post-slider post-slider

डाक्टरहरू आन्दोलनमा, सेवाग्रही मर्कामा, स्वास्थ्य मन्त्रालयमा वार्ता सुरू

Image

काठमाडौं- कित्सकहरू कामकाज छाडेर आन्दोलनमा उत्रिएपछि सेवाग्रहीहरू मर्कामा परेका छन्।

डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्सकहरू आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।

नेपाल चिकित्सक संघले डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको विरोधमा देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्णरूपमा बन्द गरेको हो।

चिकित्सक संघले डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न सबैलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायले दोषीलाई पक्राउ नगरी मेलमिलाप गराउन खोजेर घटनालाई सामसुम पार्न खोजेको चिकित्सक संघले आरोप लगाएको छ।

यसैबीच स्वास्थ्य मन्त्रालयले आन्दोलनरत चिकित्सक संघलाई समस्या समाधान गर्न उद्देश्यले वार्तामा बोलाएको छ। 

चिकित्सक संघले उठाएको माग र घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न मन्त्रालयले वार्ता समिति बनाएको हो। त्यस्तै चिकित्सक संघले पनि सरकारसँग वार्ता गर्न समिति बनाएको छ।

नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरू भएको छ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोली र चिकित्सक संघबीच वार्ता सुरू भएको हो।

स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा चिकित्सक संघका तर्फबाट अध्यक्ष डा.अनिलविक्रम कार्की, उपाध्यक्ष डा.बद्री रिजाल, महासचिव डा.सञ्जीव तिवारी, सहसचिव डा.लेसियन महर्जन र केन्द्रीय सदस्यहरू सहभागी रहेका छन्।

त्यस्तै सरकारको तर्फबाट डा.देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छन्।

 

Tags: