post-slider post-slider

भोली देखि गेटा मेडिकल विश्वविद्यालयमा सय बेडको सेवा सुरु

Image

काठमाडौं । गेटा मेडिकल विश्वविद्यालयमा बुधबार (भोलि) देखि एक सय बेडको अस्पताल सञ्चालनमा गरिने भएको छ । 

एकसय बेड क्षमताको अस्पताल सञ्चालन गर्न सबै तयारी पूरा भएको र बुधबार विहान १० बजेबाट अस्पतालले ओपीडी सेवा सुरु हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रमोद जोशीले बताए । अस्पताल सञ्चालन गर्न आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधिलगायतका प्रबन्ध भइसकेको उनले जानकारी दिए । 

अस्पताल सञ्चालनका लागि सहायकस्तर र श्रेणी विहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राङ्कित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन  सहज भएको जोशीले बताए ।

आर्थिक वर्ष २०८०–८१ को बजेटमा गेटा अस्पताललाई एकसय बेड क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि पुँजीगततर्फ ८० करोड र चालुतर्फ ३ करोड ५० लाख बजेट बिनियोजन गरिएको मेसु जोशीले बताए। साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार वार्षिक विकास कार्यक्रम स्वीकृति भइ प्राप्त भएको एवम् चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि बुधबारदेखि अस्पताल सञ्चालन आउन लागेको हो ।

ओपीडी सेवा सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। अस्पताल सेती प्रादेशिक अस्पताल सरह सेवा शुल्क लिने अस्पताल सञ्चालन हुन लागेको छ  । अस्पताल सञ्चालनमा ल्याउन मेसुसहित चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत २६ जना कर्मचारी हाजिर भइसकेका जोशीले बताउनुभयो । अस्पतालले थप सेवा कात्तिक १ गतेदेखि सञ्चालन गर्ने जनाएको छ ।  जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग ओपीडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउने जनाइएको छ । 

त्यस्तै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोप सेवा विस्तार र अन्तरङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पुस महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियू तथा एनआइसियू सेवा आगामी वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी अस्पतालले गरेको जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, वडाअध्यक्षलगायत सरोकारवाला निकायले  मंगलबार अस्पतालको अवलोकन र निरीक्षण गरेका छन् । 

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाटै सहज रुपमा उपचार सेवा पाउने भएका छन् । गेटा अस्पतालमा क्रमिकरुपमा बेड संख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्नेगरी काम अघि बढाइएको मेसु जोशीले जानकारी दिए ।

गोरखापत्रको सहयोगमा

Tags: