post-slider post-slider

सुदूरबाट स्वास्थ्य सामग्रीसहित चिकित्सक टोली खटियो

Image

कञ्चनपुर। जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई स्वास्थ्य सामग्रीसहित सुदूरपश्चिम प्रदेशबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटिएको छ।

भूकम्प लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार रू एक करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार आज बिहान सुर्खेत पुगेर टोलीले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

उनका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका वरिष्ठ अर्थोपेडिक डा शिवराज पनेरुको नेतृत्वमा चार सदस्य स्वास्थ्यकर्मीको टोली खटिएको छ। ‘आज कर्णाली पुगेर मन्त्रीलाई रू साढे तीन लाख बढीको औषधि र विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्‍यौँ” जोशीले भने, ‘प्रभावित क्षेत्रमा खटिनका लागि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय भइरहेको छ।’

डा. पनेरु नेतृत्वको चार सदस्य टोलीमा निर्देशनालयका विपद् सम्पर्क व्यक्ति जोशी, गेटा मेडिकल कलेजका डा गणेश फुलारा र स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामी छन्। ‘आवश्यकता अनुसार प्रदेशबाट थप स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिने छ’, जोशीले भने, ‘पहिलो चरणमा हामी खटिएका छौँ।’

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन्।

भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घर गोठलगायत भौतिक संरचनामा क्षति पुगेको छ।

Tags: