post-slider post-slider

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

Image

बागलुङ ।  केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।

स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित खाना खाने र बस्ने व्यवस्था मिलाइएको छ । जैमिनी नगरपालिका–५ बिनामारेका २२ वर्षीया यामुना नेपालीले दुई महिना पहिला शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुगे । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुनलाई यामुनालाई प्रेरित गरेको थियो प्रसूति प्रतिक्षा घरले । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत बच्न सफल भएका छन् । 

“बेथा लागेर हिँड्दा समस्या नआउला भन्न सकिँदैन, अहिले त स्वास्थ्य स्वयंसेविकाले घरमै गएर सुत्केरी हुने मितिको विषयमा जानकारी गराएर स्वास्थ्य संस्था बोलाउनुहुन्छ, दुई दिन अगावै सकुवा स्वास्थ चौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ”, यामुनाले भनिन्, “स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो, हामीजस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो, अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ, पकाउने भाँडाकुँडा, ग्यास चुलो र कुरुवा सुत्ने बेडसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा खुसी लाग्यो ।”

यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई सुत्केरीको भन्दा खाने बस्ने र कुरुवाको समस्याले सताउने गरेको पाइन्छ । पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई सहज बनाएको छैन, खर्च र समय दुवैको बचत गराएको छ । प्रसूति प्रतिक्षा घर नहुँदा यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्दै आएका थिए । 

बागलुङ जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा परिचय कमाएको निसीखोला गाउँपालिका–३ स्थित बोहरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर नै निर्माण गरिएको छ ।

 भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षाघरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकी प्रमुख कसिन्द्र शाहीले जानकारी दिए । बोहरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै एक सय ४० गर्भवती सुरक्षित सुत्केरी भएको शाहीले बताए ।

चालु वर्षमा मात्रै ५४ जना गर्भवती सुरक्षित सुत्केरी भइसकेका छन् । विसं २०७७ अघि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने बाध्यता प्रसूति प्रतिक्षाघर निर्माणपछि हटेको शाहीको भनाइ छ । 

२०७७ मा निसीखोला गाउँपालिकाको रु तीन लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु दुई लाख ५० हजार गरी रु पाँच लाख ५० हजार लागतमा सुविधासम्पन्न प्रसूति प्रतिक्षाघर निर्माण गरिएको थियो । “दुई गर्भवती र दुई कुरुवालाई पकाएर खाने तयारी भान्सा घरसहितको सुत्ने कोठा निर्माण भएको छ, पकाउने खाद्य सामग्री घरबाटै लिएर आउन सकियो, स्वास्थ्य संस्थामै बस्दा गर्भवती र सुत्केरी अवस्थामा आउन सक्ने आकस्मिक जोखिम घट्ने र स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा सहज हुनेभयो”, शाहीले भने।

ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी बागलुङ र स्थानीय पालिकाको साझेदारीमा २२ बर्थिङ सेन्टरमा बस्ने र पकाएर खाने सुविधासहितको प्रसूति प्रतिक्षाघर निर्माण गरिएको परियोजना विज्ञ गणेश बरुवालले जानकारी दिए । बरुवालका अनुसार सरकारको प्रसूति प्रतिक्षाघर बनाउने नीति र कार्यक्रममा परियोजना साझेदार बनेको बताउँदै गर्भवती र सुत्केरीलाई समय, खर्च बचतसँगै जोखिमसमेत घटेको पाइएको छ । 

बोहोरागाउँमा नयाँ प्रसूति प्रतिक्षाघर निर्माण गरिएको छ भने केही स्थानमा भवन मर्मतसम्भार गरेर प्रसूति प्रतिक्षाघर बनाइएको छ । धेरै स्थानमा स्वास्थ्य संस्थाभित्रै प्रतिक्षाघर बनाइएको छ । जिल्लामा ६८ वटा बर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतिक्षाघर बनाउँदै आएका छन् । 

सबै बर्थिङ सेन्टरमा प्रसूति प्रतिक्षाघर आवश्यकता भए पनि तत्काललाई कम्तीमा एउटा पालिकामा चारदेखि पाँच स्थानमा प्रतिक्षाघर बनाउन आवश्यकता देखिएको छ । पालीकाभित्रका अति विपन्न समुदायलाई प्रसूति प्रतिक्षाघरले ठूलो राहत मिलेको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताए । 

रासस

Tags: