उत्तरी गाजामा इजरेलद्वारा निरन्तर बम हमला, अस्पताल पनि 'जोखिममा'
इजरेलले उत्तरी गाजामा निरन्तर बम आक्रमण गरिरहेको छ र गाजा सिटीस्थित एउटा महत्त्वपूर्ण अस्पतालनजिक चर्को गोलाबारी भइरहेको छ।
प्यालेस्टिनी रेड क्रेसन्टले त्यहाँको अल कुद्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भपरहेका बताएको छ।
इजरेलले डाक्टरहरूलाई त्यहाँबाट अन्यत्र जान भनेको छ।
अस्पतालका कर्मचारीहरूले त्यहाँबाट डाक्टर तथा उपचाररत बिरामीहरूलाई अन्त लैजाने कार्य असम्भव भएको बताएका छन्।
सिरिया र लेबननमा पनि आक्रमण
इजरेली सेनाले सिरिया र लेबननस्थित विभिन्न स्थानमा आक्रमण गरिएको बताएको छ। ती देशहरूबाट भएका रकेट हमलाको जबाफमा आफूले प्रत्याक्रमण गरेको इजरेलको दाबी छ।
इजरेली डिफेन्स फोर्सेसका अनुसार एउटा इजरेली लडाकु विमानले सिरियाली सीमाभित्र रहेको रकेट प्रक्षेपकहरूलाई लक्ष्य बनाई हमला गरिएको हो।
आईडीएफका अनुसार सिरियाबाट प्रहार गरिएका रकेटहरू खुला क्षेत्रमा खसेका थिए र त्यसबाट कुनै क्षति वा कोही हताहत भएको छैन।
इजरेली सेनाले लेबननमा रहेका हिज्बुल्लाह समूहले प्रयोग गरेका ठाउँहरूमा पनि हमला गरिएको जनाएको छ।
सुरक्षा परिषद्को आकस्मिक बैठक
गाजामा विद्यमान मानवीय सङ्कटको अवस्थाका सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सोमवार आपत्कालीन बैठक बस्ने भएको छ।
प्यालेस्टिनी क्षेत्रमा इजरेलले स्थल सैन्य कार्बाहीलाई विस्तार गरेपछि यूएईले त्यस्तो बैठकको लागि आग्रह गरेको थियो।
प्यालेस्टिनीहरूलाई राहत सामग्री उपलब्ध गराइरहेको राष्ट्रसङ्घीय निकायले पनि बैठकका क्रममा सुरक्षा परिषद्ले त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि बताइएको छ।
शनिवार बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अन्तर्राष्ट्रिय समुदायको समर्थनप्राप्त अति जरुरी मानवीय उद्धारका लागि आवश्यक विरामको साटो इजरेलले आफ्नो सैन्य कार्बाहीलाई अझ बढाएकोमा खेद व्यक्त गरेका थिए।
युद्धविराम गर्ने प्रस्तावमा कहिले रुस त कहिले अमेरिकाले भीटो प्रयोग गरेका कारण सहमति जुटाउने प्रयासमा सुरक्षा परिषद् अहिलेसम्म चार पटक असफल भइसकेको छ।
गाजास्थित खाद्यान्न गोदाममा लुटपाट
गाजामा संयुक्त राष्ट्रसङ्घले वितरण गर्न अन्न भण्डारण गरेर राखेका गोदामहरूमा हजारौँ मानिसहरूले लुटपाट गरेका छन्।
राष्ट्रसङ्घले उक्त घटनालाई "सुव्यवस्था भङ्ग हुन लागेको चिन्ताजनक सङ्केत" भनेको छ।
प्यालेस्टिनीहरूका लागि राहत वितरण गर्ने राष्ट्रसङ्घीय निकायका प्रमुखका अनुसार ती गोदामबाट मानिसहरूले पिठो, गहुँ र साबुनजस्ता सामान लगेका छन्।
मानिसहरू "निकै कठिन अवस्थामा रहेकाले" त्यस्तो लुटपाट हुन सक्ने आकलन पहिल्यै गरिएको राष्ट्रसङ्घीय विश्व खाद्यान्न कार्यक्रम डब्ल्यूएफपीकी एक प्रवक्ताले बताएकी छन्।
"मुख्य कुरा के हो भने मानिसहरू निराश छन्, उनीहरू भोकाएका छन्," अबीर इतेफाले भनिन्।
राष्ट्रसङ्घको गोदामबाट खाद्यान्न लिएर गएकाका केही विस्थापित मानिसहरूले समाचारसंस्था एफएपीलाई आफूसँग "पिठो, राहत, पानी र शौचालय केही पनि उपलब्ध नभएको" बताएका छन्।
इजरेलले गाजामा हमासलाई लक्ष्य गर्दै आक्रमणलाई अझ सघन बनाएको बेला उक्त घटना भएको हो।
राष्ट्रसङ्घका अनुसार गाजा स्ट्रिपबाट २४ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने हजारौँ भवनहरू ध्वस्त भएका छन्।
गत अक्टोबर ७ मा हमास समूहका लडाकुहरूले इजरेलमा अप्रत्याशित रूपमा अभूतपूर्व आक्रमण गर्दा १,४०० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो। उक्त समूहले २३० जनालाई बन्धन बनाएको छ।
दागेस्तानको विमानस्थलमा इजरेलविरोधी प्रदर्शन
यसैबीच, इजरेलले दागेस्तान रुसी गणतन्त्रस्थित एक विमानस्थलमा तेल अभिभबाट आएको बताइएको एक विमान अवतरण गरेपछि क्रुद्ध भिडले जबर्जस्ती त्यहाँ प्रवेश गरेको घटनामा यहुदीहरूको सुरक्षा गर्न रुसलाई आग्रह गरेको छ।
दागेस्तान रुसी गणतन्त्रका अधिकारीहरूले विमानस्थलको रनवे र टर्मिनल भवनहरूमा जबर्जस्ती प्रवेश गरेका करिब साठी जनालाई पक्राउ गरिएको जनाएका छन्। दागेस्तानका गभर्नरले ति प्रदर्शनकारीहरूको व्यवहारलाई निन्दा गरेका छन्।
उक्त घटनामा करिब बीसजना घाइते भएको बताइएको छ।
बीबीसी