post-slider post-slider

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

Image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि हातपात गर्नेलाई तुरुन्त कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। 

भाद्र २७ गते हेटौंडामा चिकित्सकमाथि भएको हातपातको विषयलाई लिएर बिहीबार बिहान प्रधानमन्त्री समक्ष चिकित्सक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले उक्त घटनामा सम्मिलित सबै दोषी कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन्। 

चिकित्सकलाई आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्की, महासचिव डा।सञ्जीव तिवारी लगायतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएका थिए। 

डा. सञ्जीव तिवारीका अनुसार भेटका क्रममा  प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायारामा ल्याउने प्रतिबद्धता जनाएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रहरीलाई निर्देशनसमेत दिइसकेको संघका महासचिव तिवारीले जानकारी दिए। संघले विज्ञप्ति निकाल्दै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न संघले सरकारसँग माग गरेको छ। 

कारबाही नगरिए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य हुने संघले चेतावनी दिएको छ। बुधबार दिउँसो हेटौँडाको सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि  सामूहिक कुटपिट गरेर स्वास्थ्यकर्मीलाई धम्काएका थिए। 

गएको साउन २२ गते एक जना बिरामी डेंगु रोगको लक्षणसहित उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो। उक्त बिरामीलाई थप उपचार आवश्यक भएको हुनाले २३ गते  चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको थियो। 

उक्त बिरामीको उपचारका क्रममा श्रावण २५ गते मृत्यु भएको थियो। सोही घटनालाई पहिला पनि क्षतिपूर्तिका लागि धम्की दिने गरेको संघले जनाएको छ। 

Tags: