post-slider post-slider

दिल्लीमा वायु प्रदूषण बढ्यो, 'सबैभन्दा खराब अवस्था' आउनै बाँकी रहेको चेतावनी

Image

काठमाडौं। भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन्।

वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ। तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ।

दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ। सरकारी तथ्याङ्कअनुसार सोमवार त्यहाँको पीएम २.५ को स्तर ३०६ थियो।

 

पीएम २.५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो। यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम मानिन्छ भने २०१ देखि ३०० सम्म हुनुलाई कमजोर। त्यसभन्दा बढी मात्रामा पीएम २.५ हुनु भनेको वायुको गुणस्तर "अत्यन्त कमजोर" हुनु हो भने ५०० भन्दा माथिको मात्रालाई "चरम" मानिन्छ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीका अनुसार दिल्लीको वायुको गुणस्तर आगामी केही दिन अझै "अत्यन्त कमजोर" रहने अपेक्षा गरिएको छ।

त्यहाँका बासिन्दाहरूले पनि विशेषतः बिहानीपख तुवाँलोबारे गुनासो गर्ने गरेका छन्।

"दिल्लीको प्रदूषणको स्तर विगत १०-१२ दिनदेखि बढिरहेको जस्तो मलाई लागेको छ। हामी हाम्रो आँखामा त्यो महसुस गर्न सक्छौँ," एक साइक्लिस्टले एएनआई समाचार संस्थालाई बताए।

केही स्थानीयहरूले अहिले दिल्लीको प्रदूषण चक्रको सुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन्।

दिल्ली राज्य सरकारका पर्यावरणमन्त्री गोपाल राईका अनुसार बढ्दो प्रदूषणको प्रभाव सामना गर्नका लागि ग्रेडेड रिस्पन्स एक्शन प्लान भनिएको एक रणनीतिको दोस्रो चरणको कार्यान्वयन गरिएको छ।

यस रणनीतिअनुसार दिल्ली मेट्रो रेल र विद्युतीय बससमेतका सार्वजनिक यातायातका सबै सवारीसाधनहरूलाई धेरै पटक सञ्चालन हुन निर्देशन दिइएको छ ता कि सहरमा सवारी साधनबाट हुने उत्सर्जन कम होस्।

हालसम्म पहिचान गरिएका १३ ओटा प्रदूषणका हटस्पटहरूका अतिरिक्त प्रदूषणको स्तर बढी रेकर्ड गरिएका थप आठ स्थानमा पनि विशेष टोली खटाइने मन्त्री राईले जानकारी दिए।

उनले भने, "यी टोलीहरू बायोमास बाल्ने काम, धुलो र गाडीको भिडभाडलगायत प्रदूषणको स्रोतमा केन्द्रित हुनेछन्।"

सवारीसाधन र उद्योगधन्दाबाट निस्कने धुवाँ, धुलो र मौसमी चक्रलगायत कारक तत्त्वहरूको मिश्रणका कारण दिल्ली संसारको सबैभन्दा प्रदूषित राजधानी बनेको छ।

हरेक वर्ष यस समयमा हावाको गति कम हुने हुँदा त्यसले वायुमण्डलको तल्लो भागमा नै प्रदूषणका कारकहरूलाई रोकेर राख्छ।

बालीनाली थन्क्याएर खेतबारीमै बाँकी रहेको अवशेष बाल्ने प्रवृत्ति पनि प्रदूषणको एक प्रमुख कारण हो तर दिल्लीनजिकका क्षेत्रहरूमा यसले अझै गति लिइसकेको छैन। आगामी दिनमा यो क्रम बढ्ने अपेक्षा गरिएको छ।

बाली लगाउने आगामी चक्रका लागि खेतबारी खाली गर्न पन्जाब, हरियाणा र उत्तर प्रदेशको पश्चिमी क्षेत्रका किसानहरूले बालीको अवशेष जलाउने गरेका छन्।

यी राज्यहरूबाट दिल्लीतर्फ बहने उत्तरपश्चिमी हावाको गति बढ्दै जाँदा त्यसले राजधानी सहरमा धुवाँ भित्र्याउने वायु गुणस्तर पूर्वानुमान संस्था सफरले जनाएको छ।

हुन त भारतको प्रदूषणको समस्या दिल्लीमा मात्र सीमित छैन। त्यहाँका उत्तरी सहरहरू संसारभरका प्रदूषित सहरहरूको सूचीमा नियमितजसो अग्रस्थानमा पर्दछन्।

गत साता भारतको वित्तीय राजधानी मुम्बईमा वायु गुणस्तर कम भएको मापन गरिएको थियो। त्यहाँको प्रदूषणको स्तरले यस महिना धेरै पटक दिल्लीलाई जितिसकेको छ।

वर्षा हुने क्रम सकिन लागेकाले र निर्माण कार्यले त्यहाँ प्रदूषण बढेको अधिकारीहरूले बताएका छन्।

 बीबीसी

Tags: