post-slider post-slider

बाझोपना उपचारः ‘प्रि कन्सेप्सनल काउन्सिलिङ’ को आवश्यकता

Image

काठमाडौं । बच्चा नभएको समस्या लिएर रमेश (नाम परिर्वतन) का दम्पतीलाई उनको परिवारले भेरी अस्पतालमा ल्याए।

विवाह भएको लामो समयमा पनि छोरा बुहारीले नातीनातीनाको खुसी नदिएकोमा उनका सासु ससुराले स्त्री रोग विशेषज्ञ डा. कृत्रिपाल सुवेदीसँग दुखेसो पोखे। 

सुवेदीका अनुसार सन्तान नहुनुको कारण अनौठो थियो । रमेशले बिर्य बाहिर फाल्दा रहेछन्। साथै उनीहरुलाई सही समयमा शारीरिक सम्पर्क गर्दा मात्र गर्भधारण हुन्छ भन्ने पनि थाहा थिएन्। 

रमेशजस्तै धेरै व्यक्तिहरु महिनाभरी नै महिलाले गर्भधारणका गर्न सक्छन्  भन्ने सोच्ने डा. सुवेदी बताउँछन्।

डा.सुवेदीका अनुसार महिलाको अण्डा महिनामा एक पटक निस्कन्छ। करिब ४८ घण्टा बाँच्छ। पुरुषको शुक्रकीट यौन सम्पर्क भएको करिब ४८ देखि ७२ घण्टा बाँच्छ।

प्रत्येक महिना बच्चा बस्ने सम्भावना चारदेखि पाँच दिन हुन्छ। त्यसबाहेक महिनाभरी जति यौन सम्पर्क भए पनि बच्चा बस्दैन। 

काठमाडौंबाहिर खाडी जाने पुरुष एकदमै बढी छन्। भिसा लागेपछि विवाह गर्छन्। विवाह गरेको १५ दिनमा विदेश जान्छन्। २ वर्षपछि दुई महिनालाई आउने गर्छन्। 

उनीहरु दुई महिनामा बच्चा चाहियो  भनेर आइपुग्ने उनी बताउँछन्। 

‘धेरै महिला मेरो श्रीमान एक महिनाका लागि आउँदै हुनुहुन्छ जसरी भए पनि बच्चा चाहियो भनेर आइपुग्ने धेरै छन्,’ उनी भन्छन, ‘प्रकृति बिरुद्ध माग म कसरी पूरा गर्न सक्छु।’ 

प्रसुती गृहकी स्त्री रोग बिशेषज्ञ डा.बिनिता थापा भन्छिन्, ‘बाझोपना उपचारको लागी ठीक ठाउँमा आइपुग्दासम्म उनीहरुको हातमा उपचारको क्रममा गरिएको परीक्षणहरूको एउटा ठेली हुन्छ।’

धेरै बिरामीलाई कुन समस्या भए उपचारका लागि कहाँ जानेसम्मको जानकारी नहुनु दुखद रहेको उनी बताउँछिन्।

त्यसमा डा सुवेदी थप्छन्, ‘सबैले उपचारको सुरुवात घर छेउको औषधि पसलबाट गछनर््। चार पाँच महिना त्यहीँ भुलिन्छन्। त्यसपछि स्वास्थ्य संस्थामा पुग्छन्। त्यसपछि जिल्ला अस्पताल, अञ्चल अस्पताल धाउने जुन च्यानल छ त्यो फलो गरेर सेवा लिने गरिन्छ।’

बिरामी आइसकेपछि स्वास्थ्यकर्मीले यो आफ्नो विधा होइन भनेर नभन्ने उनको भनाइ छ।

‘कुनै पनि स्वास्थ्यकर्मीले सुरुमा आफुले नसक्ने अवस्थाका बिरामीलाई यहाँ हुँदैन, यो मेरा विधा होइन् भन्न सक्दैनौं,’ उनले भने, ‘दुई चार महिना औषधि खाएर हेर्न सुझाउँछौँ । उनीहरुले समस्या बढेपछि  मात्र  सक्दिनँ भनिदिँदा पनि बिरामीले सकस भोगिरहेका छन्।’

केन्द्रसम्म आइपुग्दा बिरामीको मनोबलमा गिरावट आइसकेको हुने डा. थापा बताउँछिन्। ‘बाँझोपना उपचारमा मनोबलले ठुलो अर्थ राख्छ। आशा गुमाइसकेको अवस्था र तनावले पनि प्रजनन् क्षमतामा प्रभाव पार्छ,’ उनी भन्छिन्, ‘योपटक बच्चा बसोस् भनेर यौन सम्पर्क गर्दा तनाव लिइरहेका हुन्छन्। तनावले अण्डा र वीर्य दुवैको गुणस्तर घटाउँछ।’

यो साइकल घुमिरहने उनी बताउँछिन्। 

बाझोपनाको कारण

बाझोपनाका कारण धेरै छन्। त्यस्तै पुरुष र महिलामा हुने बाझोपनाका कारणहरु पनि फरक हुने डा. बिनिता थापा बताउँछिन्। अहिले पुरुषहरूमा बाझोपना देखिनुको पहिलो कारण एजोसफोर्मिया हो। 
हाल अस्पतालमा उपचारका लागि आउने धेरै जोडी बैदेशिक रोजगारमा गएर फर्किएका छन्।

उनीहरुमा एजोसफोर्मिया एकदमै बढी देखिएको उनले जानकारी दिइन्। एजोसफोर्मिया भनेको वीर्य उत्पादनमा ह्रास आउनु हो।

‘खाडी मुलुकमा काम गर्न गएका पुरुषमा यस्तो समस्या देखिएको छ,’ उनले भनिन्, ‘त्यहाँको काम गनुपर्ने अवस्था, खानपान र रहनसहनले पनि असर गर्छ।’

भेरी अस्पतालका स्त्री रोग बिशेषज्ञ कृत्रिपाल सुवेदी पनि डा. थापासँग सहमती जनाउँदै भन्छन्, ‘विवाह पश्चात पुरुषहरु वैदेशिक रोजगारमा जानु अहिलेको बाझोपनाको प्रमुख समस्याको रुपमा आइरहेको छ।’ 

खाडी मुलुकमा उच्च तापक्रममा काम गर्ने पुरुषको वीर्यको क्षमतामा बिस्तारै ह्रास आउने उनले बताए।

त्यस्तै बच्चामा हाडो आउँदा अण्डकोषमा इन्फेक्सन हुँदा, सानोमा भएको चोटपटक, क्षयरोगले पनि असर गर्ने उनले जानकारी दिए। 

त्यस्तै अहिले महिलामा बाझोपनाका कारण ढिला विवाह हो। महिलाको प्रजनन् क्षमतामा ३० देखि ३५ बर्षदेखि ह्रास आउन सुरु हुन्छ।

केही महिलाहरु विवाह गर्न ढिला गर्ने र केहीले विवाह गरेपछि पनि बच्चा जन्माउनलाई समय लिने गरेकाले सन्तान प्राप्तिमा समस्या देखिएको उनी बताउँछन्। 

उनी भन्छन्, ‘दम्पतीले आफ्नो करिअर वा अन्य कुनै लक्ष्य हासिल गरेपछि मात्र बच्चा जन्माउने योजनामा केन्द्रित हुनु, दम्पती कामको शिलशिलामा छुट्टै स्थानमा बस्नुपर्ने बाध्यताले पनि समस्या निम्त्याइरहेको छ।’

उनका अनुसार सुरुमा सँगै बस्नमा नै समस्या छ।  सँगै बस्दा पनि किन भइरहेको छैन भन्दा पुरुषहरु कुन अवस्थामा काम गछनर््। तनाव कुन लेबलमा हुन्छ। तनावले पनि प्रजनन् क्षमतामा फरक पार्छ। 

वंशाणुगत कारणले पनि बाझोपना हुन्छ। १५ देखि २५ प्रतिशत दम्पतीमा बाझोपनाको कुनै पनि कारण भेटिदैनन्।

त्यस्ता दम्पतीमा बाझोपना समस्या वंशाणुगत रोगका कारण हुने वंशाणुगत रोग विशेषज्ञ डा. निल ठाकुरले बताइन्। उनी भन्छिन, ‘त्यो क्रोमोजोमबाट सरेको पनि हुनसक्छ। जिनको डिफेक्ट हुनसक्छ।’ 

पाटन क्याम्पसकी जनसंख्या विषयकी प्राध्यापक प्रभा खनालले बाझोपनाः नेपालको उदयीमान समस्या नामक अध्ययन गरेकी छिन्।

उक्त अध्ययनले ढिलो विवाह, मोटोपना, पहिलो गर्भावस्थामा प्रेरित गर्भपतन र निष्क्रिय जीवनशैली बाँझोपनको प्रमुख कारण हुनु भन्ने देखाएको छ।

बाझोपनाको अवस्था 

बाझोपना एक वर्षसम्म कुनै श्रीमान श्रीमती कुनै अस्थाई साधन प्रयोग नगरी लगातारसँगै बस्दा पनि बच्चा नबस्नुलाई सबफर्टिलिटि भनिन्छ। पहिला यसलाई इनफर्टिलिटि भनिन्थ्यो। सबफर्टिलिटि भन्नाले उपचार गरे सम्भव छ भन्ने अवस्थालाई जनाउँछ।

डब्लूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या छ। अर्थात, ६ जनामध्ये एक जना युवायुवती बाँझोपनको समस्याबाट प्रभावित छन्। नेपालमा पनि बाँझोपन बढ्दो समस्या हो। नेपालमा बाँझोपन दरबारे भरपर्दो राष्ट्रिय सर्वेक्षण वा अध्ययन उपलब्ध छैन।

प्रसूति गृहमा दैनिकजसो गोपालका दम्पतीको जस्तै निःसन्तानपनको समस्या लिएर दैनिक ५० भन्दा बढी बिरामी पुग्ने गर्छन्। उपचारमा संलग्न चिकित्सक नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित हुनसक्ने अनुमान गर्छन्। 

यो समस्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन्। प्रसूति अस्पतालमा बार्षिक उपचार लिने बिरामीले तथ्यांकले पनि यो पुष्टि गर्छ।

अस्पतालमा आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २३४, २०७८/७९ मा ७ हजार ५२३ र २०७९/८० मा ८ हजार ३५३ जनाले निःसन्तानको सेवा लिएको अस्पतालको तथ्यांक छ। 

बिरामीको मनोदशा  

स्त्रीरोग विशेषज्ञहरु आकस्मिक उपचारमा मात्र दौडिरहेको डा. सुवेदी बताउँछन्। ‘बाझोपना नबोलिएको केश हो। तर मानसिक रुपमा धेरै पीडित भएको जनसंख्या यहि हो,’ उनले भने। 

उनका अनुसार हरेक दिन बिरामी हेर्दा यो समस्या धेरै भएको भान हुन्छ। र, उनीहरु मानसिक रुपमा प्रताडित भएको देखिन्छ।

दम्पती बीचमा पनि समस्या छ। परिवार र समाजको पनि दबाब हुन्छ। खर्च अर्को पाटोमा आउँछ।  

बाझोपना भएका दम्पती एकआपसका कारण भन्दा धेरै समस्या परिवारको अन्य सदस्यहरुले समाजले दिइरहने दबाबले तनाव बढि भोग्ने डा. थापा बताउँछिन्। 

‘मानसिक रुपमा उनीहरुले यति बिक्षिप्त हुन्छन् कि उनीहरु मनमा अब पनि हुदैन भन्ने त्रासमा अस्पताल आइपुगेका हुन्छन्,’ उनले भनिन्, ‘धेरै बिरामी काउन्सिलिङको जरुरतको अवस्थामा हुन्छन।’

‘आर्थिक अभावको पनि समस्या छ। नि उपचार महंगो र कम्प्लिकेटिभ नै छ,’ डा. सुवेदी भन्छन, ‘अरु रोग जस्तो सबैले उपचार गर्न सकिने अवस्था छैन। त्यसैले अलि खर्चिलो छ।’  

निः सन्तानपनको उपचार महिनावारीको दोस्रो दिनबाट सुरु गरेर १३–१४ दिन स्क्रिनिङ नै गरेर राखिन्छ। त्यसपछि प्रयास गर्ने हो भएन भने अर्को महिनावारीमा आउन भन्छौं। टाढाबाट आउनेलाई आउजाउको खर्चभन्दा डेरा लिएर बस्न सस्तो पर्छ। 

प्रसूतिमा उपचारको लागी आएका व्यक्ति काठमाडौंमा नै डेरा लिएर बसेका छन्। काम खोजेर काम पनि गर्न थालेका छन्। उनीहरु भाषा पनि बुझ्दैनन् तर नियमित फलोअपमा आउने पनि छन्। यो एकदमै जटिल छ। तर केहि महिला मात्र आउने आफूमा समस्या नभएपछि हराउने गरेका पनि छन्। 

सबैतिर धाएर अन्तिममा आएका हुन्छन्। उनीहरु यति तनावमा हुन्छन्। तर अरु विधि होइन आफ्नै बच्चा चाहियो भनिरहेका हुन्छन्। 

प्रि कन्सेप्सनल काउन्सिलिङ टड्कारो आवश्यकता

सबैलाई यौन सम्पर्क गरेपछि बच्चा बस्छ भन्ने लाग्छ । तर अण्डा उत्पादन हुने समयमा यौन सम्पर्क हुनु किन जरुरी छ भन्ने बुझाए पनि ठुलो उपलब्धि हुने विज्ञहरु बताउँछन् ।

प्रि कन्सेप्सनल काउन्सिलिङ जो गर्भ रहनु भन्दा अगाडिको काउन्सिलिङ हो । ‘अहिले पनि हाम्रो नीति गर्भ रहेको १२ हप्ताभित्र जँचाउनुपर्छ भनेर बोलिरहेका छन्,’ डा सुवेदी भन्छन्, ‘गर्भ रहनुभन्दा अगाडी अस्पताल जानुपर्छ भन्ने कुरा सरकारको कल्पना मै छैन ।’

एक महिनामा नै बच्चा चाहियो भनेर अस्पताल धाउने अहिले धेरै छन् । उनीहरुका लागी पनि प्रि कन्सेप्सनल काउन्सिलिङ हुनु अत्यन्तै जरुरी छ । 

सरकारी अस्पतालमा बिरामीको भिड यति हुन्छ जसका कारण बिरामीलाई ओपिडीमा १५ मिनेटको समय पनि दिन नसकिने डा सुवेदी बताउँछन् । ‘अहिले मान्छेमा अत्यास र हतार छ । त्यसैले प्रि कन्सेप्सनल काउन्सिलिङ दिनुपर्छ,’ उनले भने ।  

उनीहरु धेरै ठाउँमा भौँतारिएर धेरै ठिला सहि स्थानमा पुग्ने डा थापा बताउँछिन्  । ‘त्यसबेलामा ओभरी रिजर्भ कम भइसकेको हुन्छ । उमेर पनि बढि भइसकेको हुन्छ,’ उनले भनिन्, ‘ त्यसबेला उनीहरु ओपिडिको ठेली लिएर आइपुगेका हुन्छन् ।’ 

यो समस्यालाई चिर्न ‘प्रि कन्सेप्सनल काउन्सलिङ’ को सुरुवात गर्नुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘जो बच्चाको योजना बनाइरहेका छन् उनीहरुले लागी पनि  प्रि कन्सेप्सनल काउन्सिलिङ दिने सकिन्छ । र,  जसको भइरहेको छैन उनीहरुका लागी झनै उपयोगी हुन्छ ।’ 

सुरुमा उनीहरुलाई आधारभुत जानकारी दिएर काउन्सिलिङ गर्ने बाहेक केहि उपाय हुँदैन । त्यसपछि एक अर्कालाई सँगै बस्न सल्लाह दिइन्छ । त्यसपछि पनि नभए आर्टिफिसियल विधि आइयुआई र विधि अपनाउन सुझाइने उनी बताउँछिन् । 

सरकारले बाझोपना रोकथाममा एउटा गाइड लाइन बनाएर काउन्सिलिङको लागी एक रुमबाट मात्र सुरु गर्ने हो भने त्यो माथिसम्म आइपुग्दा धेरै नै फिल्टर हुने डा सुवेदी दाबि गर्छन् ।  

Tags: