post-slider post-slider

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

Image

बाँके। बाँकेको वैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य फोहर विसर्जन गर्ने मेसिन) सञ्चालन नहुँदा औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या भएको छ । 

स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङ साइटमा फाल्ने गरिएको छ । औषधिजन्य फोहर डम्पिङ साइटमा पठाउँदा जनस्वास्थ्यमा नकारात्मक असर पर्दै गएको वैजनाथ गाउँपालिकाका नागरिक अगुवा पुनितविक्रम शाहले बताउनुभयो । “भएको मेसिन थन्क्याएर फोहर खुलेयाम डम्पिङ साइटमा पठाएर मानव स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ”, उनले भने, “मेसिन सञ्चालन गरेर औषधिजन्य फोहर निर्मूलीकरणमा गाउँपालिकाले चासो दिन जरुरी छ ।”

केन्द्रमा एक वर्ष अघि ग्रामीण गेरुवा जागरण संघले अटोक्लेभ मेसिन सहयोग गरेको थियो । एउटा हुँदाहुँदै लुम्बिनी प्रदेश सरकारले अर्को मेसिन केन्द्रलाई दिए पनि उपयोग हुन सकेको छैन । मेसिनबाट केही समय औषधिजन्य फोहर निर्मूलीकरण हुँदै आए पनि पाँच महिनायता देखि फोहर डम्पिङ साइटमा पठाउने गरिएको हो । 

केन्द्रका निमित्त प्रमुख सिनियर अनमी दुर्गा भण्डारीले एउटा मेसिन बिग्रिएर थन्किएको र प्रदेश सरकारले दिएको नयाँ मेसिन सञ्चालनमा नआएको बताए । केन्द्रसँग बजेट नहुँदा भएका मेसिन सञ्चालन गर्न नसकिएको उनको भनाइ थियो । वैजनाथ ५ का वडाध्यक्ष तथा केन्द्रका सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावतले अस्पतालजन्य फोहर निर्मूलीकरण गर्ने दुई थान अटोेक्लेभ मेसिन थन्क्याएर फोहर ट्क्टरलाई दिन बाध्य भएको बताए । गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्यले अटोक्लेभ मेसिन बिग्रिएर औषधिजन्य फोहर पनि डम्पिङ साइटमा पठाएको हुनसक्ने बताउँदै मेसिन सञ्चालनमा आवश्यक प्रक्रिया सुरु गर्ने जानकारी दिए । 

रासस 

Tags: