post-slider post-slider

दाना दानामा लुकेको स्वास्थ्यको खजना 

Image

काठमाडौं । माघ एक गते तिलको लड्डु खाने चलन छ । हेर्दा सानो तिलमा स्वास्थको लागि अनेकौं खजाना छ । यिनको प्रयोग गर्न साह्रै सजिलो छ । भुटेर, पिनेर, अचार बनाएर तरकारीमा हालेर अनेक तरिकाले खाने तिल र चाकुमा विभिन्न किसिमका सूक्ष्म पोषण तत्त्व हुने भएकाले बालबालिकालाई तिल र चाकु खुवाएको अवस्थामा शरीरको वृद्धि विकासमा लाभदायक हुने । साथै साना साना दाना मुगरेली,आलस, फर्सीको बिया, जिरा, भाँगो आदि पनि सुक्ष्म पोषक तत्वले भरिएका “पौष्टिक खजाना ” हुन् । 

पहिले आलस अपहेलित थियो । अहिले धेरैले प्रयोग गर्न थालेका छन् । अहिले त यो क्याल्सियम, ओमेगा ३, रेशादार पदार्थको राम्रो स्रोत हो भन्ने बुझाइ छ ।  साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ , मासिक धर्मसम्बन्धी अनियमिततालाई पनि ठीक गर्छ । विशेषगरी महिलाहरूको महिनावारी सुकेपछि हाडको घनत्व कम हुँदै जाने समस्या कम गर्न आलसको सेवन राम्रो मानिन्छ । यसलाई छोप बनाएर खान सकिन्छ । भुटेर दानै सलादमा हाल्न पनि सकिन्छ । दहीमा घोलेर प्रयोग गर्न सकिन्छ । जसरी प्रयोग गर्दा पनि हुन्छ तर राम्रोसँग चपाएर खानुपर्छ । यसबाहेक हामीकहाँ सिलाम, तील, फिलिंगो, कुभिन्डोको बियाँ आदि धेरै कुरा छन् । यस्ता पौष्टिक तत्व भएका बियाँ वा दिउलहरुबारे खोजी गर्ने र जतन गरेर उपयोग गर्ने सीपको भने अभाव छ ।

भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुन्छ, खाना पचाउन पनि मदत गर्छ । यसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पु¥याउँछ ।  विभिन्न अध्ययनहरुले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख गरेका छन् ।  यसलाई भुटेर, पिसेर, सलादमा वा तरकारीमा हालेर खान सकिन्छ । 

त्यस्तै अर्को हो, फर्सीको बियाँ । कतिले भुटेर, कतिले दिउल निकालेर काँचै खान्छन् । धेरैका घरमा भने वास्ता नगरिएकै खाद्य वस्तु हो । फर्सीको बियाँमा लुकेको सूक्ष्म पौष्टिक तत्वबारे थाहा नपाई खाए पनि विभिन्न किसिमका महँगा भिटामिनहरू किनेर खानै पर्दैन । फर्सीका बियाँ प्रायः फालिन्छन् तर तिनको महत्व थाहा पाएकाहरुले भने भान्छामा जतन गरेरै राख्छन् । पहिले पहिले बुढाबुढीहरुले फर्सीको बियाँ सुकाएर राख्थे । धेरैले त्यसको बाहिरी पत्र छोडाएर दिउल मात्रै खान्छन् । कतिले चाहिँ बाहिरको बोक्रै समेत भुट्छन् र छोपका रुपमा समेत प्रयोग गर्छन् ।

दिउल मात्र खाएजस्तो मिठो स्वाद नभए पनि साह्रै पोषणयुक्त हुन्छ । पहाडतिर दूध, च्यूरा र दहीसँग फर्सीको दिउल मिसाएर पनि खान्छन् । कसैले यसलाई पिसेर सलाद वा सुपमा पनि हाल्छन् । यसमा प्रशस्त मात्रामा जिंक पनि पाइन्छ । सूूर्यमुुखीको फूलको सुन्दरता देखेर हामी खुसी हुन्छौं तर यसको बीउ पनि स्वास्थ्यवर्धक छ भन्ने विचार सायदै आउँछ । 

 युरोपका विभिन्न देशमा जाँदा सूूर्यमुुखीको बिउबाट बनाइएको मिठाइ चाहिँ मैले खाएको छु । ।’ यसमा भिटामिन ‘इ’ हुन्छ, यसले मुटु स्वस्थ राख्छ । त्यसमा पाइने म्याग्नेसियम नामक तत्वले मांसपेशी र हड्डीको स्वास्थ्य राम्रो राख्छ ।

जनस्वास्थ्य विद् डा . उप्रेतीको फेसबुक पेजबाट साभार

Tags: