post-slider post-slider

आवश्यकता अनुसार जनशक्ति नपाइने हो कि भन्ने चिन्ता बढेको छ: स्वास्थ्यसचिव पोखरेल

Image

चितवन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाइ हुनुपर्ने बताएका छन्।

भरतपुर अस्पतालको आज  अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भोलिका दिनमा आवश्यकता अनुसारका दरबन्दी सिर्जना गर्दै जाँदा त्यो दरबन्दीमा जनशक्ति नपाइने हो कि भन्ने चिन्ता रहेको बताएका हुन्।

आवश्यकताका आधारमा चिकित्सा शिक्षा आयोगले पढाएका विषयलाई स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर स्वास्थ्यसम्बन्धी विषय पढाइदिओस् भन्ने आफूहरुको मान्यता रहेको उनले बताए। स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभाव हुनसक्ने भन्दै उनले स्वदेशमै स्वास्थ्यका जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

सचिव डा पोखरेलले चिकित्सा शिक्षा ऐन संशोधन राजनीति विषय भएको भन्दै चिकित्सा शिक्षा आयोग, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री बसेर छलफल गर्नुपर्ने बताए। चिकित्सा शिक्षा ऐनमा केही परिवर्तन गर्नुपर्छ भन्ने कुरा आएको भन्दै उनले भने, ‘स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीको पनि परिवर्तन गर्नुपर्छ भन्ने चाहना छ।’

फरक प्रसङ्गमा उनले स्वास्थ्य बीमा निजी अस्पतालमा समेत सञ्चालन गर्न कोपेमेन्ट (बिरामीले समेत केही रकम तिर्ने गरी) जानुपर्ने बताए। उनले भने, ‘स्वास्थ्य बीमा नेपाल सरकारको कार्यक्रम हो, निजीले लिने होइन।

उनले हालकै अवस्थामा बीमा निजीलाई दिन नहुने भन्दै बीमामा को–पेमेन्टको व्यवस्था गरेर, निजीमा एउटा को–पेमेन्ट र सरकारीले अर्को को–पेन्टको हिसाबले चलाउनुपर्छ भन्ने मान्यता रहेको बताए। यही आधारमा कार्यविधि परिवर्तन हुँदै गरेको उनको भनाइ छ।

सचिव पोखरेलले आजै भरतपुर अस्पतालको अनुगमन गरे। सो क्रममा सचिव डा पोखरेलले कतिपय समस्या नीतिगत भएकाले नीति परिवर्तनका लागि सबैले दबाब दिनुपर्ने बताए।

उनले भरतपुर अस्पतालको ओएनएम सर्भेको फाइल अगाडि बढेकाले छिट्टै स्वीकृत हुने प्रक्रियामा रहेको बताए। उनले अस्पतालको आम्दानी अस्पतालको स्तरोन्नति र कर्मचारीको सेवा सुविधामा खर्च गर्नुपर्ने बताए।

उनले अस्पताल विकास समिति नियुक्ति कर्मचारीको सेवा सुविधा समितिले निर्णय गरेर आवश्यकता अनुसार थप गर्दै जानुपर्ने राय दिए। सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, निवर्तमान अध्यक्ष डा. भोजराज अधिकारी, अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेललगायत चिकित्सक, नर्स र कर्मचारीले अस्पतालका समस्याका बारेमा अवगत गराएका थिए। 

रासस

Tags: