post-slider post-slider

‘कर्णालीले औषधी उत्पादनमा विशेष पहल लिनुपर्छ’

Image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधी उत्पादनमा विशेष पहल लिनुपर्ने बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधी उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” उनले औषधी उत्पादनका लागि आवश्यक गृहकार्य गर्न प्रतिष्ठानलाई निर्देशन दिए ।

साधन अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, “बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधन अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।”

चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “तपाईंहरूका  माग क्रमशः सम्बोधन गर्दै जाने विश्वास दिलाउँछु ।”

Tags: