post-slider post-slider

ओखलढुङ्गामा शिशुको मृत्यु प्रकरण: चिकित्सकसँग ४८ घण्टे स्पष्टीकरणसहित तीन माग

Image

ओखलढुङ्गा ।  उपचारको क्रममा ५३ दिने शिशुको ज्यान गएपछि शनिवार दिनभर ओखलढुङ्गा सामुदायिक अस्पताल (मिसन) मा  तनाव उत्पन्न भयो । शिशुका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीका कारण शिशुले ज्यान गुमाएको भन्दै विरोध जनाएका हुन् ।  शिशुको आफन्तले शव बुझ्न समेत अस्वीकार गरे । 

मृतकका आफन्तले अस्पतालको निर्देशकले तुरुन्तै राजीनामा दिनुपर्ने, आकस्मिक कक्षमा कार्यरत चिकित्सकहरूमाथि छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने, अस्पतालले लिखित क्षमायाचना गर्नुपर्ने लगायतका माग राखेर  विरोध जनाएका थिए । यस प्रकरणमा उक्त समयमा आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट प्रकाश कटुवाललाई ४८ घण्टे लिखित स्पष्टीकरण सोधिएको छ । कटुवाललाई आन्तरिक छानबिन व्यवस्थापन समितिले किन कारबाही नगर्ने ? भनेर लिखित रूपमै स्पष्टीकरण मागेको अस्पतालका निर्देशक डा.रोशन खरेलले बताए । 

अस्पतालका डा जोन प्याजेटको संयोजकत्वमा चार सदस्यीय आन्तरिक छानबिन व्यवस्थापन समितिको गठन गरी कटुवाल सँग लिखित स्पष्टीकरण मागेको निर्देशक खरेलको भनाई छ । सिद्धिचरण नगरपालिका–५ का डोमप्रसाद दाहालकी ५३ दिनकी छोरी रियाना दाहालको उपचारका क्रममा शुक्रवार राती ९ः४५ बजे अस्पतालमा ज्यान गएको थियो । पिसाब रोकिएर सिकिस्त बिरामी भएपछि शुक्रवार आफन्तले बालिकालाई इमर्जेन्सीमा उपचारका लागी ल्याइएको  थियो । 

इमर्जेन्सी वार्डमा रहेका चिकित्सकले शिशुलाई सामान्य चेकजाँच पनि नगरी बहिरङ्ग विभाग तर्फ पठाएको शिशुका बुबा डोम प्रसाद दाहालको भनाइ छ । बहिरङ्ग विभागमा लामो समय सम्म लाइनमा बसेर बच्चाको चेक जाँच गर्दा विभागका चिकित्सकले पुनः आकस्मिक कक्षमै लगेर उपचार गराउनु भनेपछि आकस्मिक कक्षमा लगिएको दाहालले बताए । ‘ दोस्रो पटक इमर्जेन्सी कक्षमा पुर्याउँदा बच्चाको श्वासप्रश्वासमा गम्भीर समस्या भइसकेको थियो’ दाहालका आफन्त देवकुमार दाहालले बताए । 

बालिकालाई उपचारका लागि समयमै अस्पताल ल्याइएको भए पनि अस्पतालको लापरबाहीका कारण ज्यान गएको दाहालको भनाइ छ । 

Tags: