post-slider post-slider

डा.रामनरेशः चिकित्सा क्षेत्रका एक ‘सारथी’

Image

जनकपुरधाम ।  डा.रामनरेश पण्डितको नाम मधेस र विशेष गरी जनकपुरबासीका लागि नौलो होइन । स्त्री रोग तथा प्रसूतिका लागि पण्डित यस क्षेत्रमा पहिलो नम्बरको डाक्टरमा गनिन्छन् । 

प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशकसमेत रहेका उनी पछिल्लो डेढ दशकदेखि यसै क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्दै आएका छन् । डा. पण्डित मधेस प्रवेश गरेका बेला प्रदेशमा प्रसूति शल्यक्रिया वीरगञ्ज र जनकपुरमा मात्रै सीमित थियो । तर त्यहाँ पनि सेवाग्राहीको सङ्ख्या पातलो थियो । “सुरुमा सुरक्षित प्रसूतिका लागि धेरै ठाउँमा शल्यक्रिया सेवा नै थिएन, न त यो विधामा धेरै चिकित्सक नै थियौँ । हाम्रो अथक प्रयासले नागरिकमा सेवाप्रति भरोसा र विश्वास जगाउन सक्यौं”, डा. पण्डितले भने।

पढाइमा अब्बल 

महोत्तरीको मनरा शिसवा नगरपालिका–८ मा जन्मिएका डा पण्डितले गाउँकै बथनाह स्कुलबाट विद्यालय शिक्षा पढे । उच्च शिक्षा भने चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज (टिचिङ हस्पिटल) काठमाडौँबाट हासिल गरे । डा.पण्डितले सामान्य चिकित्सा (एचए), एमबीबीएस, स्त्री तथा प्रसूति रोगमा एमडी गरेका छन् । 

“विसं २०४२ मा एसएलसी गरेपछि २०४६ सालमा एचए, २०५४ एमबीबीएस र २०५८ मा एमडीको पढाइ सकेँ ।  त्यो समय स्त्री तथा प्रसूति रोगमा गिनेचुनेका मान्छेले मात्रै एमडी गर्थे । त्यही बेला मैले पनि अध्ययन पूरा गरेकामा अहिले गौरव महसुस हुन्छ”, उनले भने । उनले सरकारको छात्रवृत्तिमै सबै तहका अध्ययन पूरा गरेका हुन्।

“उच्च शिक्षाका सबै तह सरकारको पूर्ण लगानीमा पढेँ । पैसा छैन, पढ्न पाइँदैन कि भन्ने चिन्ता कहिल्यै गर्नुपरेन । यो मेरो लागि सौभाग्य र आम विद्यार्थी तथा जिज्ञासुका लागि पनि प्रेरणाको विषय हुनसक्छ”, डा. पण्डितले भने । 

सेवामा पनि अब्बल 

विसं २०५८ मा उच्च शिक्षाको अध्ययन पूरा गरेपछि डा. पण्डित सोही वर्ष जेठमा जनकपुर आए । जागिरको सिलसिलामा केही समय सर्लाहीको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र, महोत्तरीको बर्दिवास अस्पताल र उदयपुरमा काम गरे । त्यसअघि सामान्य चिकित्सा विषयमा अध्ययनपछि काठमाडौँको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा स्थायी जागिरेका रुपमा सेवा गरे।

“सेवा सुरु गरेको २२ वर्षमा  केही समय बाहिर रहेँ हुँला तर त्यसपछि निरन्तर जनकपुरमै छु । पछिल्लो १५र१६ वर्षदेखि त प्रादेशिक अस्पतालबाट कार्यसम्पादन गरिरहेको छु । यसरी आफ्नै क्षेत्रका नागरिकको सेवा गर्न पाउनु मेरो सौभाग्य पनि हो”, डा. पण्डितले भने । 

यस अवधिमा प्रादेशिक र निजी अस्पतालमा समेत गरी सानोतिनो बाहेक करिब १० हजार जति शल्यक्रिया र लाखौँ नागरिकको उपचार गर्ने अवसर पाएको उनले बताए । “म प्रादेशिक अस्पतालमा आउँदा प्रसूति वार्डमा प्रायः बेड खाली हुन्थे । नागरिकको विश्वास जित्न धेरै प्रयत्न ग¥यौं, जसले नागरिकलाई आकर्षित गर्दै लग्यो । अहिले त बेड पाउनै मुस्किल छ”, उनले स्मरण गरे, “त्यसको मुख्य कारण सरकारी नीति, गुणस्तरीय सेवा र जटिल अवस्थामा पनि सहजरुपमा काम गर्ने हामीजस्ता चिकित्सक नै हौँ ।”

अनुभव र सिकाइ

चिकित्सा क्षेत्रमा डाइग्नोसिस अर्थात् रोगको पहिचान सबैभन्दा जटिल र महत्वपूर्ण विषय भएको बताउनुहुने डा.पण्डित त्यसमा आफू नेतृत्वको टिमले प्रदर्शन गरेको सफलताले नै जनकपुरलाई प्रसूति सेवाको ‘हब’ बनाउन सहज धारणा राखे । “सेवा अवधिमा १० हजार पटक शल्यक्रिया गरेको हुँदा, तर त्यसमा पनि २० देखि २५ वटा जटिल बिरामीलाई बचाउन सफल भएको क्षणले मलाई हरक्षण सेवामा खटिन ऊर्जा दिइरहन्छ”, उनले भने । 

डाक्टरका रुपमा सबैभन्दा आनन्द कति बेला आउँदो रहेछ? हामीले सोधेको प्रश्नमा डा .पण्डितले भने, “खोइ के हुने हो भन्दै अपरेसन थिएटर पसेको डाक्टरको टोली सफल भए फर्केको क्षण सबैभन्दा आनन्द दिने खालको हुन्छ, बिरामी र उनीहरुका आफन्तले पनि धन्यवाद दिनुहुन्छ ।”

उनका अनुसार ‘युट्राइन इन्भर्सन’ अर्थात् बच्चा जन्मिएपछि पाठेघर उल्टिने समस्यालाई जटिल मानिन्छ । त्यस्तो बेला बिरामीलाई अर्को ठाउँमा रेफर गर्ने विकल्प पनि रहँदैन । त्यसैले तत्काल सही उपचार नपाएमा अत्यधिक रक्तस्रावका कारण आमाको ज्यान जान्छ ।  यस्ता कैयन जटिल केसमा  सफलता प्राप्त गर्दा आफ्नो अध्ययन, सिकाइ र जीवनको लक्ष्य नै सफल भएको अनुभूति हुने गरेको डा पण्डितको भनाइ छ । बच्चा पेटमा भएका बेला ब्लडप्रेसरका कारण कम्पन हुने समस्या र गर्भपतनको बेला पाठेघरमा प्वाल परेको समस्यालाई पनि सफलतापूर्वक निदान गरेको परिघटनाले थप जिम्मेवार बनाउने गरेको डा. पण्डितको भनाइ छ ।

डा.पण्डित अहिलेसम्मको अनुभव र सिकाइ अब सोही अस्पतालको श्री वृद्धिमा प्रयोग गर्ने योजनामा छन् । “म निर्देशकको रुपमा आएपछि मुटुरोग सेवा सुरु गरिसकेका छौँ । अब चाँडै एमआरआई, क्याथ ल्याब, न्यूरो सर्जरी, क्यान्सरको सेवा सुरु गर्ने तयारीमा छौँ । त्यसबाहेक यहाँको फोहोर व्यवस्थापनका लागि नागरिक र पूर्वाधार निर्माणका लागि सरकारले सक्दो सहयोग गरेमा गुणस्तरीय सेवा दिन हामी कटिबद्ध छौँ”, उनले योजना सुनाए ।

समस्या के छ ?

मधेस जनसङ्ख्याको हिसाबले ठूलो र सबैभन्दा बढी जन्मदर भएको प्रदेश पनि हो । त्यस हिसाबले यहाँ पर्याप्त सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधार हुनु आवश्यक छ । मुलुकमा सङ्घीयता आएपछि मधेसका दुई ठाउँमा सीमित प्रसूति शल्यक्रिया सुविधा सबैजसो मुख्य अस्पतालमा पुगे पनि त्यसलाई सुविधासम्पन्न बनाउन जरुरी रहेको डा पण्डितको भनाइ छ ।  

त्यस्तै पाँच वर्ष पहिले यस प्रदेशमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर पाँच प्रतिशतभन्दा कम थियो । त्यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षित प्रसूति सेवाको पहुँच नपुगेको सङ्केत हो । तर सङ्घीयतापछिका वर्षमा सुरक्षित प्रसूति सेवा पुगेकै कारण देशको मातृ मुत्युदरप्रति १० लाखमा एक सय ५१ हुँदा मधेसमा भने एक सय ४२ हुनु सुखद पक्ष भएको डा. पण्डितले बताए । 

डा. पण्डितका अनुसार लिङ्ग पहिचान गरी हुने गर्भपतन यहाँको अर्को डरलाग्दो समस्या हो । “गर्भपतनले कानुनी मान्यता नपाउनुभन्दा अघि महिलाले अकालमा ज्यान गुमाउनुपर्थ्यो। गर्भपतनको अधिकार पाएपछि भने ‘सेक्स सेलेक्टिभ एबोर्सन’ बढ्दै गएको छ । परिणामस्वरुप छोरीहरुले गर्भमै तुहिनुपर्ने अवस्था छ । त्यसै कारण त मधेसमा एक सय जना महिलामा एक सय १८ पुरुष छन्”, डा. पण्डितले भने । उनका अनुसार धनुषाको अवस्था झन् विकराल छ । यस जिल्लामा एक सय महिलामा एकसय ३६ पुरुष छन् । अल्ट्रासाउन्डबाट लिङ्ग पहिचान गरेर भ्रूण हत्या समयमै रोक्न नसकेमा लैङ्गिक सन्तुलनमा गम्भीर समस्या आउने छ ।

डा. पण्डित चिकित्सकको भूमिकाका कारण निम्तिने अविश्वासको सङ्कट पनि समस्याका रुपमा रहेको धारणा राखे । त्यसैले उनी आवश्यक नभएको अवस्थामा पनि पैसाकै लागि डाक्टरले शल्यक्रिया गर्ने गरेको आरोप चिर्नुपर्ने आवश्यकता औँल्याए ।

 रासस  

Tags: