post-slider post-slider

बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमा

Image

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ । टीकापुर(२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो ।

टीकापुर २ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँच जना गुरुवाको बिमा कार्यक्रममा आबद्ध गर्न थालिएको जानकारी दिए । उनले वडाका हरेक काममा चिराकीको ठुलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधीबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बिमा गरिदिन थालेको बताए ।

“वर्षौँदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठुलो कुरा हो”, उनले भने, “बिरामी पर्दा तपाई र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बिमामा सघाएका छौँ ।” यसरी सामाजिक सेवा गरिरहेका बडघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बिमा गरिएको हो । 

स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारका लागि तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले दुई हजार आठ सय र सात सय बिमित स्वयमले तिरेर बिमा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध भए वर्षमा एक लाखसम्मको उपचार सेवा निः शुल्क पाइन्छ । वडाले बिमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी भएका छन् । 

अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहेका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउँछन् । “वर्षौँदेखि सामाजिक सेवा गरौँ भनी काम गरिरहेका छौँ”, परियार भन्छन्, “वडाले कागजपत्र ल्याउनु बिमा गरिदिन्छौँ भनेपछि निकै खुसी लाग्यो । अब पाँच जनाको परिवारले नै टीकापुर र अन्य जिल्लाका अस्पतालमा पनि उपचार सेवा पाउने रहेछौँ ।”

तीस वर्षभन्दा बढी समयदेखि बडघरको जिम्मेवारी सम्हालिरहेका बन्दीपुरका बडघर श्यामलाल डंगौरा आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बिमा गरिदिँदा धेरै राहत हुने बताउँछन् । वडाले आफू मात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उनको भनाइ छ । बडघर, गुरुबा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् । 

समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बडघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हाते माइकजस्ता सामग्री सहयोग गर्दै आएका छन् । 

रासस

Tags: