post-slider post-slider

दिवा खाजामा स्थानीय परिकार

Image

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका ३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् । स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड) लाई प्रतिबन्ध लगाइएको हो । 

प्रधानाध्यापक रुपेश सुवेदीका स्थानीय उत्पादनबाट हरेक दिन फरक फरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेका छन् । ‘जङ्क फुडले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर परेको थियो,’ उनले भने, ‘अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिका नै बनाएका छौँ । खर्चको पनि बचत भएको छ ।’

आइतबार तरकारी रोटी, सोमबार जाउलो, मङ्गलबार आलु परौठा, बुधबार तरकारी र अण्डा तथा बिहीबार चिया रोटी खाजा खाने तालिका बनाइएको छ । विद्यालयको चमेनागृहले तालिकाअनुसार खाजा बनाएर वितरण गर्ने गरेको छ । सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराएपछि सहज भएको अभिभावकले बताएका छन् । 

शिक्षकले पनि मकै, भटमास, कोदो, गहुँको पिठोको रोटी तथा आलुको परिकार बनाएर खाजा खाने गरेका छन् । शिक्षक विद्यार्थी कोहीले  पनि अहिले खाजा किनेर खाने गरेका छैनन् । धौलागिरि माविमा हाल एक सय १२ विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र २०७९ देखि कक्षा ९ को पठनपाठन सुरु गरेको उक्त विद्यालयको कक्षा ६ देखि १० निजी स्रोतमा सञ्चालित छ । 

तीन शिक्षकलाई  समुदायस्तरबाट मासिक साठी हजार जुटाएर तलब भत्ता खुवाउने गरिएको प्रअ सुवेदीले बताए । प्रावि तहमा पाँच शिक्षक, एक कार्यालय सहयोगी र बाल शिक्षा सहयोगी कार्यकर्ता दरबन्दीका हुन् । गाउँपालिकाले शिक्षण सहायता अनुदानबाट तीन शिक्षक उपलब्ध गराएको छ । कक्षा १० का १८ विद्यार्थीलाई एसइई परीक्षाका लागि छात्रावासमा राखिएको छ । विद्यालय परिसरमा १६ सिसीटिभी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ ।

 रासस 

Tags: