post-slider post-slider

‘हरेक पालिकामा परामर्शदाता आवश्यक’

Image

रामेछाप । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले हरेक पालिकाबाट मनोपरामर्शदाता सेवा उपलब्ध गराउनुपर्ने खाँचो औल्याएका छन्।

उनले भने, ‘मनोपरामर्शदाता सेवा लागि स्थानीय तहले कार्यक्रम तर्जुमा  तथा बजेट विनियोजन गर्नुपर्दछ । बजेट अपुग भएमा प्रदेश सरकारले थप सहयोग गर्नेछ।’ 

तनाव व्यवस्थापनसम्बन्धी मन्थलीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पालिका स्तरमा मनोपरार्शदाता भएमा तनाव व्यवस्थापन  गर्न समेत सहज हुने बताए। 

सो अवसरमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले तनाव व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमका  सहभागी सबैलाई  प्रयोगात्मक अभ्याससमेत गराए।  

उनले विगतको शोकलाई बिर्सने र भविष्यको सुर्ता नलिने हो भने तनाव त्यसै कम भएर जाने बताए। उनले ‘सरकारी काम कैले जाला घाम भन्ने’ उखानलाई उल्टाएर सबै सरकारी कर्मचारीहरुले ‘कर्म नै धर्म हो’ भन्ने मूल मर्मलाई आत्मसाथ गरी हरेक दिन काम गर्नाले तनाब आधा घटेर जाने बताए। 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख दीपक न्यौपानेले तनाव व्यवस्थापन र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एवं प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बागमती प्रदेशको आत्महत्याको अवस्था र त्यसको  न्यूनीकरणका उपायका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन्। 

सोही अवसरमा मन्थली अस्पतालका डा समीर क्षेत्रीले अस्पतालमा आउने मनोरोगीको अवस्था र उनीहरुलाई गरिएको परामर्शका बारेमा जानकारी गराए । मन्त्रालयका सचिव ध्रुव गैडाले यस्ता कार्यक्रमले सभ्य  समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

रासस

Tags: