post-slider post-slider

बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने

Image

लुम्बिनी । सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीन सय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एक सय शय्यालाई विस्तार गरी तीन सय शय्या स्तरोन्नति गरिने भएको हो ।

यसका लागि बिहीबार दुई सय शय्याको भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्ने जनाइएको छ । अस्पतालको २५ औँ वार्षिकोत्सवको अवसरमा थप दुई सय शय्या भवन शिलान्यास तथा शैक्षिक कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्ने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए । 

उनले हाल एक सय शय्याको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि गत जेठमा छ सदस्यीय टोलीले जापान भ्रमण गरेकामा अस्पताल भवन निर्माणको वातावरण बनेको बताए ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने गरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगरप्रमुख पाण्डेयले जानकारी दिए । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्रप्रसाद बस्यालले बताए । 

तीन विषयमा ४०(४० जनाका दरले एक सय २० विद्यार्थीले यसवर्ष अध्ययन गर्न पाउने उनको भनाइ थियो । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको उनले बताए । कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिलकुमार दास र मुख्य प्रशासक सुरेश रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउँदै जाने बताए। 

रासस 

Tags: