको रगतबाट अक्सिजन तथा पोषक तत्त्व ग्रहण गर्न सक्दैन । उसलाई नियमित रुपमा अक्सिजन तथा पोषक तत्त्व को आपूर्ति गर्न रगत ल्याउने काम केही रक्तनली हरु ले गर्दछन् । तिनलाई कोरोनरी आर्टेरी भनेर चिनिन्छ । ती मुख्यतः तीन वटा छन् ।  ती आर्टेरीहरु साँघुरिए भने वा कुनै कारण ले थुनिए भने रगतको प्रवाहमा अवरोध हुन्छ। र, मुटुले आवश्यक मात्रामा अक्सिजन र पोषक तत्त्व प्राप्त गर्न सक्दैन । 

अक्सिजन र पोषक तत्त्वको अभाव हुँदा मुटुका कोषहरूको मृत्यु हुन थाल्छ । यदि एकै थुप्रै कोषहरूको मृत्यु भए मुटु धड्कने कार्यमा समेत बाधा हुन्छ । मुटु गह्रुंगो भएको आभास हुनु सँगै गहिरो पीडाको अनुभूति पनि हुन्छ । यसैलाई हृदयाघात भनिन्छ । रक्त नलीका भित्तामा विभिन्न कारण ले बोसो जम्दै जान्छन् । यसरी जमेको बोसो का कारण रक्तनली हरु साँघुरिएर रक्त प्रवाहमा व्यवधान आउने हो । कहिलेकाहीं रक्तनली का भित्ता मा थुप्रिएका बोसोका  ढिक्का हरु त्यहाँ बाट उप्किएर अगाडी बढ्न र रक्तनली लाई पूरै थुन्न पनि सक्छन् । 

यसरी रगत थुनिँदा मुटुको जुन भागमा त्यो रक्तनली पुगेको हुन्छ । त्यो भागमा रहेका कोषहरु बिस्तारै मर्न थाल्छन् । यदि समय मै उपचार गरियो भने र रक्त प्रवाह लाई पुनः सुचारु बनाउन सकियो भने ती कोषहरु लाई मर्नबाट जोगाउन सकिन्छ । विश्व स्वस्थ्य संगठनका अनुसार हृदयाघातका बिरामी विकसित मुलुकको तुलनामा नेपाल जस्ता गरीब तथा विकासोन्मुख देशका युवामा धेरै देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले गरेको एक प्रक्षेपण अनुसार दक्षिण एशियामा सन् २०२० सम्ममा मुटुरोग महामारीका रूपमा फैलिने छ ।

अहिले नेपालको सहरी क्षेत्रका कुल मुटुरोगीमध्ये १७ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ प्रतिशत रहेको चिकित्सकहरूको अनुमान छ। विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्षेनी १ करोड ८० लाख मानिस को मृत्यु हुने गर्छ । ती मध्ये ८० प्रतिशत भन्दा बढी विकासोन्मुख देशका विपन्न वर्ग का जनता पर्छन् ।

हृदयाघात र आकस्मिक हृदय गति बन्द हुनु दुई अलग कुरा हुन् । हृदयाघात लाई डाक्टरी भाषा मा हर्ट एट्याक वा मायोकार्डियल इन्फार्कसन भनिन्छ भने आकस्मिक हृदय गति बन्द हुनु लाई सडेन कार्डियाक एरेस्ट भनिन्छ । हृदयाघातमा मुटुको मांसपेशीमा रगतको आपूर्ति नहुने समस्या प्रमुख हो भने आकस्मिक हृदय गति बन्द हुनुमा मुटुलाई चल्न उत्प्रेरित गर्ने विद्युतीय स्पन्दन रोकिनु प्रमुख कारण हो ।

 जोखिम बढाउने कारक तत्त्वहरू 

हृदयाघात को जोखिमलाई बढाउने तत्त्वहरू दुई प्रकार (सुधार गर्न नसकिने र सुधार गर्न  सकिने) का छन् । दुवै किसिमका कारक तत्त्वहरूलाई तल उल्लेख गरिएकाे छ । यो सबै उमेर समूहका मानिसलाई हृदयाघात हुन सक्ने भए पनि उमेरको वृद्धिसँगै यसको जोखिम पनि बढ्दै जान्छ । यो हामीले सुधार गर्न नसकिने कारक तत्त्व हो ।

मस्तिष्कघात जस्तै हृदयाघात पनि महिलालाई भन्दा पुरुषलाई हुने सम्भावना बढ्ता हुन्छ। यदि परिवारमा कसैलाई हृदयाघात भएको थियो भने हृदयाघात को जोखिम धेरै हुन्छ ।

धूमपान नगर्नेमा भन्दा गर्नेमा हृदयाघात हुने सम्भावना दुगुना हुन्छ । यो हामीले सुधार गर्न सकिने कारक तत्त्व हो । यदि रगतमा एल डीएल कोलेस्टेरोलको मात्रा उच्च छ भने मुटु रोग हुने सम्भावना सँगै हृदयाघात को सम्भावना पनि धेरै हुन्छ ।

उच्च रक्तचापका कारण मुटुलाई रगत तान्न र फाल्न बढ्ता परिश्रम गर्नु पर्छ । जसले गर्दा उसलाई धेरै पोषण र अक्सिजनको आवश्यकता हुन्छ । जुनको कमी ले हृदयाघात हुने सम्भावना मा वृद्धि हुन्छ । यदि मधुमेह छ र त्यसको उचित नियन्त्रण हुन सकेको छैन भने पनि हृदयाघात हुने सम्भावना सँगसँगै हृदयाघात बाट हुने क्षति बढेर जान्छ ।

यदि शरीर बढी मोटो भयो र त्यो मोटाई बढ्दा पेटमा केन्द्रित भयो भने पनि तिनमा मुटुरोग हुने सम्भावना सँगै हृदयाघात हुने सम्भावना पनि वृद्धि हुन्छ । निष्क्रिय जीवनशैली पनि मुटुरोग र हृदयाघात हुने सम्भावना बढाउने कारक तत्त्व हो । यसको सुधार गर्न सकिन्छ ।
 

हृदयाघातका लक्षणहरु 

छातीको बीचमा वा बायाँतर्फ दुख्नु । कसैले कक्रक्क पारेर समाते जस्तो वा केही भारी वस्तु ले थिचे जस्तो महसुस हुनु । यस्तो दुखाई अचानक वा पटक पटक हुने ।

छातीमा भएको दुखाई को क्षेत्र बढेर गर्धन, ढाड, काँध, पाखुरा तथा बंगारामा समेत महसुस हुनु । यो दुखाई लगातार भइरहन वा बीच बीचमा बिसाउन पनि सक्छ ।

छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु । छाती वरिपरि वा अनुहारमा यस किसिमको चिल्लो पना देखिने हुन्छ ।

चक्कर आए जस्तो हुनु । दिमाग शून्य भएको महसुस हुनु । यहाँ सम्म कि बिरामी बेहोसिको अवस्थामा पुग्न पनि सक्छ ।

असामान्य रुपमा थाके जस्तो महसुस हुनु ।

चिड्चिड्ति पसिना आउनु । यस्तो पसिना निधार, छाती तथा पिठ्युँ मा बढ्ता देखिन्छ ।

वाकवाकी लाग्नु र बान्ता हुनु । तर सबै हृदयाघात मा बान्ता नै हुन्छ भन्ने छैन । कतिपय हृदयाघातहरु मा देखिने लक्षणहरु अत्यन्त सामान्य हुन्छन् ।

मुटुको गति तिब्र हुनु र छातीमा धडकनको महसुस बढी हुनु ।

सास फेर्न समेत गाह्रो हुनु । सास को गति चाँडो हुनु ।

लगातार केही महिना देखि छातीमा दुखाइको महसुस हुनु पनि हर्ट अट्याक को पूर्व संकेत हुन सक्छ।

आकस्मिक हृदय गति बन्द मुटुको अर्को समस्या हो । जसमा मुटुको धडकन नै बन्द हुने स्थिति हुन्छ । यस्तो अवस्थामा बिरामीलाई बचाउन पनि मुश्किल पर्दछ ।
 

हृदयाघातको निदान 

सबै छातीका दुखाई हरु मुटुसँग सम्बन्धित हुँदैनन् । तर यदि अकस्मात् छाती कुनै कुराले थिचे जस्तो भएर दुख्यो र दुखाइसँगै चिड्चिडा पसिना आउन थाल्यो भने चाँडो भन्दा चाँडो अस्पताल पुग्ने कोशिश गर्नु पर्छ । अस्पतालमा डाक्टरले हृदयाघात हो वा होइन निर्क्यौल गर्न निम्न परीक्षणहरू गर्ने छन् –

मुटुमा क्षति भए नभएको बुझ्न तथा मुटु को धडकन को अवस्था पत्ता लगाउन इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) गराउने छन् । मुटुको चाललाई सोझै हेर्नका लागि इको अर्थात् इकोकार्डियोग्राफी को मद्दत लिन सकिन्छ ।

विभिन्न किसिम का रक्त परीक्षणमा मार्कर क्रिएटाइन किनेज तथा ट्रोपोनिन टी को स्तर मापन पनि पर्दछन् ।

मुटुका आर्टेरीहरुमा काछ बाट तार घुसारेर यो परीक्षण गरिन्छ । यसमा तारको टुप्पामा एक्सरे बाट हेर्न मिल्ने डाई पठाइएको हुन्छ । जसले गर्दा थुनिएको आर्टेरी र थुनिएको ठाउँ सजिलै देख्न सकिन्छ । आवश्यक देखेमा डाक्टरले त्यहि तार मा बेलुन पठाएर त्यो रोकावट लाई खोल्न पनि सक्छन् ।
 

हृदयघातको उपचार 

यदि हृदयाघात भएको छ भने जति सक्दो चाँडो अस्पताल पुग्ने र उपचार गराउने प्रयास गर्नु पर्दछ । हृदयाघात को सुरुका ४ ५ घण्टा बिरामीका लागि स्वर्ण समय हो । त्यसमा पनि शुरुको ९० मिनेट भित्र सम्बन्धित अस्पतालमा जान सके त्यसको सहजता पूर्वक सफल उपचार हुन सक्छ । अस्पतालमा पुग्नासाथ डाक्टरले हृदयाघातले मुटुलाई भएको क्षतिबाट जोगाउन निम्न उपचारहरू गर्न सक्ने छन् ।

अक्सिजन दिनुपर्ने अवस्था देखिएमा तत्कालै अक्सिजन दिन सक्ने छन् ।

तत्काल राहत दिनका लागि रगत जम्न नदिने औषधि वा रक्तनली फुलाउने जस्ता औषधि पनि दिन सक्ने छन् ।

माथी निदान मा वर्णन गरे मुताबिक एन्जिओग्राम को सहायता ले बन्द भएको आर्टेरी खुलाउने प्रयास गर्ने छन् ।

धेरैजसो अवस्थामा थ्रंबोलाइसिस या पर्क्युटेनिएस कोरोनरी इंटरवेंशन ९पीसीआई० को उपयोग गर्ने गरिन्छ ।

समस्या जटिल देखिएमा डाक्टर ले बाइपास शल्यक्रिया द्वारा मुटु मा रगत को आपूर्ति गर्नका लागि नयाँ रक्तनली को व्यवस्था गर्न सक्ने छन् ।
 
रोकथाम 

हृदयाघातमा भूमिका खेल्ने कारक तत्त्वहरू मध्ये उमेर, लिङ्ग र आनुवंशिक चरित्र लाई हामीले बदल्न चाहेर पनि बदल्न सक्दैनौं । तर हृदयाघात हुन बाट जोगिने अरु धेरै उपायहरु छन् जसलाई हामीले अवलम्बन गर्न सक्छौं र हृदयाघात बाट बच्न सक्छौं । ती मध्ये केही लाई तल उल्लेख गरिएको छ ।

मोटोपन बढ्न नदिने ।

धूमपान नगर्ने र मद्यपान लाई पनि त्याग्ने ।

सक्रिय जीवनशैली अपनाउने । दैनिक आधा घण्टा जति समय योगाभ्यास का लागि छुट्याउने ।

स्वास्थ्यवर्द्धक र सन्तुलित भोजन लिने ।

रगत मा खराब कोलेस्टेरोल बढ्न नदिने ।

मधुमेह देखिएमा तत्कालै त्यसको उपचार गर्ने र नियन्त्रण मा राख्ने ।

रक्तचाप छ भने पनि डाक्टर को सल्लाह मा नियमित औषधि सेवन गर्ने ।

बराबर छाती अप्ठेरो भई दुखेमा तुरुन्त मुटुरोग विशेषज्ञ लाई देखाउने र परामर्श लिने ।

(निरोगी नेपालको सहयोगमा)

Tags: