यी महिला जसले परिवार नियोजनको साधन प्रयोग गर्दा निकै दुःख पाए
यी महिला जसले परिवार नियोजनको साधन प्रयोग गर्दा निकै दुःख पाए
चौथो बच्चा पाएपछि ४३ वर्षीया केली प्याट्रिसिया दा लुज दुई वर्षदेखि स्थायी परिवार नियोजन गर्ने प्रक्रियाको पर्खाइमा थिइन्। त्यस बेला ब्राजिलको राजधानी ब्रसिलियाको एउटा सरकारी अस्पतालबाट उनलाई फोन आयो।
फोनमा भनिएको वैकल्पिक व्यवस्था उनलाई आकर्षक लाग्यो।
"डाक्टरहरूले मलाई एउटा लेक्चरमा बोलाए र 'इस्योर'बारे बताए। त्यो उपकरण क्रान्तिकारी भएको, शल्यक्रिया नगरीकनै शरीरभित्र राख्न सकिने र दैनिक कामबाट बिदा नलिइकन गर्न मिल्ने भनियो। मलाई त्यो उपाय राम्रो लाग्यो र मैले तुरुन्तै स्वीकार गरिहाले," उनले भनिन्।
"त्यहाँ एउटा कमी थियो। त्यो उपकरण प्रयोग किन गरेँ होला भन्ने लाग्यो भने राखिसकेपछि परिवर्तन गर्न नमिल्ने बताइयो।"
यदि त्यो उपकरण झिक्नुपर्यो भने पाठेघर नै झिकेर फाल्नुपर्ने भनिएको थियो। उनले कुरा बुझेको जनाउँदै उक्त उपकरण राख्न सहमतिपत्रमा हस्ताक्षर गरिन्।
त्यो लकचदार स्प्रिङजस्तो साधन पाठेघरबाट भित्र एउटा कलमजस्तो मसिनो साधन प्रयोग गरेर छिराइयो।त्यसलाई डाक्टरहरूले फ्यालोपियन ट्यूबका मुख बन्द गर्ने गरी उपकरण जडान गर्छन्।
द ब्रजिलियन फेडेरेसन अफ गाइनेकोलजी एन्ड अब्सटेट्रिक्स एशोसिएशनको परिवार नियोजनसम्बन्धी समितका एक सदस्य कार्लोस पोलिट्यानोका अनुसार त्यही चरणमा पहिलो चुनौती हुन्छ।
उनी भन्छन्, "दक्ष स्वास्थ्यकर्मीले त्यो घुमाउरो उपकरण फ्यालोपियन ट्युबको मुखसँग मिल्ने गरी र कतै प्वाल नपर्नेगरी छिराउनुपर्ने हुन्छ।"
इस्योर उत्पादक कम्पनी बेयरका अनुसार शरीरमा त्यो उपकरण जडान गरेपछि शरीरले त्यसलाई स्वीकार गर्दै जान्छ र बिस्तारै आफैँ घाउ निको हुन्छ। अनि यो उपकरण घुसाएको तीन महिनापछि शुक्रकीट र डिम्बाशयको मिलन हुन त्यसले रोक्छ।
स्थायी दुष्प्रभाव
तर केलीलाई त्यो उपकरण शरीरमा राख्ने बेलादेखि नै दुख्न थाल्यो।
उनी भन्छिन्, "त्यो उपकरण घुसाएपछि मेरो पेटमा समस्या भयो, रगत बग्न थाल्यो, जोर्नीहरूमा दुखाइ भयो र माइग्रेन हुँदा जस्तो गरी नराम्ररी टाउको दुख्यो। त्यसपछि मलाई ढाडको तल्लो भाग दुख्यो र म हिँड्नै नसक्ने भएँ।"
सन् २०१७ मा कैयौँ देशमा त्यो उपकरण लगाएका कारण समस्या देखा परेका महिलाहरूबारे विवरणहरू प्रकाशित हुन थाले। त्यसले नै इस्योरको विश्वव्यापी रूपमा प्रयोग रोकिन थाल्यो।
ब्राजिल, क्यानडा र सम्पूर्ण युरोपेली सङ्घले यो उपकरणको प्रयोगमा रोक लगाए।
संयुक्त राज्य अमेरिकाको 'द फेडरल ड्रग एड्मिनिस्ट्रेशन'ले "ब्ल्याक बक्स" चेतावनीसहित उक्त उपकरण प्रयोग कायम राख्यो । चेतावनीमा भनिएको थियो - गम्भीर दुष्प्रभाव देखिन सक्छ र तीमध्ये केही चाहिँ 'घातक' हुन सक्छन्।
बिक्री ७० प्रतिशतले घटेपछि उत्पादकले सन् २०१८ देखि आफ्नो सामान अमेरिकी बजारबाट फिर्ता लियो र त्यसपछि अन्य देशहरूबाट उक्त उपकरण फिर्ता भयो। अहिले इस्योर विश्वका कुनै पनि ठाउँमा बिक्री गरिँदैन।
तर यो प्रतिबन्धले यो उपकरण आफ्नो शरीरमा लगाइसकेका महिलाहरूको दिनचर्यामा केही परिवर्तन ल्याएन।
इस्योर लगाएका केही महिलामा कुनै समस्या देका परेन। तर केही महिलामा भने दीर्घकालीन समस्या देखिन थाल्यो।
ब्रसिलियाकै ४४ वर्षीया लिलिअन फीटोसा भन्छिन्, "म भेटघाट गर्न रमाउने सक्रिय महिला थिएँ तर मेरो ढाड दुख्न थाल्यो, शरीरका विभिन्न भाग बाउँडिन थाले, रगत बग्न थाल्यो, स्तन र खुट्टा पनि दुख्न थाले। टाउको दुख्न थाल्यो।"
उनका अनुसार त्यसपछि उनमा निकल धातुप्रति एलर्जी पैदा भयो। त्यो उपकरणमा निकल पनि हुन्थ्यो। त्यसले गर्दा उनको जीवनको गुणस्तरमा प्रभाव पर्यो। उनलाई चिलाउने, दुख्ने र नराम्रो खालको गन्ध उत्पन्न हुन थाल्यो जसले गर्दा उनी अरूले केही भन्लान् कि भन्ने दुविधामा पर्न थालिन् र एक्लै बस्न थालिन्।
"हामीलाई भ्रम बेचिएको थियो। यो उपकरण लगाएका महिलाको जीवन कस्तो कठिन बन्छ भन्ने कुरा तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न," उनको गुनासो छ।
केलीको इस्योर जडान गरिएको ब्रसिलियाको मातृ तथा शिशु अस्पतालले बीबीसी न्यूज ब्रसिललाई भनेको छ - त्यस बेला इस्योरलाई ब्राजिलको स्वास्थ्य नियामक निकायले अनुमोदन गरेको थियो र विश्वभरि नै त्यो प्रयोगमा आइसकेको थियो।
उक्त विभागले इस्योर जडान गरिएका महिलाहरूको स्वास्थ्यको निगरानी सरकारी स्वास्थ्य सञ्जालमा गरिन्थ्यो। स्वास्थ्यकर्मीका लागि विशेष स्वास्थ्य निर्देशिका पनि तयार पारिएको थियो।
इस्योर उत्पादक बेयर कम्पनीले पनि आफ्नो उत्पादन सुरक्षित भन्दै प्रतिरक्षा गर्छ।
बीबीसी न्यूज ब्रसिललाई लिखित वक्तव्य दिँदै बेयरले भनेको छ, "इस्योरको सुरक्षा एउटा वैज्ञानिक अध्ययन गर्ने निकायको सक्रिय निगरानीमा छ।"
कम्पनीले भन्यो, "यो तथ्याङ्कमा १० वटा क्लिनिकल अध्ययन र ७० वटा विश्वव्यापी अध्ययन तथा अनुसन्धानकर्ताहरूले गत २० वर्षमा दुई लाख ७० हजार महिलामा गरेको स्वतन्त्र अध्ययन पनि संलग्न छ।"कानुनी लडाइँ
चालीस वर्षीया शेली फ्राजाओको सन् २०२३ मा पाठेघर सँगसँगै पाठेघरको मुख, फ्यालोपिअन ट्यूब र इस्योर उपकरण फालियो।
"त्यो सी-सेक्सन जस्तै पेटको शल्यक्रिया थियो। म त्यसबाट सन्चो हुँदै गर्दा मेरो पेटभित्र एउटा अङ्ग अर्कोसँग टाँसिने हुन थाल्यो र त्यसले ठूलो समस्या उत्पन्न भयो। मेरो पेटको दोस्रो पटक शल्यक्रिया गर्नुपर्यो,” उनी भन्छिन्।
लिलिअनको पनि शेलीको जस्तो शल्यक्रिया हुनै लागेको बेला उनको पाठेघरमा ग्रेड थ्रीको घाउ देखा पर्यो त्यसैले सबभन्दा पहिले त्यसकै उपचार गर्नुपर्यो।
केलीले पाठेघर नफालीकनै उक्त उपकरण निकाल्न चाहेकी थिइन्। तर जटिलता भएपछि पूरै पाठेघर फ्याँक्नुपर्यो।
अस्ट्रेलिया, यूके र अमेरिकामा पनि त्यस्तै समस्यामा परेका महिलाहरूको केस बाहिर आएपछि यी तीन महिलाले बेयरविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन्।
अगस्ट २०२० मा बेययरले अमेरिकामा इस्योरविरुद्ध परेको मुद्दा तह लगाउन १.६ अर्ब डलर खर्च गर्नु पर्यो।
युकेमा इस्योर लगाएपछि उत्पन्न भएको दुखाइ सहिरहेका दुई सय महिलाले बेयरविरुद्ध संयुक्त रूपमा मुद्दा हाल्न तयारी गरिरहेका छन्।
अनि अस्ट्रेलियामा पनि १,००० भन्दा बढी महिलाले यसै वर्ष उक्त उपकरणका कारण पीडा भएको र उच्च मात्रामा रगत बगेको भन्दै मुद्दा हालेका छन्।
बीबीसी न्यूज ब्रसिललाई दिएको एक विज्ञप्तिमा बेयरले आफ्नो उत्पादनको प्रतिरक्षा गर्दै अमेरिकामा भएको कानुनी सम्झौताले व्यापारिक निर्णय मात्रै प्रतिविम्बित हुने बताएको छ।
कम्पनीले भनेको छ, "अमेरिकामा टुङ्गो लगाइएको मुद्दामा कुनै पनि नराम्रो काम गरेको या दोष फेला परेको या बेयरको दायित्वबारे केही भनिएको छैन।"
बीबीसी