post-slider post-slider

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचारः प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर

Image

काठमाडौं । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीका एक जना प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले अनुसन्धानका क्रममा स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार भएको ठहर भएपछि उनीहरू विरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दर्ता भएको जानकारी दिए।

गाउँपालिकाको कार्यालय मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन अधिकृत चौधरीसहित ६ जनाले भ्रष्टाचार गरेको पुष्टि भएको घिमिरेले बताए।

उनले तत्कालिन प्रशासकीय अधिकृत चौधरीसहित लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एन्ड सप्लायर्स राजविराजकी प्रोपाइटर ललिता कुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए।

प्रवक्ता घिमिरेका अनुसार ९ लाख ११ हजार ९२५ रूपैयाँ पर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालि मोरङद्वारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९२८ मा खरिद बिक्री गरी ८ लाख ७४ हजार बराबरको भ्रष्टाचार भएको अनुसन्धानबाट खुलेको हो।

Tags: