post-slider post-slider

पर्साका सरकारी स्वास्थ्य संस्थामा छैन तौल जोख्ने मेसिन ! कुपोषित बन्दै बालबालिका

Image

वीरगञ्ज – पर्साका अधिकांश सरकारी स्वास्थ्य संस्थाले ५ वर्षमुनिका बालबालिकाको तौल नियमित रूपमा लिने नगरेको पाइएको छ।

जिल्लाका ५ वर्षमुनिका ३७ प्रतिशत बालबालिका कुपोषित छन् भने ६ महिनादेखि ५ वर्षसम्मका ५० प्रतिशत बालबालिकामा रगतको कमी देखिएको छ।

'तौल लिनुभयो भनेर आजसम्म कोही आएका छैनन्, हामीलाई पनि तौल लिन कहाँ जाने कहिले खोप लगाउने केही थाहा छैन,' जिराभवानी गाउँपालिका वडा नम्बर १ की रम्भादेवी भन्छिन्, ' कहिलेकाहीँ खोपका लागि सोध्न आउँछन्। तर तौल पनि लिनुपर्दो रहेछ थाहै थिएन।'

नेपाल सरकारले खोपलाई महत्व दिएर बेलाबेलामा यससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। पोषणलाई पनि उत्तिकै महत्व दिएको छ। आमालाई गर्भबाटै पोषणयुक्त बनाउन 'सूनौलो हजार दिन' जस्ता कार्यक्रम पनि सञ्चालन छ। तर पर्साका अधिकांश महिला यसबारे बेखबर छन्।

जिल्ला पूर्णपोषण स्थापनाकी इन्चार्ज सरिता यादव भन्छिन्, 'तौल बच्चाको लागि एकदमै महत्व छ,  जन्मेको दिनदेखि एक वर्षभित्र २४ पटक तौल अनिवार्य लिनुपर्छ र समयमै पूर्ण रूपमा खोप नि लगाउनुपर्छ।'

नारायणी अस्पतालमा आफ्नो काखे बच्चालाई खोप लगाउन आएकी रीता भन्छिन्, 'मैले मेरो बच्चाको तौल लिनुभन्दा हामीकहाँ तौल जोख्ने मसिन छैन, फुर्सद पनि छैन भनी कराएर फर्काउँछन्। आजसम्म मैले मेरो बच्चाको तौल लिन पाएको छैन।' सम्बन्धित ठाउँमा उजुरी गर्दा सबैले बेवास्ता गरेको उनले गुनासो गरिन्। उनले थपिन्, ' सम्बन्धित ठाउँमा सोध्दा यो हाम्रो काम होइन, पोषणको हो भनेर जवाफ फर्काउँछन्।'

त्यस्तै बच्चाको तौल किन लिइन्छ यसबारे आफूलाई केही थाहा नभएको सोही गाउँपालिका ३ परसवाकी गीता बताउँछिन्। 'किन लिने तौल आजसम्म मैले सुनेको (थाहा) छैन, यहाँ हाम्रो गाउँमा कसैको बच्चाको पनि तौल लिएको छैन,' उनले बताइन्।

यसबारे पोखरिया अस्पतालका स्वास्थकर्मीलाई सोध्दा यो आफूहरूको काम नभएको गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए।

तर पोषण इन्चार्ज यादवका अनुसार सरकारले हरेक वडामा ५ वर्षमुनिका बालबालिकाहरूको आमा समूह बनाएर उक्त समूहलाई खोप, तौल, षोषण र परिवार नियोजनबारे तालिम दिएको छ। तर तौल लिने मेसिन नहुँदा कुपोषित बच्चा आफूहरूको नजरबाट हट्दै जाने उनले बताइन्।

यादव भन्छिन्, 'तौल भनेको खोप लगाउने बेला अनिवार्य रूपमा लिनैपर्छ। हामीकहाँ बच्चा भर्ना भ्याइनभ्याई हुन्छ।'

Tags: