post-slider post-slider

काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनः बढ्यो

Image

बनेपा ।  काभ्रे जिल्लामा पुनः डेंगुको संक्रमण देखिएको छ। जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेंगु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। 

कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेंगु सङ्क्रमित बढेर हाल १०३ पुगेको हो। सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित छन्। जसमध्ये २० महिला र २१ पुरुष सङ्क्रमित छन्। 

यस्तै, धुलिखेल नगरपालिकामा २१ जना, नमोबुद्ध नगरमा १२ जना डेंगु सङ्क्रमित रहेका छन्। मण्डनदेउपुर नगरमा ७, रोशी गाउँपालिकामा ७, पाँचखाल नगरमा ६, पनौती नगरमा ४ तथा भुम्लु, तेमाल, खानीखोला, चौँरी देउराली र महाभारत गाउँपालिकामा १–१ जना सङ्क्रमित रहेको कार्यालयका निमित्त प्रमुख राजाराम अधिकारीले बताए। उनका अनुसार केही दिन डेंगु संक्रमण बढ्नसक्ने अनुमान गरिएको छ।  

सङ्क्रमितमध्ये केही विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ। काभ्रेपलाञ्चोकमा यसअघि छ सय ८० डेंगुबाट सङ्क्रमित भइसकेका छन्। डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो। डेंगुको उच्च जोखिमका नेपालका १० जिल्ला मध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ। 

लामखुट्टेले बसोबास गर्नसक्ने गाडी सवारी एवं यातायातका साधन मर्मत केन्द्र, टायर, पानी जम्ने ठाउँ, खेतबारीमा राखिएको टायर, पानी जम्ने ठाउँ, उद्योग, कलकारखाना, होटेल तथा व्यवसायमा रहने टायर, घर तथा अफिसमा रहने गमला, सजावट सामाग्री, मठ, मन्दिरमा रहेका कतारजस्ता पानी जम्ने ठाउँलाई नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन सरकारले अपिल गर्दै आएको छ। 

लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्ने टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथवा गिजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखा तथा बेहोस हुने लक्षण देखिन्छ। समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ।  

रासस

Tags: