post-slider post-slider

आपतकालीन जनस्वास्थ्यको पूर्वतयारी प्रभावकारी बनाइनुपर्छ – स्वास्थ्यमन्त्री बस्नेत

Image

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार आयोजना गरेको आपतकालीन जनस्वास्थ्यको पूर्व तयारीका सम्बन्धमा क्षमता विकास अभिवृद्धि गोष्ठीमा उनले आपतकालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा सबै सरोकारवाला निकायहरूबीच एकीकृत शक्तिलाई बलियो बनाएर लैजानुपर्ने खाँचो औँल्याए ।

मन्त्री बस्नेतले भने, “हाम्रो भौगोलिक विकटताका कारण कुनैपनि आपत् परेका बेला सहज रुपमा सम्बन्धित ठाउँमा पुग्नका लागि सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएकाले यो क्षेत्रमा वृहत् रुपमा अध्ययन गरेर कार्ययोजनामा साथ अघि बढ्नुपर्छ ।”

विपद्को पूर्व तयारीका कार्यक्रमहरु योजनामा मात्रै सीमित हुने गरेको भन्दै मन्त्री बस्नेतले व्यवहारिक कार्यान्वयनका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । “पूर्व तयारीको कार्ययोजना बन्छ तर, व्यवहारमा लागू हुदैन । अर्कोतर्फ भौगोलिक अवस्था, स्रोत र साधनको कमीका कारण पनि प्रभावकारी बन्न सकेको छैन”, उनले भने ।

मन्त्री बस्नेतले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विकास साझेदार निकायले प्रभावकारी रुपमा समन्वय गरी समझदारीका साथ काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे । कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीले गरेको काम उदाहरणीय रहेको भन्दै उनले विपद् व्यवस्थापनमा स्रोतसाधन, गुणस्तरीय प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर काम अगाडि बढाउन सकिने धारणा राखे । 

भुकम्प, कोभिड, विपद् जन्य घटनालगायतमा आफू सामाजिक अभियानको रुपमा सक्रिय भएको स्मरण गर्दै स्वास्थ्यमन्त्री बस्नेतले विपद्लाई परिवर्तनको अवसरका रुपमा लिएर सरकार, सरोकारवाला निकाय र विकास साझेदार संस्थाको समन्वय तथा सहकार्यलाई फराकिलो बनाइनुपर्नेमा जोड दिए । 

जनस्वास्थ्य, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा भएको दुई दिने गोष्ठीमा महामारी, सङ्क्रमणजन्य रोग नियन्त्रण, आपत्कालीन  जनस्वास्थ्यको प्रभावकारिता तथा अन्तर निकायबीचको समन्वय र सहकार्यबारे आगामी रणनीति तयार गरिने जनाइएको छ । 

रासस

Tags: