post-slider post-slider

एचपिभी खोप: महिला स्वास्थ्यका लागि ‘अमृत’

Image

काठमाडौं । पाठेघरको मुखको क्यान्सर विश्वमा भयावह अवस्थामा फैलिरहेको छ। हाल विश्वमा हरेक वर्ष ५ लाख १० हजार पाठेघरको मुखको क्यान्सर भएका नयाँ बिरामी थपिन्छन् र यसका कारण २ लाख ८८ हजारको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक छ।

डब्लुएचओका अनुसार हाल नेपालमा पाठेघरको मुखको क्यान्सर हरेक वर्ष ३ हजार भन्दा माथि नयाँ बिरामी थपिन्छन् भने त्यसबाट १ हजार ८ सयको मृत्यु हुने गरेको छ।  

पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा  भाइरस (एचपिभी) संक्रमणको कारणले हुन्छ। त्यो संक्रमणबाट क्यान्सरमा परिणत हुन करिब १० देखि २० वर्ष लाग्ने विज्ञहरु बताउँछन्।

पाठेघरको मुखको क्यान्सर सजिलै पत्ता लगाउन सकिन्छ। त्यसैले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरेर क्यान्सर हुनुअघि नै थाहा पाउन सकिन्छ। समयमा पत्ता लागे क्यान्सरबाट बच्न सकिन्छ। र, रोकथाम पनि गर्न सकिन्छ।  यसको रोकथामका लागी ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ। 

एचपिभी भ्याक्सिनले केही प्रकारका मानव प्यारापिटमा भाइरसबाट जोगाउन मद्दत गरेको देखिएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा प्रकाशित एक प्रतिवेदनले महिलामा हुने पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न एचपिभी  खोप बालिकाका लागि अनिवार्य घोषणा गरिएको छ। किशोरीहरूको लागि एचपिभी खोप एचपिभी भाइरसविरुद्ध सुरक्षा गर्ने विकल्पको रुपमा प्रतिवेदनमा  रहेको उल्लेख गरिएको छ। 

नेपालमा आजबाट एचपिभी  भ्याक्सिन लगाउन सुरुवात गरिएको छ। यो दोस्रो चरणको खोप अभियान हो। नेपालमा पहिलो २०७२÷७३ मा पहिलोपटक एचपिभि खोपको पाइलटिङ कार्यक्रम गरिएको थियो। त्यसबेला प्रत्येक वर्ष करिब ६ हजार महिला पाठेघरको क्यान्सरका कारण अकालमा मृत्युको मुखमा पुग्ने गर्दथे। 

क्यान्सरले मृत्यु हुनेमा दोस्रो स्थानमा पाठेघर मुखको क्यान्सर पर्दछ। त्यसका कारण एचपिभि खोप अत्यावश्यक देखिएकाले त्यसबेला पाइलटिङ गरिएको पुर्व खोप शाखा प्रमुख मुकुन्द गौतमले बताए।

 त्यसबेला  ‘अपरेशनल मोडल’ मा कास्की र चितवनमा पाइलटिङ गरिएको उनले जानकारी दिए। उनका अनुसार ‘अपरेशनल मोडल’ भनेको खोप चलाउँदा खोप केन्द्र वा विश्वसनीय संस्थाबाट दिइन्छ। त्यसबेला स्कुल जाने उमेरका ९ देखि १३ वर्षका बालिकालाई स्कुलमा नै खोप दिइएको थियो। 

खोपको उपलब्धता, अनुगमन र भौगोलिक हिसाबले पनि तराईमा चितवन र पहाडमा कास्की छनोट गरिएको उनले जानकारी दिए। त्यसबेला पनि गाभि, विश्व स्वास्थ्य संगठन र युनिसेफको सहयोगमा ल्याइएको थियो। परिवार कल्याण महाशाखा र खोप शाखाको समन्वयमा खोप अभियान सञ्चालन भएको थियो। 

उनका अनुसार कास्कीका ९ देखि १३ बर्ष उमेर समुहका १० हजार ९३७ र चितवनका १४ हजार ३५ जना गरि २४ हजार २४ जनालाई पूर्ण खोप लगाइएको थियो। पहिलो डोजमा गाडासिल कम्पनीको खोप लगाइएको थियो भने दोस्रो डोजमा सेकोलिन कम्पनीको खोप लगाइएको थियो। 

अहिले सात प्रदेशका सात अस्पतालबाट खोप लगाउन सुरुवात गरिएको छ। अहिले १४ वर्ष पूरा भएका तर १५ वर्ष ननाघेका बालबालिकालाई खोप लगाउन लागिएको हो। सरकारले अहिले २० हजार डोज खोप भित्र्याएको छ। करिब ९ हजार किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ। 

एचपिभी खोपको सिफारिस किन गरिन्छ? 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा प्रकाशित प्रतिवेदन अनुसार ११ देखि १२ वर्ष, १३ देखि २६ वर्षका महिलालाई एचपिभी खोप दिन सकिन्छ। त्यस्तै एचपिभी  खोप ९ वर्षको उमेरमा पनि दिन सिफारिस गरिन्छ। अनुसन्धानका अनुसार ११ देखि १२ वर्षका बालिकाहरूलाई एचपिभी खोपले एचपिभी बाट हुने क्यान्सरको सम्भावना कम गर्न मद्दत गर्न सक्छ।

एचपिभी भिवालेन्ट भ्याक्सिन एचपिभी १६ र १८ बाट जोगाउन लगाइन्छ। एचपिभी क्वाड्रिभ्यालेन्ट भ्याक्सिन एचपिभीको प्रकार ६, ११, १६, र १८ बाट जोगाउन र एचपिभी ९ भ्यालेन्ट खोपले एचपिभीको प्रकार ६, ११, १६, १८, ३१, ३३, ४५, ५२, र ५८ विरुद्ध सुरक्षा गर्छ।

यो खोप वास्तवमा ९ देखि १५ भित्र लगाउनु उपयुक्त रहेको उनले बताए। उनका अनुसार यो उमेर समुहका बालिकाहरू  ‘सेक्सुअली एक्सपोजर’ नहुने भएकाले त्यसबेला लगाउँदा प्रभावकारी हुन्छ। 

अहिलेको अवस्थामा हेर्ने हो भने नसर्ने रोग क्यान्सरबाट जोगाउने महत्वपुर्ण खोप हो। सरकारले सबै जिल्लामा यो खोप पु¥याउनुपर्छ। 

उनले भने, ‘अन्य खोपको तुलनामा यो खोप अलि महंगो हो तर महिलाको लागि अमृत हो। अहिले निजीमा पाँच हजारमा पाइन्छ। तर पनि धेरै मानिसमा यो खोपबारे जानकारी नै छैन।’ 

उनका अनुसार महिलाका लागी भनेर ल्याइएका विभिन्न कार्यक्रममध्ये यो उत्तम कार्य हो। महिला स्वास्थ्यका लागि योभन्दा अमृत कार्य केहि हुन सक्दैन। किनभने यो क्यान्सर मुख्यतयः आर्थिक हिसाबले कमजोर भएका व्यक्तिलाई हुन्छ। यो सरसफाइसँग जोडिएको विषय हो। एक महिलाले यौनांगको सरसफाई गर्नुपर्ने हुन्छ भने अर्को पुरुषले पनि सरसफाई नगर्दा महिलालाई नै समस्या हुन्छ। 

पिछडिएको दुर्गमका क्षेत्रका महिला जसलाई मेरो पाठेघरमा समस्या हुनसक्छ समय समयमा परिक्षण गर्नुपर्छ भन्ने चेतना नै नभएका महिलाहरुमा यो खोप पुग्नु भनेको अमृत कार्यक्रम रहेको उनले बताए।

यसको जोखिम कसलाई बढी?

ह्युमन प्यापिलोमा भाइरसको जोखिम एकभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क गर्ने, प्रतिरक्षा प्रणालीको कमजोरी, अत्यधिक मदिरा सेवन गर्ने र पुरुषहरूमा उमेरसँगै एचपिभीको जोखिम बढ्छ। 

एचपिभी  खोप लगाएपछिको साइड इफेक्ट

एचपिभी  खोप लगाएपछि सामान्य असुविधाहरू जस्तै दुखाइ, सुन्निने र इन्जेक्सन साइटमा छालाको रातोपन देखिन सक्छ। यी समस्या २ देखि ३ दिनमा स्वतः निको हुन सक्छन्। यदि यो समस्या लामो समयसम्म रहन्छ वा अन्य कुनै शारीरिक समस्या भए डाक्टरलाई देखाउनुपर्छ।

Tags: