post-slider post-slider

एचआइभी संक्रमित शिक्षा र स्वास्थ्यबाट बञ्चित भएको विषयमा सरोकारवालाबीच छलफल

Image

काठमाडौं । शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको विषयमा एचआइभी संक्रमित र सरोकारवालाबीच छलफल भएको छ।

हेल्थ लाइभले आयोजना गरेको ‘मिडिया एडभोकेसी प्रोगाम अन हेल्थ एण्ड ह्युमन राइट्स अफ डे एण्ड एफेक्टेड पपुलेसन अफ एचआइभि’  कार्यक्रममा सरोकारवालासँग एचआइभी संक्रमित बालबालिकाले आफूहरू शिक्षा र स्वास्थ्यबाट बञ्चित भएको बताए। 

रौतहटमा कक्षा  २ मा पढ्ने ५ वर्षीय बच्चा एचआइभी संक्रमित भएको थाहा पाएपछि विद्यालयबाट निस्कासित गरिएको एचआइभी संक्रमितको राष्ट्रिय महासंघका अध्यक्ष खगेन्द्र खड्काले बताए।

संक्रमित बच्चालाई पुन ः भर्ना गर्न लबिङ गर्दा पनि असफल भएकामा उनले दुखेसो पोखे। अहिले पनि हाम्रो समाजमा एचआईभी एड्स संक्रमित बच्चा स्टिगमाका कारण शिक्षाबाट बञ्चित हुनु परेकोमा उनको भनाइ थियो।
 
त्यस्तै गोरखामा एक शिक्षकको रुपमा कार्यरत व्यक्ति संक्रमित भएको थाहा पाएपछि जागिरबाट निष्कासित गरिएको उनले सुनाए। संक्रमित भएका कारण अवसरबाट पनि बञ्चित हुनुपरेको तितो यथार्थ उनले बताए।  

सरकारले संक्रमित लाई नि ः शुल्क औषधि वितरण गरेको छ। र, एक लाखसम्मको बिमा नि ः शुल्क गरिदिएको छ। तर, अहिले सबैभन्दा ठुलो समस्या भेदभाव रहेको उनी बताउँछन। 

उनी भन्छन, ‘जन्मँदै संक्रमित भएका बालबालिका जसले अभिभावक गुमाएका छन्। तिनीहरुको जन्मदर्ता र नागरिकता नहुँदा उनीहरु सरकारले दिने हरेक सेवाबाट बञ्चित छन्। अहिले ५३ जना बालबालिका अभिभावकबिहीन र उनीहरुलाई आफ्नो थातथलो समेत थाहा नभएका छन्। ति बालबालिकाको संरक्षण अहिलेको टड्कारो आवश्यकता हो।’  

एचआइभि संक्रमित महिलाको राष्ट्रिय महासंघका मिलन खड्का एचआइभी संक्रमणसम्बन्धि शिक्षा नै गलत दिने गरेको बताए। ‘विद्यालय शिक्षाको टेक्स्ट बुकमा नै गलत शिक्षा दिइरहेका छौं । एचआइभी संक्रमण रोगको रुपमा व्याख्या गरि उपचार नहुने भनिएको छ,’ उनले भने, ‘यस्तो शिक्षाले गर्दा संक्रमितहरु विद्यालयबाट निष्कासित भइरहेका छन्। र, उनीहरुको भविष्य नै अन्धकारमा धकेलिएको छ।’

पाठ्यपुस्तकमा भएको त्रुटि परिमार्जन गर्न पाठ्यक्रम विकास केन्द्रमा पत्र दिँदा पनि परिमार्जन नभएकोमा उनले दुखेसो पोखे। 

एचआइभीको उच्च जोखिममा रहेका यौनिक तथा अल्पसंख्यक समुदाय उच्च जोखिममा हुन्छन्। उनीहरुलाई परिवार स्विकार नगर्दा, समाजमा अवसर नहुँदा र नीतिगत संरक्षण नहुँदा एचआइभीको उच्च जोखिममा पुगेको यौनिक तथा लैगिक अल्पसंख्यक राष्ट्रिय महासंघकी कायकारी निर्देशक सिमरन शेरचनले बताइन्। 

उनले भनिन्, ‘परिवारले नस्विकार्दा घरबिहीन हुन्छन्। काम गर्न खोज्दा अवसरका ढोका बन्द हुन्छन्। जसका कारण उनीहरु जोखिमपूर्ण व्यवहार अर्थात यौनकर्मी बन्न पुग्छन् जसका कारण प्रत्येक दिन एचआइभीको जोखिममा हुन्छ।’

त्यस्तै अन्य समुदायका यौनकर्मीहरु पनि यसको उच्च जोखिममा हुने जागृति महिला महासंघकी प्रतिनिधि लक्ष्मी राना भाटले जानकारी दिइन्। बाध्यात्मक अवस्थामा शरीरलाई कामको माध्यम बनाएर जिविकोपार्जन गर्ने महिला एचआइभी संक्रमणको जोखिममा रहेको पहिलो समुदाय हो। उनीहरु स्वास्थ्य सेवाबाट बञ्चित भउको उनले दुखेसो पोखिन्। उनीहरुलाई संक्रमण भए वा अन्य स्वास्थ्य समस्या भएर सेवा लिन जाँदा भेदभाव र लान्छना भोग्नुपर्छ जसका कारण उनीहरु अस्पतालसम्म पुग्नै नसक्ने उनले बताइन्। 

अहिले एचआइभीका अनुमानित बिरामी ३० हजार छन्। तिमध्ये २४ हजारले एचआइभीविरुद्धको औषधि खाइरहेका छन्। ६ हजार अझै औषधि सेवा भन्दा बाहिर रहेको लागु औषधि प्रयोगकर्ता  महासंघ (रिकभरी  नेपाल) का कार्यकारी निर्देशक बिष्णु शर्माले बताए।

ती संक्रमित समाजमा हुने भेदभाव र लान्छनाका कारण खुलेर बाहिर आउन नसकेको उनी बताउँछन्। उनले भने, ‘संक्रमित भन्ने थाहा पाएपछि आफ्ना सन्तान शिक्षा स्वास्थ्यबाट बञ्चित हुने र सामाजिक मान प्रतिष्ठामा आँच आउने डरले लुकेका हुन्।’

सामाजिक भेदभावका कारण संक्रमितहरुले लुकेर औषधि लिनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए। एचआइभी निर्मुल पार्न २०११ मा गठन भएको स्वास्थ्य र शिक्षा समिति अहिले निष्क्रिय भएको छ। त्यसलाई सक्रिय बनाउनुपर्ने उनले बताए।

Tags: