post-slider post-slider

टेकु अस्पतालले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

Image

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आगामी दिनमा नर्सिङ तथा प्यारामेडिक्स विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अस्पतालका नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुइतुइले अस्पतालको ९०औं वार्षिकोत्सवको अवसरमा अस्पतालले नर्सिङ तथा प्यारामेडिक्स विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न  आवश्यक तयारी गरिरहेको जानकारी दिइन् ।

उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नर्सिङ तथा प्यारामेडिक्स विषयमा शैक्षिक कार्यक्रम चलाउन आवश्यक तयारी गरिरहेको बताइन्। अस्पतालले शैक्षिक कार्यक्रम सञ्चालन गर्न नर्सिङ प्रमुखको संयोजकत्वमा समिति गठन गर्ने निमार्ण गरिसकेको छ ।

अस्पतालमा निर्देशक डा.युवा निधि बस्यौलाले अस्पतालले आगामी दिनमा शैक्षिक कार्यक्रम र सरुवा रोग अनुसन्धान गर्ने योजना रहेकाले सम्बन्धित सबैलाई सहयोगको आग्रह गरे ।

यसैगरी, स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अस्पतालले मन्त्रालयको नीति अनुसार नर्सिङ तथा प्यारामेडिक्स विषय शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएकोमा धन्यवाद व्यक्त गरे ।

मन्त्रालयले एक सयदेखि तीन सय शय्याका अस्पतालमा आगामी शैक्षिक सत्रबाट नर्सिङ र प्यारामेडिक्स पठाइ हुने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएस पठाउने नीति ल्याएको छ ।

चाडोभन्दा चाडो आगामी शैक्षिक सत्रबाट सुरुवात गर्ने गरी तयार भइरहेको मन्त्री बस्नेतको भनाइ छ ।

उनले भने, “अस्पतालले सरुवा रोगको उपचार गर्नेमात्र होइन अब जनशक्ति पनि उत्पादन गर्नुपर्छ । के–केमा पढाउन सक्नुहुन्छ त्यसको योजना बनाउनुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ । अब आउने शैक्षिक सत्रबाट पढाउन सुरु गर्ने गरी काम अगाडि बढाएका छौँ । ”

कार्यक्रममा निर्देशक बस्यौलाले प्रगति वितरण प्रस्तुत गर्दै अस्पतालले पुस ४ गतेबाट सामाजिक इकाईबाट सेवा विस्तार गरी २४ घण्टा सेवा प्रदान गर्दै आएको जानकारी दिए । यसैगरी, अस्पतालले पुस २२ गतेबाट अस्पतालले एम्बुलेन्स सेवा २४ घण्टा सञ्चालनमा ल्याएको छ । माघ २ गतेबाट अस्पतालले अस्पतालकै फार्मेसी २४ घण्टा सेवा सञ्चालनमा ल्याउनुका साथै अर्फिकी मुलुकमा जाने मानिसलाई लक्षित गर्दै एलो फिबरको खोप दिन सुरु गरेको उनको भनाइ छ ।

बस्यौलाका अनुसार अस्पतालले एक वर्षमा एक लाख छ हजार १९ जनाले ओपिडी बाट सेवा लिएको जानकारी दिए । जसमध्ये इमर्जेन्सीमा ११ हजार ४४६ जनाले सेवा लिएका छन् । उनका अनुसार एक वर्ष १९ सय ८७ जना अस्पतालमा भर्ना भएका थिए । त्यस्तै, सामाजिक सुरक्षाका बाट १६ सय ८१ जनाले सेवा लिएका थिए । ओसिएमसीबाट १५ जनाले सेवा लिएका छन् । एक वर्षमा ८१ जना कोरोना सङ्क्रमितले अस्पतालबाट सेवा लिएकोमा एक जनाको मृत्यु भएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

Tags: