post-slider post-slider

जाजरकोटमा महिनौँदेखि औषधि अभाव, भूकम्पपीडित समस्यामा

Image

जाजरकोट । जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव छ । हालसम्म औषधि आपूर्ति हुन सकेको छैन । 

जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी  एक महिनाकी सुत्केरी मनीषा रावत भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि स्थानीय गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्किइन् । 

उनले स्वास्थ्य परीक्षण गराए पनि निःशुल्क दिनुपर्ने जीवनजल र सिटामोलसमेत स्वास्थ्य संस्थामा नपाउँदा  मनीषा  रित्तो हात फर्कन बाध्य भइन् । उनी जस्तै चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधि अभाव हुँदा स्थानीयलाई निकै समस्या भएको छ । लामो समय बितिसक्दा पनि औषधीको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोलसमेत पाइँदैन ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे ५ का कुलराज शाहीले बताए । 

चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दमलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधि छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिनादेखि औषधि विहीन छन् । यस आर्थिक वर्षमा औषधि आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधि खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधि पठाएको छैन ।

औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयंले बताउन थालेका छन् । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भए पनि औषधि नहुँदा उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताए । 

चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । औषधि नहुँदा कतिपय बिरामीहरू स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको जुनीचाँदे गाउँपालिका १ बड्कुले स्वास्थ्य चौकीमा कार्यरत अनमी विष्णु शाहीले बताए ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतीक्षा भारतीले  औषधि अभावको समाचारसँगै केही समयअघि जिल्लामा स्टक औषधि पठाइएको बताए ।  जुनीचाँदे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलबहादुर शाहीले औषधि दुई हप्तासम्म पनि पालिकामा  नपुगेको बताए ।

Tags: