डेंगुको जोखिममा को पर्छन् र यसबाट कसरी बच्ने ?
डेंगु लामखुट्टेबाट सर्ने रोग हो जुन विश्वको ट्रपिकल तथा सब ट्रपिकल क्षेत्रमा देखा पर्दछ । विश्वका हरेक वर्ष लाखौ मानिसमा डेंगु सङ्क्रमण हुन्छ ।
डेंगु दक्षिणपूर्वी एसिया, पश्चिमी प्रशान्त महासागरीय टापुहरू, ल्याटिन अमेरिका र अफ्रिकामा सबैभन्दा बढी पाइन्छ । तर यो रोग युरोप र संयुक्त राज्य अमेरिकाको दक्षिणी भागहरूमा पनि फैलिरहेको छ ।
हलुका डेंगुले उच्च ज्वरो र फ्लू जस्ता लक्षणहरू निम्त्याउँछ ।
डेंगु को गम्भीर रूप, जसलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ। यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट मृत्यु पनि निम्त्याउन सक्छ ।
डेंगु कसरी सर्छ ?
डेंगु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ। लामखुट्टेले डेंगु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि अरू कसैलाई टोक्छ, जसले गर्दा उनीहरू संक्रमित हुन्छन् ।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ ।
डेंगु संक्रमण कसरी हुन्छ ?
डेंगु भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन्। एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस। यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ ।
लामखुट्टेले डेंगु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।
डेंगु चार प्रकारका डेंगु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेंगु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेंगु सर्छ ।
डेंगु ज्वरोबाट निको भएपछि, संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेंगु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन। यसको अर्थ भविष्यमा अन्य तीन भाइरस प्रकारहरू मध्ये एकद्वारा फेरी संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ ।
दोस्रो, तेस्रो वा चौथो पटक डेंगु ज्वरो आएमा गम्भीर डेंगु ज्वरो आउने खतरा बढ्छ। त्यसैले हामी डेंगु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।
डेंगु ज्वरो आएको कसरी थाहा पाउन सकिन्छ?
डेंगु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ । यसमा नसाबाट लिइएको रगतको नमूना लिइन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाइन्छ । रगत परीक्षणबाट तपाई डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ ।
डेंगु गर्भावस्थामा लागेमा कस्तो जटिलता हुनसक्छ ?
यदि गर्भवती हुदाँ डेंगु ज्वरो भए गर्भपतन, कम वजन वा समय भन्दा पहिले बच्चा जन्मिने जस्ता समस्या हुन सक्छ । त्यसैले गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेंगुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।
डेंगुका लक्षणहरू
अधिकांश डेंगुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन ।
डेंगुको संक्रमण भएका व्यक्तिहरूमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियस सम्म) देखिन्छ । साथै डेंगु संक्रमित व्यक्तिहरूमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन् ।
आँखाको पछाडि (भित्रि) भाग दुख्नु
वाकवाकी लाग्नु
मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु
शरीरका ग्रन्थिहरू सुन्निनु
छाला रातो हुनुका साथै छालामा डाबर आउनु
लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेंगु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।
डेंगुबाट पीडित २० जनामध्ये एक जनामा डेंगुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ ।
डेंगु ज्वरो कहिलेसम्म रहन्छ?
डेंगुका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ । यस पछि धेरै मानिसहरूले ठीक भएको महसुस गर्न थाल्छन्, तर केहीलाई प्राणघातक गम्भीर डेंगु हुन्छ। जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ ।
गम्भीर डेंगु भनेको के हो ?
गम्भीर डेंगुका लक्षणहरू जीवनको लागि खतरा हो । ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेंगुको लक्षण देखिन्छ ।
डेंगु भाइरसका कारण रक्त नलीहरू क्षतिग्रस्त भएको खण्डमा गम्भीर डेंगु हुन्छ ।
गम्भीर डेंगु भएमा रगतमा प्लेटलेट्सको संख्या घट्छ । यसले गर्दा आन्तरिक रक्तस्राव हुनसक्छ र शरीरका अङ्गहरूले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने सम्भावना समेत बढाउँछ ।
डेंगुको गम्भीर ज्वरोको चेतावनी संकेत वा लक्षणहरू चाँडै विकास हुन सक्छ । त्यस्ता संकेतहरु सामान्यतया ज्वरो हटेको पहिलो वा दोस्रो दिन पछि सुरु हुन सक्छ र यी निम्न प्रकारका हुन सक्छन्।
पेट दुख्नु
लगातार बान्ता हुनु
गिजा वा नाकबाट रक्तस्राव हुनु
दिसापिसाब वा बान्तामा रगत देखिनु
सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु
चिडचिडाहट या बेचैनी हुनु
छानामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ
यदि डेंगु लागेको छ वा डेंगुको प्रकोप भएको क्षेत्रमा बसोवास छ भने यी लक्षणहरू मध्ये कुनै पनि अनुभव भएमा तुरुन्तै नजिकको अस्पतालमा जानुपर्छ।
डेंगु ज्वरोको उपचार कसरी गरिन्छ?
डेङ्गु ज्वरोको उपचार गर्ने कुनै खास औषधि हुँदैन ।
यो रोग लागेको खण्डमा हामीले आफ्नो लक्षणहरू व्यवस्थापन गर्नुपर्छ र गम्भीर लक्षणहरु देखा तुरुन्तै डाक्टर कहाँ वा तुरुन्तै आपतकालीन कक्षमा जानुपर्छ ।
डेंगु ज्वरोको लक्षणलाई कसरी व्यवस्थापन गर्ने ?
डेंगु ज्वरोको उपचार गर्ने एक मात्र उपाय भनेको लक्षणको व्यवस्थापन गर्नु हो, जस्तै
प्रशस्त पानी र तरल पदार्थ पिउने
सकेसम्म धेरै आराम गर्ने
ज्वरो नियन्त्रण गर्नका लागि इबुप्रोफेन वा एस्पिरिनको प्रयोग गर्नुहुँदैन। यी औषधीले आन्तरिक रक्तस्राव को खतरा बढाउन सक्छ ।
डेंगु ज्वरोबाट कसरी बच्ने ?
लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेंगु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।
डेंगु भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ जस्तै
घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
लामो बाहुला भएको लुगा लगाउने
घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरू, बाल्टी तथा ब्यारेलहरु हटाउने
हप्तामा कम्तिमा एक पटक घर वरपरको गमलाको प्लेट, फुल दानी, कुलर, खाली कन्टेनरहरू र पुरानो टायरहरूलाई सफा गर्ने
यदि गर्भवती भए सम्भव भएसम्म डेङ्गु को सङ्क्रमण भएको ठाउँमा नजाने
डेंगुबाट बच्नको लागि डेंगुको खोप पनि प्रयोग गर्न सकिन्छ । तर डेंगुको भ्याक्सिन पहिले नै डेंगु भएको व्यक्तिहरुलाई मात्र सिफारिस गरिन्छ।
यसले भविष्यमा डेंगु भाइरसको फरक संस्करणले गर्दा डेंगु लागेको खण्डमा गम्भीर डेंगु (डेंगु हेमोरेजिक फिभर) को जोखिम कम गर्न सक्छ।
विश्व स्वास्थ्य संगठनले डेंगु रोग लागेको क्षेत्रमा डेंगु ज्वरो कम गर्न डेंगुको भ्याक्सिन आफैँमा प्रभावकारी माध्यम नभएको बताएको छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु डेंगु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।